गुल्मीमा चुनावी गठबन्धन तोडिएपछि कांग्रेससँग माओवादी आक्रोशित

शनिबार, १७ बैशाख, २०७९
डिजिटल संस्करण

गुल्मीमा पाँचदलीय गठबन्धन तोडिएकोमा नेकपा (माओवादी केन्द्र)का नेताहरू नेपाली कांग्रेसका नेताहरूसँग आक्रोशित भएका छन्। शनिबार माओवादी केन्द्र निर्वाचन क्षेत्र नम्बर १ प्रदेश (क)ले पत्रकार सम्मेलन गर्दै गुल्मी कांग्रेसले देशभर पवित्र गठबन्धन हुँदाहुँदै दम्भ बोकेर माओवादीलाई ब्ल्याकमेलिङ गरेको जनाएको छ।

माओवादी केन्द्र निर्वाचन क्षेत्र नम्बर १ प्रदेश (क)का इन्चार्ज अशोक थापाले जिल्लामा कांग्रेसको इमान्दारिता नदेखिएको भन्दै कार्यकर्तालाई मेयर र उममेयरमा स्वतन्त्रतापूर्वक मतदान गर्न आग्रह गरे। कांग्रेसको अहंकारको परिणाम जेठ १र२ गते देखिने बताउँदै उनले राजनीतिक बेइमानी र अनुशासनहीनताले आफूहरूलाई  धोका भएको बताए।

गुल्मी निर्वाचन क्षेत्र नम्बर १ प्रदेश (क)अन्तर्गत छत्रकोटमा आंशिक गठबन्धन भएको छ। त्यसबाहेक रेसुंगा नगरपालिका र गुल्मी दरबार गाउँपालिकामा माओवादीसँग कांग्रेसले गठबन्धन गरेको छैन। त्यस्तै, इस्मा गाउँपालिकामा पनि कांग्रेस–माओवादी गठबन्धन भएको छैन। थालाले रेसुंगा नगरपालिकामा दर्ता गरेको उपमेयरको मनोनयन फिर्ता लिएका छन्। पार्टीले मनोनयन गर्न भनेपछि दिएको र फिर्ता मागेपछि फिर्ता गरेको उल्लेख गर्दै थापाले पार्टी नेतृत्वको पनि स्पष्ट धारणा र भूमिका नभएका कारण आफूहरू अहिलेको अवस्थामा आएको गुनासो गरे।

रेसुंगा नगरपालिकाका माओवादी केन्द्रबाट वडा नम्बर ६ मा वडाध्यक्षमा  गोपाल मरासिनी, वडा नम्बर १२ मा गिरिप्रसाद महाकिम र वडा नम्बर १४ शेरबहादुर मल्लसहित २२ जना उम्मेदवार रहेका छन्।

सुझावित समाचार