३५,२२१ जनप्रतिनिधि छान्न आजदेखि उम्मेदवारी मनोनयन

आइतबार, ११ बैशाख, २०७९
डिजिटल संस्करण

दोस्रो स्थानीय तह निर्वाचनका लागि आज र भोलि उम्मेदवारी मनोनयन, पाँचदलीय सत्तागठबन्धन र एमाले नेतृत्वको विपक्षी गठबन्धनबीच मुख्य प्रतिस्पर्धा 

कार्यतालिका

  • ११ र १२ वैशाख : उम्मेदवारको मनोनयनपत्र दर्ता र १२ वैशाखमै मनोनयन दर्ता भएका उम्मेदवारको सूची प्रकाशन
  • १३ वैशाख : उम्मेदवारमाथि दाबी–विरोध
  • १४ र १५ वैशाख : मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने र १५ वैशाखमा मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने 
  • १६ वैशाख : उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने
  • १७ वैशाख : उम्मेदवारलाई चुनाव चिह्न प्रदान

- आचारसंहिता उल्लंघन भए उम्मेदवारलाई कारबाही 

- जुन चिह्नबाट उम्मेदवारी दियो त्यही दलको उम्मेदवार हुने 

- राष्ट्रिय मान्यता प्राप्त ६ र नपाएका ७३ दल चुनावी मैदानमा

स्थानीय तहमा आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयनका गर्न आइतबारदेखि उम्मेदवारी दर्ता सुरु हुँदै छ । ३० वैशाखमा हुने निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयनको कार्यतालिका बनाएको छ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारीको समय तोकिएको छ । मनोनयनका लागि सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ । 

२४ माघमा सरकारले सात सय ५३ स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको थियो । देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, दुई सय ७५ नगरपालिका र चार सय ६० गाउँपालिकामा कुल ६ हजार सात सय ४३ वडा छन् । निर्वाचनबाट प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्य गरी ३५ हजार दुई सय २१ जनप्रतिनिधि निर्वाचित हुनेछन् । हरेक वडामा अध्यक्ष र चार सदस्य हुन्छन् ।

उम्मेदवारले एकजना समर्थक र एकजना प्रस्तावकको हस्ताक्षरसहित निर्वाचन अधिकृतसमक्ष मनोनयन दर्ता गराउनुपर्छ । मनोनयनपत्रका साथ उम्मेदवारले कुनै प्रकारको सरकारी सेवा तथा सुविधा नलिएको स्वघोषणा गर्नुपर्छ । बहालवाला जनप्रतिनिधिले पदबाट राजीनामा दिएको पत्र तथा आफ्नो नाममा कुनै प्रकारको बेरुजु नरहेको स्वघोषणा पनि गर्नुपर्छ । २१ वर्ष उमेर पुगेको नेपाली नागरिक स्थानीय निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार बन्न पाउँछन् । 

२४ माघमा सरकारले सात सय ५३ स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको थियो । आयोगका अनुसार ६ जेठमा ०७४ मा निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिँदै छ । ०७२ को संविधानअनुसार स्थानीय तहमा गाउँपालिका र नगरपालिकाले स्थानीय सरकारको हैसियतमा काम गर्छन् । जिल्ला समन्वय समितिले पनि काम गर्छ । संविधानसभाबाट संविधान जारी भएपछि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो स्थानीय तह निर्वाचन ०७४ मा तीन चरणमा भएको थियो । 

आचारसंहिता पालन गर्न आयोगको अपिल 
आयोगले उम्मेदवारी दर्ता गर्दा निर्वाचन आचारसंहिता पालन गर्न उम्मेदवारका आकांक्षीलाई अपिल गरेको छ । उम्मेदवारीका लागि मनोनयनपत्र दर्ता गर्न जाँदा आचारसंहिताले तोकेअनुसारको आचरण पालना गर्न आयोगले अपिल गरेको हो ।

‘यदि आचारसंहिताविपरीत कार्यहरू भए–गरेको पाइएमा आयोगले कानुनबमोजिम कारबाही हुने र यसबाट उम्मेदवारको उम्मेदवारी प्रक्रियामा नै गम्भीर असर पर्न सक्ने हुँदा समयमा नै सचेत रहन उम्मेदवार हुन चाहने सबै मतदातामा जानकारी गराइएको छ,’ आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

