गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसँगै ११ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। बिहीबार गुल्मी अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। अब निर्वाचनमा सबै काम निर्वाचन कार्यालयमार्फत हुनेछ।
मनोनयन तालिका सार्वजनिक
मुख्य निर्वाचन अधिकृतको कार्यालयले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरूको मनोनयन तालिका सार्वजनिक गरेको छ। नेकपा (माओवादी केन्द्र)का लागि ११ गते दिउँसो १२ देखि २ बजेसम्म, नेकपा (एमाले)का लागि ११ गते दिउँसो २ देखि ४, नेपाली कांग्रेसका लागि १२ गते दिउँसो २ देखि ४ र मनोयनको समय तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी)का लागि १२ गते दिउँसो १२ देखि २, जनता समाजवादी पार्टीका लागि ११ गते बिहान ११ देखि १२, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका लागि ११ गते दिउँसो २ देखि ४, राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि ११ गते बिहान १० देखि ११ बजे र राष्ट्रिय जनमोर्चा पार्टीका लागि १२ गते बिहान १० देखि ११ बजेसम्म मनोयनको समय तोकिएको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिए।
राष्ट्रिय जनमुक्ति पार्टी गुल्मी, नेकपा माले, विवेकशील साझा पार्टीका लागि ११ गते दिउँसो ४ देखि ५ बजेसम्म मनोनयनको समय तोकिएको छ। मंगोल नेसनल अर्गनाइजेसन, नेपाली कांग्रेस बिपी, सामाजिक एकता पार्टी, उन्नत लोकतन्त्र पार्टी नेपाल र जनसमाजवादी पार्टी नेपालका लागि १२ गते दिउँसो ४ देखि ५ बजेसम्म समय तोकिएको कार्यालयले जनाएको छ। स्वतन्त्र उमेदवारका लागि ११ गते बिहान १० देखि ११ बजेसम्म र अन्य दलका लागि १२ गते १० देखि ११ बजेसम्म मनोयनको समय तोकिएको छ।
२ लाख २४ हजार मतदाता, १४२ मतदान केन्द्र
गुल्मीमा कुल दुई लाख २४ हजार दुई सय ७६ जना मतदाता रहेका छन्। जसमध्ये एक लाख १० हजार ५९ जना पुरुष र एक लाख १४ हजार दुई सय १५ जना महिला रहेका छन्। दुईजना अन्य मतदाता रहेका छन्। जिल्लामा महिला मतदाताको संख्या धेरै रहेको छ। जिल्लामा ०७८ सालको जनगणनाअनुसार कुल जनसंख्या दुई लाख ४६ हजार आठ सय ३६ जना रहेको छ। जसमध्ये पुरुष एक लाख १२ हजार सात सय ८८ जना रहेका छन्। महिला एक लाख ३४ हजार ४८ जना छन्। निर्वाचनका लागि एक सय ४२ मतदानस्थल रहेको छ भने दुई सय ७९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकृत माया कुँवरले जानकारी दिइन्।
मुख्य निर्वाचन अधिकृत कार्यालय र सरोकारवालाबीच अन्तर्क्रिया
मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्लाका दलसहितका सरोकारवालाबीच अन्तर्क्रिया गरिएको छ। मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले निर्वाचनमा मतदातालाई उत्साहपूर्वक सहभागी गराउन आयोग, राजनीतिक दल र सरोकारवालाले समन्वय र सहजीकरण गर्नुपर्नेमा जोड दिए। उनले अहिलेसम्म आयोगले तोकेका सबै काम गरिएकाले आचारसंहिताको पूर्ण पालन गर्न आग्रह गरे।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले निर्वाचन सुरक्षाको सबै योजना पूरा भएकाले सौहार्द रूपमा मनोनयन र मतदान हुने जनाए।