मेट लाइफ नेपालसँगको सहकार्यमा क्लिन अप नेपालले बुढानीलकण्ठ मन्दिरपरिसरमा ‘लिटर क्लिन अप इभेन्ट’ आयोजना गरेको छ । सरसफाइको उद्देश्यले आयोजना गरिएको कार्यक्रमले समुदाय, नागरिक समाज, सरकारी तथा निजी संघ–संस्थालाई एकताबद्ध बनाउन सहयोग गरेको जनाइएको छ ।
कार्यक्रममा बुढानीलकण्ठ नारायणथान व्यवस्थापन समिति, सामुदायिक प्रहरी सेवा केन्द्र , महानगरीय प्रहरी प्रभाग, वातावरण संरक्षण अभियान नेपाल (इसिआई) र युवा समूहको सहभागिता रहेको थियो । फोहोरको कुप्रबन्धनले नकारात्मक स्वास्थ्य र पर्यावरणीय खतराहरू निम्त्याउने हुनाले फोहोर फाल्ने, नियमित सरसफाइमा संलग्न हुने, फोहोरको झोला साथमा बोक्ने र सार्वजनिक स्थानमा भन्दा फोहोर फाल्ने भाँडोमा मात्रै फोहोर फाल्ने विषयमा सर्वसाधारणलाई सचेत गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको मेट लाइफले जनाएको छ ।
विभिन्न प्रकारका फोहोर र फोहोर छुट्याउने विषयमा सहभागीलाई जानकारी दिएर कार्यक्रम सुरु भएको थियो । सहभागीहरूलाई विभिन्न समूहमा विभाजन गरी मन्दिरवरपरका विभिन्न ठाउँमा सरसफाइका लागि परिक्रमा गरिएको थियो । कार्यक्रममा ५५ जना सहभागी थिए ।