रेनु दाहाल र सिर्जना सिंहलाई अवमूल्यन गरिएको भन्दै प्रचण्ड आक्रोशित

शुक्रबार, २३ बैशाख, २०७९
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)का एवं पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहालले मेयरका उम्मेदवारद्वय रेनु दाहाल र सिर्जना सिंहलाई अवमूल्यन गर्ने काम गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले दाहाललाई आफ्नी छोरीको रूपमा र सिंहलाई प्रकाशमान सिंहको श्रीमतीको रूपमा प्रचार गरेर केही मानिसहरूले उनीहरूको अवमूल्यन गर्ने काम गरिरहेको बताएका हुन् ।

सत्तारुढ गठबन्धनले शुक्रबार काठमाडौंमा आयोजना गरेको चुनावी सभामा बोल्दै उनले  छोरी रेणुप्रति संकेत गर्दै जहाँजहाँ महिलाहरूले नेतृत्व लिएर काम गरे, त्यहाँ राम्रो काम भएको दाबी गरे । अध्यक्ष प्रचण्डले महिला उम्मेदवारहरूमाथि विश्वास गर्ने र उनीहरूको योग्यतालाई सम्मान गरेर अघि बढनु मुलुककै आवश्यकता भएको जिकिरसमेत गरे ।

उनले पुरुषहरूले राज गरेर धेरै लछारपाटो नलगाएको उल्लेख गर्दै अब महिलाहरूलाई त्यो अवसर दिनुपर्ने निष्कर्षमा आफू पुगेको पनि स्पष्ट पारे ।

अध्यक्ष प्रचण्डले भने, ‘हिजो युद्धको वेलामा, शान्ति र संविधान निर्माणको बेलामा महिलाहरूलाई हुन त यी मेयरका दुइटा प्रत्याशीका बारेमा एकथरी मान्छेहरूले नकारात्मक टिप्पणी नगरेका होइनन् । कसैलाई छोरीको रूपमा, कसैलाई श्रीमतीको रूपमा प्रचार गरेर महिलाहरूलाई कहीँ न कहीँ अपमानित गर्ने, महिलाभित्रको क्षमतालाई अवमूल्यन गर्ने एक थरी मानिसका कोसिस छन् । म त्यो प्रवृत्तिलाई हृदयदेखि विरोध गर्न चाहन्छु । त्यो नकारात्मक प्रवृत्ति हो । अहिले घटनाक्रमले के साबित गरेको छ भने जहाँ–जहाँ महिलाहरू कार्यकारी भूमिकामा रहेका छन्, त्यहाँ-त्यहाँ राम्रो काम भएको छ । त्यसकारण महिलाहरूमाथि विश्वास गर्ने, उनीहरूको योग्यतालाई सम्मान गर्ने आजको देशकै आवश्यकता हो भन्ने मैले ठान्छु । हामी पुरुषहरूले धेरै राज गर्यौँ तर धेरै साह्रो लछारपाटो पनि लगाउन सकिएन । एकचोटी महिलाहरूलाई कार्यकारी भूमिका दिएर हेरौँ । यस अर्थमा हाम्रो संविधान कार्यान्वयनको दृष्टिले पनि र परिवर्तनलाई संस्थागत गर्ने दृष्टिकोणले पनि र परिवर्तनबाट नेपाली जनताले प्रगतिको अनुभूति गर्ने वातावरण बनाउनका लागि पनि यो पक्षलाई विशेष रूपले मनन गर्नुपर्दछ भन्ने मलाई लाग्दछ ।’

अध्यक्ष प्रचण्डले  संविधान कार्यान्वयनको दृष्टिकोणले पनि, परिवर्तनलाई संस्थागत गर्ने दृष्टिकोणले पनि र नेपाली जनतामा परिवर्तनको अनुभूति गराउन पनि महिलाहरूलाई विशेष रूपले अघि बढाउनुपर्ने तर्क गरे । 

See More On

सुझावित समाचार