राप्रपा नेपालले भन्यो– निजगढमा विमानस्थल निर्माण होस्

बिहिबार, १९ जेठ, २०७९
डिजिटल संस्करण

कमल थापा नेतृत्वको राप्रपा नेपालले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सरकारसँग आग्रह गरेको छ । हेटौँडामा सम्पन्न पार्टीको बागमती प्रदेशस्तरीय भेलाले निजगढमा विमानस्थल निर्माणपूर्व वन, वन्यजन्तु र पर्यावरणको संरक्षण सुनिश्चित गर्नुपर्नेमा पनि जोड दिएको छ । सर्वोच्च अदालतले निजगढमा विमानस्थल निर्माण नगर्न दिएको आदेशको राप्रपा नेपाल विपक्षमा छ । 

‘वातावरण र वन्यजन्तुको संरक्षण अनि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्यलाई निरन्तरता दिनुपर्छ भन्ने हाम्रो धारणा हो,’ राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले भने । उनका अनुसार भेलाले बागमती प्रदेशको राजधानी हेटौँडालाई प्रदेशअन्तर्गतका सबै जिल्लाहरूसँग सोझो र सरल यातायातको माध्यमबाट जोड्न पूर्वाधार निर्माणका लागि सरकारसँग माग गरेको छ । ‘पार्टीले काठमाडौं उपत्यकासम्म सहज आवागमनको लागि हेटौँडा काठमाडौं जोड्ने सुरुङ मार्गलाई उच्च प्राथमिकताका निर्माण गर्न प्रदेश र संघीय सरकारसँग माग गरेको छ,’ बर्तौलाले भने। 

राप्रपा नेपालले हिन्दुराष्ट्र र राष्ट्रियताको सिद्धान्त प्रति प्रतिबद्ध विगतमा सँगै काम गरेका तथा अन्य सबैलाई राप्रपा नेपालमा सहभागी हुन आह्वानसमेत गरेको छ । 
 

सुझावित समाचार