आचारसंहिता उल्लंघन भए उम्मेदवारलाई कारबाही 
आयोगले आचारसंहिताविपरीत राजनीतिक दल वा उम्मेदवारबाट हुने कुनै पनि आमसभा, जुलुस, ¥याली, भेला, बैठक, घरदैलो, उम्मेदवारी दर्ता कार्यक्रममा निर्वाचन अधिकृतको अनुमतिमा उम्मेदवारले प्रयोग गर्ने सवारीसाधनमा ३.३ फिटको दलको एउटा झन्डा र एउटा चुनाव चिह्न तथा उम्मेदवारको पहिचान खुलेको ए–फोर साइजको एक रङमा छापिएको वितरण सामग्रीबाहेक अन्य कुनै प्रकारका प्रचार सामग्री प्रयोग नगर्न निर्देशन दिएको छ । ‘उम्मेदवारी दर्ता भएपछि यस्ता चिह्न भेटिएमा उम्मेदवारले राखेको ठानी आचारसंहिता उल्लंघनको कसुरमा उम्मेदवारलाई कारबाही हुने भएकाले सचेत रहन आयोग सम्बन्धित सबैलाई ध्यानाकर्षण गराउँदछ,’ आयोगद्वारा शनिबार जारी विज्ञप्तिमा छ । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मनोनयन दर्ता गर्ने सिलसिलामा विभिन्न राजनीतिक दलको जुलुस तथा ¥यालीलगायत कार्यक्रमका कारण कुनै पनि किसिमको अप्ठ्यारो वा झडपको स्थिति नआउने बताए । उम्मेदवारी मनोनयन दर्ता गर्दा राजनीतिक दलहरूबीच असहज तथा झडपको स्थिति सिर्जना भए स्थानीय प्रशासनले शान्ति सुरक्षाको दृष्टिकोणबाट काम गर्ने उनको भनाइ छ । 

‘उम्मेदवारी मनोनयनको क्रममा यदि कहीँ भिडभाड भयो भने कुन दललाई अघि र कुन दललाई पछि जान दिने भन्ने कुरा स्थानीय प्रशासनले शान्ति सुरक्षाको दृष्टिकोणबाट गर्नुपर्ने कार्यसम्पादन गर्छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने । 

जुन चिह्नबाट उम्मेदवारी दियो त्यही दलको उम्मेदवार हुने 
प्रमुख निर्वाचन आयुक्त थपलियाले स्थानीय तह निर्वाचनसम्बन्धी कानुनले गठबन्धनलाई नचिन्ने बताए । ‘कुनै पनि राजनीतिक दलको उम्मेदवारको हकमा त्यो दलले दिएको मनोनयनपत्रका आधारमा उम्मेदवारी दर्ता हुन्छ । उक्त व्यक्ति कुन दलको सदस्य हो भन्ने विषय आयोगको विषय होइन,’ उनले भने, ‘जुन चिह्नबाट व्यक्तिले उम्मेदवारी दिन्छ, उक्त व्यक्ति सोही दलको हो भन्ने निधो हुन्छ ।’ 

यसपालि ८७ प्रकारका मतपत्र पठाउने प्रक्रियामा छौँ : दिनेशकुमार थपलिया प्रमुख निर्वाचन आयुक्त

निर्वाचनको मिति तय गरेर निर्वाचन कार्यक्रम स्वीकृत गरिसकेपछि मतपत्र छपाइ र ढुवानी अवधि हेरेर मतपत्रलाई अन्तिम रूप दिइन्छ । योभन्दा अगाडिको निर्वाचनमा १० किसिमका मतपत्र छपाइ गरिएको थियो ।

तर, यसपालि ८७ प्रकारका मतपत्र पठाउने प्रक्रियामा छौँ । यसमा ७७ जिल्लाका ७७ किसिमका मतपत्र हुन्छन् । र, काठमाडौं उपत्यका र भक्तपुरका चारवटा नगरपालिकाको १७ वैशाखमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेपछि डिजाइन गर्ने र प्रिन्ट गरेर पठाउने तयारी आयोगको छ । हरेक वडाको मतपत्र फरक हुने हुनाले ११ दिनभित्र ६ हजार सात सय ४३ किसिमका मतपत्र त्यति नै किसिमका प्लेट बनाएर छापेर पठाउनुपर्ने हुन्छ ।

