गोरखामा चितुवाको आक्रमणबाट तीनजना घाइते

मंगलबार, १७ जेठ, २०७९
डिजिटल संस्करण

गोरखाको पालुङटार नगरपालिकामा चितुवाको आक्रमणबाट तीनजना घाइते भएका छन् । पालुङटार नगरपालिका - ४ रानीटारस्थित मकैबारीमा काम गरिरहेको अवस्थामा ४४ वर्षीय केशरबहादुर नेपाली र १६ वर्षीय अभिषेक भण्डारीलाई अचानक चितुवाले आक्रमण गरी घाइते बनाएको डिएसपी लीलाराज लामिछानेले बताए । 

मंगलबार आफ्नै बारीमा काम गरिरहेको अवस्थामा नेपालीको ढाडमा, भण्डारीको बायाँ तिघ्रा, पाखुरा र नारीमा चिथोरेको उनले बताए । दुवैजनाको स्थानीय राम मेडिकल ठाँटीपोखरीमा उपचार भइरहेको छ । 

हाल दुवैजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सोही चितुवाको खोजी गर्ने क्रममा हवल्दार सुनील रायमाझीलाई समेत चितुवाले पछाडिबाट आक्रमण गरी घाइते बनाएको डिएसपी लामिछानेले जानकारी दिए । 

हवल्दार रायमाझीको पिठ्युँमा चिथोरेको र हाल तेज फार्मेसी ठाँटीपोखरीमा उपचार भइरहेको छ । उनको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ ।

सुझावित समाचार