मतदानको दिन वर्षा हुने प्रक्षेपण

३० वैशाखमा काठमाडौंसहित बागमती, गण्डकी र प्रदेश १ मा सामान्यदेखि मध्यम वर्षा हुने आकलन, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षाको सम्भावना

सोमबार, २६ बैशाख, २०७९
डिजिटल संस्करण

दक्षिणी बंगालको खाडीमा आइतबार बनेर तटमा प्रवेश गरेको ‘असानी’ नामक सामुद्रिक आँधीको असर ३० वैशाख अर्थात् स्थानीय तह मतदानको दिनसम्म पर्न सक्ने प्रक्षेपण गरिएको छ । बंगालको खाडीबाट भारतको उत्तर–पश्चिमतिर अगाडि बढिरहेको सामुद्रिक आँधीका कारण नेपालमा पनि केही दिन वर्षा हुने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको हो । मतदान अघिसम्म केही सक्रिय हुने ठानिएको सामुद्रिक आँधीको प्रभाव ३० वैशाखमा भने केही कम हुने ठानिएको छ ।

‘जलवाष्पयुक्त हावा स्थानीय वायुमा मिसिएको छ,’ महाशाखाका मौसमविद् हिरा भट्टराईले भने, ‘यस्तो अवस्थामा घाम–पानी हुने सम्भावना छ, जस्तो आइतबार भएको छ । मतदानका दिनसम्म सामुद्रिक आँधी केही कमजोर हुने भए पनि पानी भने पर्ने आकलन गरेका छौँ । यसको असर पूर्वीनेपाल र काठमाडौं उपत्यकासहितका क्षेत्रमा केही बढी पर्न सक्छ ।’ 

महाशाखाले विशेष बुलेटिन जारी गर्दै चुनावमा पानी पर्न सक्ने जानकारी नै गराएको हो । ‘उत्तरपश्चिम (भारत)तर्फ सर्ने क्रममा रहेको सामुद्रिक आँधी ३० वैशाखसम्म कमजोर अवस्थामा उत्तरी बंगालको खाडीमा रहने सम्भावना रहेको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ । महाशाखाका अनुसार मतदानका दिन प्रदेश १, काठमाडौंसहित बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि मध्यम वर्षा हुन सक्छ । प्रिमनसुनका लागि यो ठूलै वर्षा हो । सोही दिन मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको आकलन गरिएको छ । भारतको पश्चिम बंगाल, उडिसा र आन्ध्र प्रदेशलगायत उत्तर–पश्चिम क्षेत्रमा ‘अलर्ट’ जारी गरेको त्यहाँको मौसम विभागले मंगलबार तीव्र गतिको हावाहुरीसहित वर्षाको प्रक्षेपण गरेको छ । 

मतदानभन्दा अघिका दिनमा भने मौसम अझ प्रतिकूल हुने आकलन गरिएको छ । महाशाखाले विशेष बुलेटिनमा उल्लेख गरेअनुसार बुधबार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने यसको असर खासै नपर्ने आकलन गरिएको छ ।

मतदानको अघिल्लो दिन पनि प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिममा भने थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । तर, तराईमा हावाहुरीको सम्भावना पनि छ । ‘यो आँधीले हिमाली क्षेत्रमा खासै असर गर्दैन, तर तराईमा भने हावाहुरीसमेत चल्न सक्छ,’ उनले भने । 

हिरा भट्टराई, मौसमविद्, मौसम पूर्वानुमान महाशाखा

जलवाष्पयुक्त हावा स्थानीय वायुमा मिसिएको छ । यस्तो अवस्थामा घाम–पानी हुने सम्भावना छ, जस्तो आइतबार भएको छ । मतदानका दिनसम्म सामुद्रिक आँधी केही कमजोर हुने भए पनि पानी भने पर्ने आकलन गरेका छौँ । यसको असर पूर्वीनेपाल र काठमाडौं उपत्यकासहितका क्षेत्रमा केही बढी पर्न सक्छ ।

मतदानको भोलिपल्ट : मतदानको भोलिपल्ट शनिबार भने प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका केही क्षेत्रमा मात्र हल्का वर्षाको सम्भावना छ । स्थानीय वायु सक्रिय बनेका वेला भक्तपुरमा पानी पर्ने, तर काठमाडौंमा घाम लाग्ने पनि हुन सक्छ । तर, सामुद्रिक आँधीको पनि असर मिसिएर जलवाष्पयुक्त हावा मिसियो भने एकनास देशभर (बर्खाझैँ) पानी पर्ने हुन्छ । जस्तो गत हप्ता देशभर पानी परेको थियो ।

See More On

सुझावित समाचार