हत्या आरोपमा वडाध्यक्ष र वडाध्यक्षका उम्मेदवार पक्राउ

बुधबार, २८ बैशाख, २०७९
डिजिटल संस्करण

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–११ की एक महिलाको हत्या आरोपमा तीनजना पक्राउ परेका छन्। ३९ वर्षीया दुँठी बुढा भनिने जुनमाया बुढाको हत्या आरोपमा पुथाउत्तरगंगा–११ का जयकुमार बुढा, अर्जुन बुढा र कुमारसिंह बुढालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकामध्ये जयकुमार बहालवाला वडाध्यक्ष हुन् भने कुमारसिंह नेकपा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्षका उम्मेदवार हुन् । 

पक्राउ परेकाहरूमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए । रुकुमकोट जिल्ला अदालतबाट १० दिनको म्याद थपेर घटनाको अनुसन्धान सुरु गरिएको डिएसपी डाँगीले बताए । किटानी जाहेरी परेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । वैशाख १९ गते चुनावी प्रचारका क्रममा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताबीचमा झडप भएको थियो । झडपका क्रममा केही घाइते भएका थिए भने जुनमाया बेपत्ता भएकी थिइन् । 

खोजतलासका क्रममा बुढाको शव स्थानीय जंगलमा सोमबार फेला परेको थियो । बुढाको शरीरको विभिन्न भागमा चोट रहेको बताइएको छ । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको प्रहरीले जनाएको छ । 
 

सुझावित समाचार