अवैध रूपमा डिजिटल तराजु बिक्री गरेपछि मल कम्पनी सिल

शुक्रबार, १३ जेठ, २०७९
डिजिटल संस्करण

गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जले भरतपुरमा अनुमति नलिई डिजिटल तराजु बिक्रीका लागि राखे भन्दै खुन्हा एस्पोर्ट इम्पोर्ट प्रालिको बिक्री केन्द्र र गोदामलाई शुक्रबार सिल गरेको छ ।

भरतपुरको खुन्हा एस्पोर्ट इम्पोर्ट प्रालिको गोदाममा सात सय बढी अनुमति-पत्रविना राखिएको, भन्सार नतिरी ल्याइएको, लेभल नभएको डिजिटल तराजुहरू थिए । गुणस्तर तथा नापतौल कार्यलय वीरगन्जका निरीक्षक सुनीलकुमार यादवले डिजिटल तराजु भएको गोदामसँगै अन्य दुईवटा गोदममा पनि सिल गरेर तीन दिनभित्र सञ्चालकलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको उनले बताए । 

चाइनाको मिश्रित मल वितरणको मात्र अनुमति लिएर खोलिएको यस कम्पनीको गोदाममा अवैध रूपमा ल्याइएको डिजिटल तराजु पनि छ । यो कम्पनीमा चाइनिजहरूको लगानी भएको यसका सञ्चालकहरू बताउँछन् । कम्पनीको म्यानेजर रहेका भक्तबहादुर थापाले कागज-पत्रमा आफूहरूको नाम भए पनि कर्मचारी जस्तै बनेर आफूले काम गरेको बताए । 

उनले डिजिटल तराजु कहाँबाट कसरी आएको भन्ने कुरासमेत आफूलाई जानकारी नभएको बताए । ‘लकडाउनपछि गोदाम खाली थियो । चाइनिजहरूले ल्याएर राखे । उनीहरूकै लगानी भएको कम्पनी हो,’ उनले भने । यद्यपि कम्पनी गोर्खाकी विनादेवी पन्तको नाममा दर्ता छ । नेपालको कानुनअनुसार अवैध रूपमा तराजु, काँटा ल्याएको प्रमाणित भएमा १ वर्ष कैद र १० हजार जरिवाना हुन्छ । 
 

सुझावित समाचार