आफ्नै श्रीमानले मलद्वारमा लौरो घुसाएपछि सख्त घाइते भएकी गीता माझीको मृत्यु भएको छ। सोमबार राति ११:५० मा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवनको खैरहनी नगरपालिका- १० काठार मुसहरबस्तीकी गीता माझीको दिसाघर र योनिको भाग च्यातिएको थियो ।
भरतपुर अस्पतालका सर्जन डाक्टर दीपेन्द्र न्यौपानेका अनुसार सोमबार उनको अप्रेसन गरिएको थियो । अप्रेसनपछि उनी आफैँ ट्वाइलेट जाने, हिँड्ने गर्न सक्ने भएकी थिइन् । यद्यपि, ठूलै चोट भएकाले इन्फेक्सनको जोखिम बढी थियो । घाइते उनको देब्रे आँखामा पनि चोट लागेको थियो भने शरीरका विभिन्न भागमा नीलडाम थिए ।
घटना यस्तो थियो
शुक्रबार ३८ वर्षीया गीता माझी खाना पकाएर श्रीमान् रामचन्द्र माझीलाई कुरेर बसेकी थिइन् । खानासँगै भान्सामा कुखुराको मासु पनि पाकेको थियो । साँझ पाँच बजेतिर श्रीमान् रक्सीले माते घर आइपुगे । उनी थप रक्सी खाने पैसा माग्न आएका रहेछन् । श्रीमतीले पैसा दिन्न भनेपछि उनी आक्रोशित बने । ढोका थुनेर श्रीमतीलाई कुट्न थाले । चरम यातना दिए । उनका अनुसार हात, खुट्टा, लौरो जे सजिलो हुन्छ त्यसैले श्रीमानले झ्यालढोका लगाएर कुटे । योनि र मलद्वारमा लौरो छिराइदिए ।
उनले यसअघि नयाँ पत्रिकासँग भनेकी थिइन, ‘मैले प्रतिकार नै गर्न सकिनँ । ठूलो प्रयासले चुकुल लगाएको ढोका खोल्न सकेँ । छिमेकी आएर मलाई बचाए ।’
घटना थाहा पाएलगत्तै स्थानीयले साँझ नै गीतालाई उपचारका लागि अस्पताल ल्याए भने रामचन्द्रलाई प्रहरीको जिम्मा लगाएका थिए । मृतक माझीका तीन छोरी छन् ।
माझीको भरतपुर अस्पतालको अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन इकाइ (ओसिएमसी) बाट निःशुल्क उपचार हुँदै आएको थियो । अब मृत्युपछि काजकिरिया गर्ने खर्चसमेतमा समस्या भएको छ ।
जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार आफ्नै श्रीमती कुट्ने ४० वर्षका पुरुषलाई ज्यान मार्ने उद्योग र जबर्जस्ती करणी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ । उनी अहिले प्रहरी नियन्त्रणमा छन् । उनका विरुद्ध किटानी जाहेरी गर्ने मानिस नभएर प्रहरीले आफ्नै प्रतिवेदनमा आधारित भएर मुद्दा चलाएको हो । प्रहरीले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीलाई घरायसी सामान्य विवादका कारण कुटपिट गर्नुको साथै योनिभित्र हातको औला छिराई पाठेघर बाहिर तानी चोट पुर्याएको भन्ने खबरको आधारमा अनुसन्धान अघि बढाएको थियो ।
खैरहनी नगरपालिका– १० काठार यस मुसहरबस्तीमा २८ घर माझी/मुसहर छन् । यो समुदायमा राज्यले शैक्षिक जीवनस्तर उकास्न उपलब्धिमूलक भूमिका निर्वाह गर्न सकेको छैन ।