आयातीत केरा, आलु र चुकुन्दरमा अधिक विषादी

मंगलबार, २७ बैशाख, २०७९
डिजिटल संस्करण

भारतबाट आयातीत केरा, आलु र चुकुन्दरमा विषादीको मात्रा अधिक पाइएको छ । नेपालमा उत्पादन भएको केराले स्वदेशी मागको दुई महिना मात्रै धान्न सक्छ । सोही कारण भारतबाट आयातीत केराको भर पर्नुपर्ने व्यवसायीहरू बताउँछन् । पछिल्लो समय नेपालमा केराको मूल्य दुई सय रुपैयाँ प्रतिदर्जनसम्म पुगेको छ । भारतबाट आयात हुने केरा, आलु र चुकुन्दरमा अधिक विषादी भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

विभागले परीक्षण गरेको नौ महिनाको प्रगति विवरणमा आयातीत केरा, आलु र चुकुन्दरमा विषादीको मात्रा बढी भेटिएको जनाएको हो । विभागले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको निर्देशनमा सातवटा शाखा कार्यालयमार्फत गत कात्तिकदेखि आयातीत तरकारी तथा फलफूलको परीक्षण गर्दै आएको छ ।  सातवटा नाकाबाट आरबिपिआर (द्रुत प्लाज्मा रिजियन) विधिबाट २० हजार ६ सय २८ वटा आयातीत फलफूल तथा तरकारीका नमुनाहरूमा तीनवटा खान अयोग्य भेटिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए ।

 पछिल्लो समय एलसी लाग्ने त्रासले पनि केराको आयात नेपालमा बढेको र सोही क्रममा भित्र्याइएका केरामा गरिएको परीक्षणमा विषादीको मात्रा बढी भेटिएको महर्जनले बताए । ‘पछिल्लो समय केरा र आलुमा विषादीको प्रयोगको संख्या बढेको छ, विषादी देखिएको उक्त तरकारी तथा फलफूललाई नाकामै डिस्पोज गर्ने गरिएको छ,’ उनले भने ।

त्यस्तै, विभागले नौ महिनामा दुई हजार ६ सय ७१ नमुना संकलन गरेको छ । संकलित नमुनामध्ये खाद्यान्न तथा दालहनजन्यका सात सय १९, तेल तथा घिउजन्य तीन सय ८५, फल तथा सागपातजन्य तीन सय १९, दाना पदार्थका एक सय ८८, मसलाजन्य दुई सय ६९ वटा, चिया–कफीका एक सय २६ वटा, दूध तथा दुग्ध पदार्थका एक सय १७, प्रशोधित पिउने पानीका एक सय २९, कन्फेक्सनिरीका ६०, गुलियो पदार्थजन्य एक सय ११, मासु तथा मासुजन्य २५, अन्य एक सय ९० र नुनका ३३ वटा नमुनाहरूको संकलन गरिएको थियो । जसमध्ये एक सय ४१ वटा नमुनाहरूमा खान अयोग्य भेटिएको हो । खाद्यान्न, दलहन तथा सोबाट बनेका खाद्य पदार्थका ३० नमुनाहरू, प्रशोधित पिउने पानीका १७, दूध तथा दुग्ध पदार्थका १०, दाना पदार्थका १० लगायतका अन्य खाद्य पदार्थका नमुनाहरूमा खान अयोग्य भेटिएको विभागले जनाएको छ ।

त्यस्तै, नौ महिनाको अवधिमा विभागले न्यूनस्तरको तथा दूषित उत्पादन तथा बिक्री–वितरण गरेको कसुरमा ६४ थान मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा दायर गरिएको थियो । विशेष गरी दायर गरिएका मुद्दाहरूमा दूध तथा दूधजन्य पदार्थमा १३ वटा, खाद्यान्न तथा दलहन पदार्थका १३ वटा, प्रशोधित पिउने पानीका नौवटा, विभिन्न किसिमका ससमा पाँचवटा, चियाका चारवटा रहेका थिए । उक्त ६४ थान मुद्दामा २६ वटा मुद्दाहरू दूषितका, २० वटा मुद्दाहरू लेबलसम्बन्धीका, १४ वटा मुद्दाहरू न्यून गुणस्तरका मुद्दाहरू सम्बन्धित जिल्ला अदालतमा र अन्य मुद्दाहरू सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दायर रहेका छन् ।
 

See More On

सुझावित समाचार