यातायातको असुविधा भएका स्थानमा १९ वैशाखभित्र मतपत्र पठाइसक्नुपर्ने हुन्छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि बढीमा १५ दिन मात्रै प्रचारप्रसारको अवधि दिन सकिन्छ । अहिले त्यो अवधि पनि घटाउनुपर्छ भन्ने रायका आधारमा ११ दिन दिने भनेका छौँ । यातायातको असुविधा भएका स्थानमा १९ वैशाखभित्र मतपत्र पठाइसक्नुपर्ने हुन्छ । त्यो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा २२ वैशाखभित्र पुग्छ ।

त्यहाँबाट मतदान अधिकृतको कार्यालयमा पठाउने हो । त्यहाँ अहिले पनि मतदान अधिकृतको कार्यालयबाट मतदानस्थल जान तीन दिन लाग्ने ठाउँ पनि छन् । कुनै पनि मूल्यमा २६ वैशाखसम्म मतपत्रसहित सम्पूर्ण सामग्री बोकेर मतदान गराउने टिम मतदानस्थलमा पुगिसक्नुपर्छ । यो अर्थमा प्राविधिक र व्यावहारिक दृष्टिकोणले सबै उम्मेदवार फाइनल भइसकेपछि मात्रै मतपत्र छाप्ने भन्ने असम्भव छ ।

सत्ता र विपक्षी गठबन्धनले मात्रै सबै पदमा उम्मेदवारी दिए ७० हजार ४ सय ४२ उम्मेदवार
निर्वाचन आयोगका अनुसार सबै पालिकाका वडासम्मै उम्मेदवारी दिने हो भने एक राजनीतिक दललाई ३५ हजार दुई सय सय २१ उम्मेदवार चाहिन्छ । यद्यपि, पाँच दलले सत्तागठबन्धन र एमालेले विपक्षी गठबन्धन बनाएकाले कुनै पनि दलले सबै पदमा उम्मेदवारी दिने सम्भावना कम छ । सत्ता र विपक्षी गठबन्धनले मात्रै पनि सबै पदमा उम्मेदवारी दिए पनि ७० हजार चार सय ४२ उम्मेदवार हुनेछन् । अन्य दल र स्वतन्त्र गरी करिब एक लाख उम्मेदवार हुन सक्ने अनुमान छ । देशभर सात सय ५३ स्थानीय तहका प्रमुख र उपप्रमुख, वडाध्यक्ष र वडासदस्य, महिला वडासदस्य र दलित महिला वडासदस्यको निर्वाचन हुनेछ । आयोगका अनुसार स्थानीय तहमा ३५ हजार दुई सय २१ पदमा निर्वाचन गर्नुपर्ने हुन्छ । 

देशभर चार सय ६० गाउँपालिका छन् । सबै गाउँपालिकाका प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिँदा एक दललाई नौ सय २० उम्मेदवार चाहिन्छ । त्यस्तै, महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाको संख्या दुई सय ९३ छ । त्यहाँ प्रमुख र उपप्रमुखका लागि मात्रै एक दललाई पाँच सय ८६ उम्मेदवार चाहिन्छ । यसरी सात सय ५३ पालिकाका प्रमुख र उपप्रमुखका लागि एक दललाई एक हजार पाँच सय ६ उम्मेदवार चाहिन्छ ।  देशभर ६ हजार सात सय ४३ वडा छन् । सबै वडामा वडाध्यक्ष एक र चार सदस्य गरी कुल ३३ हजार सात सय १५ पद हुन्छ । वडाध्यक्षको उम्मेदवारी दिन एक दललाई ६ हजार सात सय ४३ उम्मेदवार चाहिन्छ । महिला वडासदस्यमा पनि ६ हजार सात सय ४३ जना उम्मेदवार चाहिन्छ । दलित महिला वडासदस्यका लागि पनि ६ हजार सात सय ४३ जना नै उम्मेदवार चाहिन्छ । त्यस्तै, अन्य वडासदस्यमा एक दललाई १३ हजार चार सय ८६ जना उम्मेदवार चाहिन्छ । अर्थात् सबै वडाका सबै पदमा उम्मेदवारी दिँदा एक दललाई ३३ हजार सात सय १५ उम्मेदवार चाहिन्छ । 

सुझावित समाचार