आउँदो बर्खामा देशभर औसतभन्दा धेरै वर्षा हुने

आइतबार, २५ बैशाख, २०७९
डिजिटल संस्करण

प्रदेश १ का उत्तरी, मधेसका अधिकांश क्षेत्र र बागमतीका दक्षिणी भेगमा तुलनात्मक रूपमा कम पानी पर्ने

गत वर्षझैँ यस वर्ष पनि नेपालमा बर्खायाममा औसतभन्दा बढी पानी पर्ने आकलन गरिएको छ । जेठ अन्तिम साता नेपाल भित्रिने दक्षिण एसियाली मनसुनका कारण प्रदेश १ का उत्तरी, मधेसका अधिकांश क्षेत्र र बागमतीका दक्षिणी भेगबाहेक अन्य सबै क्षेत्रमा औसतभन्दा धेरै वर्षाको प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको हो । 

चार महिनाको सिजनमा प्रदेश १ का तराईका भूभाग, बागमतीका उत्तरपूर्वी, गण्डकीका दक्षिणी, लुम्बिनी, कर्णालीका उत्तर–पश्चिम तथा सुदूरपश्चिमका उत्तरी भेगमा धेरै वर्षा हुन सक्ने ठानिएको छ । औसतभन्दा बढी वर्षा आकलन प्रतिशतमा हेर्दा ती क्षेत्रमा ५५ देखि ६५ प्रतिशत हुन जान्छ । सुदूरपश्चिमको पूर्वी, कर्णालीको मध्य, गण्डकीको मध्य–पश्चमी र प्रदेश १ को मध्य भूभागमा पनि औसतभन्दा केही बढी वर्षाको आकलन गरिएको छ । प्रदेश १ का उत्तरी, मधेसका अधिकांश क्षेत्र र बागमतीका दक्षिणी भेगमा भने औसत वर्षाको सम्भावना नै ३५–४५ प्रतिशत मात्रै छ । 

विश्वभरको मौसम आकलन गर्ने विश्व मौसम संगठन र दक्षिण एसिया क्षेत्रको मौसम आकलन गर्ने दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको प्रक्षेपणका आधारमा जल तथा मौसम विज्ञान विभागले नेपालको आगामी मनसुनको अनुमान गरेको हो । ‘यो वर्ष धेरैजसो क्षेत्रमा मनसुनी वर्षा सरदरभन्दा बढी हुने देखिन्छ,’ जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईंले भने, ‘हाम्रो कृषि प्रणाली मनसुनी वर्षामा आधारित रहेकाले यसले सहयोग पुग्ने हुन्छ ।’

मध्य र पश्चिमतराईमा बाढीको धेरै जोखिम
वर्षा बढी हुँदा यो वर्ष पनि बाढीपहिरोका घटना बढ्ने प्रक्षेपण गरिएको छ । यो वर्ष विशेषगरी मध्य र पश्चिमतराईमा बाढीको जोखिम बढी छ । गत वर्ष २८ जेठमा भित्रिएको मनसुनले सुरुवातमै ठूलो वर्षा गराएको थियो । जसकारण सिन्धुपाल्चोकको मेलम्ची, मनाङ, मुस्ताङलगायत क्षेत्रमा ठूलो क्षति भएको थियो । गत वर्ष बर्खायाममा बाढीपहिरोमा मात्र एक सय ३८ जनाले ज्यान गुमाएका थिए ।

विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले मनसुन कस्तो हुन्छ भनेर महासागरमा विकसित हुने घटनाक्रम, त्यहाँको तापक्रममा भर पर्ने बताइन् । त्यसबाहेक हिउँदसहित ऋतुगत वर्षा, तापक्रम र हिमपातले पनि असर गर्ने उनको भनाइ छ । 

हाल प्रशान्त महासागरमा ‘लानिना’को प्रभाव रहेको छ । यसको प्रभावले सामुद्रिक तापक्रम बढ्ने र भारत–नेपाललगायतका क्षेत्रमा वर्षा गराउने सम्भावना हुन्छ । लानिना मनसुनसँगसँगै सक्रिय हुने आकलन गरिएकाले सुरुवातीमै नेपालमा पनि भारी वर्षा हुन सक्छ ।

नेपालमा औसतमा १३ जुन (जेठ अन्तिम)मा मनसुन भित्रिने गर्छ । तर, यसपालि कहिले मनसुन भित्रिन्छ र सुरुवाती अवस्था कस्तो हुन्छ भनेर मौसम पूर्वानुमान महाशाखाले आकलन गरिसकेको छैन । भारतमा भने मनसुनको आगमनसँगै भारी वर्षा हुने त्यहाँको जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरिसकेको छ । मनसुन मध्यअसोज अर्थात् एक सय १२ दिन नेपाली आकाशमा कायम रहन्छ  । यो अवधिमा नेपालको वार्षिक वर्षाको ८०.५ प्रतिशत पानी पर्छ । गत वर्ष मनसुनमा ११५.५ प्रतिशत अर्थात् एक हजार ६ सय २० मिलिमिटर वर्षा भएको थियो ।

See More On

सुझावित समाचार