विद्यालयस्तरीय दौड सम्पन्न

आइतबार, १५ जेठ, २०७९
डिजिटल संस्करण

छात्रतर्फ आचार्य र छात्रातर्फ अधिकारीले जिते उपाधि 

पोखरामा सम्पन्न कास्की जिल्ला विद्यालयस्तरीय पाँच किमि दौडको उपाधि छात्रतर्फ सैनिक आवासीय माविका प्रवेश आचार्य र छात्रातर्फ त्रिवेणी पब्लिककी एन्जला अधिकारीले हात पारेका छन् । 

बगर भाई खलक र दिप युनाइटेड क्लबको संयुक्त आयोजनामा भएको दौडको निर्धारित दूरी छात्रतर्फका आचार्यले १७.४६ मिनेटमा र छात्रातर्फकी अधिकारीले २२.५५ सेकेन्डमा पार गर्दै जनही १०–१० हजार नगदसँगै मेडल र प्रमाणपत्र पाए । प्रतियोगितामा छात्रतर्फ ५० र छात्रातर्फ ३० जना सहभागी थिए । 

छात्रतर्फ १८.०९ मिनेटमा दूरी पार गर्दै आकृष थापा दोस्रो र १८.२२ मिनेटमा दूरी पार गर्दै लालबहादुर बस्नेत तेस्रो भए । उनीहरू दुवैजना सैनिकका विद्यार्थी हुन् ।

छात्रातर्फ २३.०९ मिनेटमा दूरी पूरा गर्दै इन्द्रराज्य माविकी आइतीमाया घलेले दोस्रो र २५.३७ मिनेटमा दूरी पार गर्दै अमरसिंह माविकी सौरभी मल्ल तेस्रो भइन् । दुवै विधामा दोस्रो हुनेले सात–सात हजार र तेस्रोले पाँच–पाँच हजार नगदसहित मेडल र प्रमाणपत्र पाए । 

पोखरा महानगर– १ का वडा अध्यक्ष सहारा प्रधानले वडास्थित पुरानो टुँडीखेलबाट शुभारम्भ गरेको दौड वगर ट्याक्सी चोक, केआइसिं पुल, लामाचौर हुँदै पोखरा–१६ स्थित बाटुलेचौर मैदानमा पुगेर सम्पन्न भएको थियो । विजेताहरूलाई पोखरा–१६ का वडा अध्यक्ष अमृत तिमिल्सिना, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।

See More On

सुझावित समाचार