लमजुङमा टिपर दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु

आइतबार, १५ जेठ, २०७९
डिजिटल संस्करण

लमजुङको मध्यनेपालमा टिपर दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ। मध्यनेपाल नगरपालिका वडा नम्बर ७ कोइलेनीमा बा ४ ख ७७८१ नम्वरको ट्रिपर आज दिउँसो साढे ३ बजे दुर्घटना भएको हो। दुर्घटनामा परी टिपरचालकसहित चारजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं इन्सपेक्टर जगदीश रेग्मीले जानकारी दिए।

मृत्यु हुनेहरूमा टिपरचालक अन्दाजी २७ वर्षीय आकाश भनिने विनोद घिमिरे, तनहुँ व्यास नगरपालिका- ७ कलेस्ती बस्ने अन्दाजी ४५ वर्षीय उत्तम न्यौपाने, सल्यान कुमाख गाउँपालिका बस्ने अन्दाजी २१/२२ वर्षका पारस शाह र गोरखा नगरपालिका–१२ बस्ने अन्दाजी २४ वर्षका रवीन्द्र सेढाई रहेका छन्।

मध्यनेपाल–७ कल्याणबेँसीबाट बतासेचोकतर्फ ढुंगा लोड गरी जाँदै गरेको अवस्थामा टिपर सडकबाट करिब ३० मिटर तल खसेको हो। मध्यपहाडी लोकमार्गअन्तर्गत भोर्लेटार सडक खण्डमा काम गर्दै आएको काष्ठमण्डप कन्सट्रक्सन प्रालिको टिपर दुर्घटना भएको हो। उकालो कच्ची साँघुरो सडकमा लोड बढी भई टिपर व्याक भएर तल खसेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

सुझावित समाचार