नयाँ पुस्तालाई उत्पादनसँग जोड्नुपर्छ : मन्त्री भुसाल

आइतबार, ११ बैशाख, २०७९
डिजिटल संस्करण

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि युवा उद्यमीले कार्य गर्नुपर्नेमा जोड दिएकी छिन् । नेपाल युवा उद्यमी मञ्चले आयोजना गरेको आठौँ महिला उद्यमी सम्मेलनको उद्घाटन कार्यक्रममा उनले नयाँ पुस्तालाई उत्पादनसँग जोड्नका लागि युवा उद्यमीको संस्था सात सय ५३ वटै स्थानीय तहमा विस्तार गर्नुपर्नेमा जोड दिएकी छिन्  । 

उनले भनिन्, ‘आयात निरुत्साहित र निर्यात प्रवद्र्धन गर्न उत्पादन विस्तार गर्नु छ । त्यसका लागि देशभरका युवा उत्पादनमा संलग्न हुनुपर्छ ।’ मन्त्री भुसालले कृषि उत्पादनमा युवा पुस्ता आकर्षित हुँदा नै देश समृद्धिको बाटोमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै युवा पुस्तालाई संगठित गरेर उद्यममा प्रेरित गर्नुपर्ने बताइन् ।

‘औद्योगिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरणलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्छ,’ मन्त्री भुसालले भनिन्, ‘आर्थिक र सामाजिक विकासमा युवा उद्यमी लाग्नुपर्छ ।’ परम्परागत पितृसत्ताका कारण महिला पछि परेको उल्लेख गर्दै उहाँले महिला उद्यमीले शिक्षा, स्वास्थ्यमा मात्र नभई उद्यमशीलतामा अब्बल हुनुपर्ने बताइन्  । मञ्चका अध्यक्ष उदीप श्रेष्ठले युवालाई उद्यमशीलतामा जोड्नका लागि आफूहरू लागिपरेको उल्लेख गर्दै आगामी दिनमा देशभरका युवालाई संगठित गरेर उद्यममा लाग्न प्रेरित गर्ने विश्वास दिलाए । 

सुझावित समाचार