नयाँ पुस्ताको पञ्चेबाजा मोह

आइतबार, ११ बैशाख, २०७९
डिजिटल संस्करण
नयाँ पुस्ताको पञ्चेबाजा मोह

मदाने गाउँपालिका–४ म्यालपोखरीको पञ्चेबाजा समूह ।

१४ वर्षीय सुशील परियार कालो भादगाउँले टोपी र दौरा–सुरुवालमा चिटिक्क देखिन्छन् । ‘खरका छानामुक्त मदाने गाउँपालिका घोषणा’ सभामा गत बिहीबार सुशीलले दमाह र झ्याली बजाएको देखेर उपस्थित सबैजना छक्क परे । पञ्चेबाजा बजाउन थालेको तीन वर्षमै उनी सिपालु भइसकेका छन् । उनले ११ वर्षको उमेरदेखि नै बाजा बजाउन थालेको बताए । सुशील म्यालपोखरी माविमा कक्षा चारमा अध्ययनरत छन् । कक्षा छाडेरै पनि बाजे र काकाहरूसँग बाजा बजाउन हिँड्ने गरेको उनी बताउँछन् ।

सुशील मात्रै होइन, गाउँमा उनकै उमेरका अरूले पनि बाजा बजाउँछन् । गाउँमा विवाह, भोज, मेला, महोत्सव र विभिन्न शुभकार्य हुँदा उनीहरूकै समूहले बाजा बजाउँछन् । युवा र किशोरहरू पञ्चेबाजा बजाउन सिपालु भएपछि मदाने गाउँपालिका–४ को परियार समुदायमा आर्थिक उपार्जनको विकल्प सिर्जना भएको छ । यहाँ १४ वर्षका किशोरदेखि ७३ वर्षका वृद्धाले समेत बाजा बजाउने गर्छन् ।

तन्नेरीकै लयमा वृद्धहरू
म्यालपोखरीका ७३ वर्र्षीय खिमबहादुर परियार सहनाई वादक हुन् । उनी अझै पनि युवा र किशोरहरूले जस्तै गरी सहनाई बजाउँछन् । सोही गाउँका ६६ वर्षीय रुद्रबहादुर परियारले पनि सहनाई बजाउन छाडेका छैनन् । यो बाजा बजाउन निकै अप्ठ्यारो मानिन्छ । तर, दुवैजनाले १४–१५ वर्षकै उमेरदेखि सहनाई बजाइरहेको सुनाए । सहनाई बजाउन कठिन भएकाले किशोरहरू आँट गर्दैनन् । यही कारण कपाल फुलेर सेतै भइसक्दा पनि उनीहरू तन्नेरी जोसमै सहनाई बजाइरहेका छन् ।

‘उमेरमा तीन दिन तीन रात बजाउँथ्याैँ, अहिले सास पुर्याएर सहनाई फुक्न गाह्रो पर्छ,’ खिमबहादुरले भने, ‘नयाँ पुस्ताकै लागि मैले बजाइरहेको छु ।’ उनीहरूले सहनाई बजाउन बाबुबाजेसँग सिकेका हुन् । उनीहरू फुर्सदका वेला सिलाइकटाइको काम पनि गर्छन् । सिलाइकटाइ र पञ्चेबाजा बजाएर उनीहरूले परिवार पालिरहेका छन् ।

पश्चिमा संस्कृतिको चपेटामा पञ्चेबाजा
नेपाली मौलिक बाजा पञ्चेबाजा अहिले पश्चिमा संस्कृतिको चपेटामा परेको छ । विवाह र शुभकार्यमा ‘साउन्ड सिस्टम’ले प्राथमिकता पाउन थालेपछि उनीहरूमा चिन्ता बढेको छ ।म्यालपोखरीका ३९ वर्षीय पुनाराम परियारलाई प्रायः सबै बाजा बजाउन आउँछ । उनका अनुसार एक सेटमा कम्तीमा १३ जना चाहिन्छ । दिन र ठाउँ हेरेर पारिश्रमिक लिने गरेको उनले बताए । लगनको वेला महिनाभर व्यस्त भए पनि अरू महिनामा दुई–तीन ठाउँबाट बाजाको माग हुन्छ । पुनारामका अनुसार बाजा बजाएको निश्चित दर नभएकाले मुखबोलीका आधारमा पारिश्रमिक पाइन्छ । 

गाउँपालिकाद्वारा बाजा र पोसाक प्रदान
पञ्चेबाजा बजाउने समूहलाई कलासंस्कृति संरक्षण र पेसासँग जोडिएको भन्दै पालिकाहरूले ऊर्जा प्रदान गरिरहेका छन् । पञ्चेबाजा विस्थापित नै हुन थालेपछि मदाने गाउँपालिकाले सबै वडामा बाजा र पोसाक प्रदान गरेको थियो । गाउँपालिकाका सातवटै वडामा बाजा बजाउने परियार समुदाय छन् । मदाने गाउँपालिकाका सूचना अधिकारी ऋषिराम पोखरेलका अनुसार गाउँपालिकाले आर्थिक वर्ष ०७४ देखि ०७६ सम्म एक–एक लाख विनियोजन गरी बाजा र पोसाक प्रदान गरेको थियो । गाउँपालिकाले बाजा किन्न ठूलो सहयोग गरेको ६३ वर्षीय धनबहादुर परियारले बताए । 

सुझावित समाचार