५० लाखभन्दा बढीले लगाए टाइफाइडविरुद्धको खोप

दादुरा र रुबेलाभन्दा सुरक्षित भएको दाबी

आइतबार, १८ बैशाख, २०७९
डिजिटल संस्करण

नेपालमा कम्तीमा ८२ हजार चार सय ४९ जना टाइफाइडका बिरामी रहेको अनुमान गरिएको छ, जसमध्ये ६० प्रतिशत १५ वर्षभन्दा कम उमेरसमूहका बालबालिका छन् । 

नेपालमा ५० लाखभन्दा बढी बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार अभियानमा ७५ लाख बालबालिका आबद्ध हुने अनुमान गरिएको थियो । तर, हालसम्म लक्षित जनसंख्याले खोप लगाउन सकेका छैनन् । खोप अभियान आइतबारसम्म जारी रहनेछ ।

सरकारले गत २५ चैतदेखि १८ वैशाखसम्म टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरेको थियो । गाभी खोप सञ्जाल, विश्व स्वास्थ्य संगठन, युनिसेफ र अन्य साझेदारहरूसँगको सहकार्यमा टाइफाइड खोप कार्यक्रम सुरु गरिएको हो । राष्ट्रिय टाइफाइड खोप अभियानमा १५ महिनादेखि १५ वर्षका बालबालिकालाई लक्षित गरिएको थियो । महाशाखाका खोप सुपरभाइरज भरत भण्डारीका अनुसार ५० लाख बालबालिकाले खोप लगाइसकेका छन् । थप विवरण आइसकेको छैन । 

अभियान सफल बनाउन देशभरका ग्रामीण र सहरी क्षेत्रमा ५० हजारभन्दा बढी स्थानमा खोप केन्द्र सञ्चालित छन् । सरकारले आगामी दिनमा १५ महिनासम्मका बालबालिकालाई नियमित खोपमा समावेश गराउन अहिले महाअभियानका रूपमा सुरु गरिएको हो । टाइफाइडबाट अधिक प्रभावित मुलुकहरूको सूचीमा नेपालको नाम पनि अग्रपंक्तिमा आउँछ । टाइफाइड खोपको देशव्यापी सुरुवातले गर्दा १५ वर्षमुनिका बालबालिकाले नि:शुल्क रूपमा यो खोप प्राप्त गर्नेछन् । 

टाइफाइड खोप अभियानले १५ देखि २३ महिनाका बालबालिकाले अन्य खोप पनि पाए नपाएको निक्र्योल गरेको छ । सन् २०२० मा सफलतापूर्वक सञ्चालन गरिएको दादुरा रुबेला खोप अभियानझैँ यो अभियानले एउटा पनि खोप नपाएका बालबालिकाको पहिचान गर्नमा मद्दत गर्ने स्वास्थ्य अधिकारीहरू बताउँछन् । नेपालमा कम्तीमा ८२ हजार चार सय ४९ जना टाइफाइडका बिरामी रहेको अनुमान गरिएको छ, जसमध्ये ६० प्रतिशत १५ वर्षभन्दा कम उमेरसमूहका बालबालिका छन् । 

खोप लगाएका दुईजना अस्पताल भर्ना 
५० लाखले खोप लगाएकामा दुईजना मात्रै अस्पताल भर्ना भएका छन् । एकजनामा अन्य स्वास्थ्य समस्या देखिएको र अर्का एकजनामा खोप लगाएपछि समस्या देखिएको चिकित्सकहरूले जनाएका छन् । खोप लगाएपछि समस्या देखिएकालाई केही समय अस्पताल राखेपछि निको भएको कान्ति बाल अस्पतालले जनाएको छ । 

नेपालमा हालसम्म लगाएका खोपभन्दा टाइफाइडको खोप सुरक्षित देखिएको अधिकारीहरूले बताएका छन् । खोपपछि हुने घटनाको छानबिन गर्ने समितिका एकजना सदस्य डा. रामहरि चापागाईंले टाइफाइड खोपले कुनै समस्या नदेखिएको बताए । ‘खोपकै कारणले एकजना बच्चा बिरामी भएर अस्पताल भर्ना गरिएको थियो, तर उनलाई ठूलो समस्या देखिएन । निको भएर गए,’ चापागाईंले भने, ‘कुनै पनि खोप लगाएपछि केही न केही समस्या देखिन्छ । यसमा पनि देखिएको त्यस्तै हो । तर, कोही पनि बालबालिका खोपका कारण अस्पताल भर्ना हुनुपरेको छैन ।’ खोप लगाएको ७२ घन्टासम्म ज्वरो आउने, बान्ता हुने, रिंगटा लाग्ने जस्ता सामान्य समस्या देखिने चापागाईंको भनाइ छ । 

खोप सुपरभाइजर भरत भण्डारीका अनुसार जुनसुकै खोप लगाउँदा ७२ घन्टाभित्र सामान्य लक्षण देखिने हुन्छ । कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाका अनुसार अस्पतालमा बिरामीसमेत बढेका छैनन् । सामान्य बिरामी हुँदा देशभरबाट कान्ति बाल अस्पताल उपचारका लागि ल्याउने गरिन्छ । तर, अहिले दिनमा दुईदेखि तीनजना बिरामी ज्वरो आयो भन्दै अस्पताल आउने गरेको उनले बताए । 

खोप शाखाका प्रमुख सागर दाहालले टाइफाइड खोपकै कारण बालबालिका बिरामी नपरेको बताए । ‘कुनै पनि खोप असररहित हुने भन्ने हुँदैन,’ उनले भने, ‘खोप लगाएको स्थानमा दुख्ने, ज्वरो आउने, सुन्निने, बान्ता हुने, रिंगटा लाग्ने हुन सक्छ । तर, यो खोप दादुरा र रुबेलाभन्दा धेरै सुरक्षित देखिएको छ ।’

See More On

सुझावित समाचार