भागबन्डा नमिलेपछि जुम्लामा चुनावी गठबन्धनमा अन्याेल

आइतबार, ४ बैशाख, २०७९
डिजिटल संस्करण

संघीयतापछि पहिलोपटक भएको स्थानीय तहको निर्वाचनमा के–कसरी जाने हो भन्ने विषयमा अन्याेल देखिन्थ्यो। तर, यसपटकको स्थानीय तहको निर्वाचनमा उम्मेदवारका आकांक्षी निकै बढेका छन्।

कर्णाली प्रदेशको जुम्लामा एक नगरपालिका र सात गाउँपालिका गरी आठ स्थानीय तह छन्। ०७४ सालको स्थानीय तहको निर्वाचनमा चारवटा स्थानीय तहमा नेपाली कांग्रेसले आफ्नो वर्चश्व जमाएको थियो। जिल्लामा दोस्रो स्थानमा माओवादी केन्द्र र तेस्रो स्थानमा नेकपा एमाले रह्यो।

आसन्न स्थानीय तहको निर्वाचनमा नयाँ दलका रूपमा रहेको नेकपा (एकीकृत समाजवादी)ले पनि जिल्लामा आफ्नो जनाधार रहेको दाबी गरिरहेको छ। स्थानीय तहको निर्वाचनलाई लिएर दलहरू आन्तरिक लेखाजोखामा छन्। सत्तारूढ गठबन्धनले पनि जिल्लाका स्थानीय तहमा कसरी तालमेल गर्ने भन्नेबारे छलफल गरिरहेका छन्। यद्यपि, कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेलको खाका भने बन्न सकिरहेको छैन।

माओवादी केन्द्र र कांग्रेसले आफ्नो हैसियतभन्दा बढी भाग मागेको भन्दै एकीकृत समाजवादीले असन्तुष्टि व्यक्त गरेको छ। एकीकृत समाजवादीका जुम्ला अध्यक्ष तीर्थ बुढाले माओवादी र कांग्रेसले हैसियतभन्दा बढ्ता माग गरेकाले कुरा नमिलेको बताए। उनले भने, ‘भागबन्डाको कुरामा हामीलाई एउटामा मात्र सीमित राख्ने उनीहरूको लक्ष्य छ। हामी त्यो मान्दैनौँ, बरु सिंगल लड्ने हो ।’ उनले एक्लाएक्लै लडेको खण्डमा एकीकृत समाजवादीले दुई स्थानीय तह जित्ने दाबी गरे। ‘हामीले कांग्रेस/माओवादीले तीन–तीन र हामीलाई दुई स्थानीय तह दिनुस् भन्दा उहाँहरूले मान्नुभएको छैन,’ उनले भने।

नेपाली कांग्रेस जुम्लाका नेता एवं पूर्वमन्त्री दीनबन्धु श्रेष्ठले पनि गठबन्धनमा कुरा नमिलेको बताए। उनले भने, ‘अझै छलफल टुंगिएको छैन। छलफल तथा बहसले सकारात्मक बाटो पहिल्याउने अपेक्षा गरिएको छ।’ माओवादी केन्द्रका जिल्ला अध्यक्ष वीरबहादुर कुँवरले पनि गठबन्धनभित्रको छलफल अझै नटुंगिएको बताए। उनले भने, ‘अहिले समाजवादी पार्टी बैठकमा बस्न मानेको छैन। समाजबादी पार्टीका नेताले सम्मानजनक भएन भन्दै गठबन्धनको बैठकबाट बाहिरिएको हो।’

यस्तो छ २०७४ मा जुम्लामा स्थानीय तहको निर्वाचन परिणाम 
चन्दनाथ नगरपालिका : नेपाली कांग्रेसबाट चन्दनाथ नगरपालिकामा मेयरको उम्मेदवार बनेकी कान्तिका सेजुवालले दुई हजार आठ सय ६ मत प्राप्त गरी निर्वाचित भएकी थिइन्। एमालेका शान्तिलाल महतले दुई हजार ६६ र माओवादीका अशोककुमार श्रेष्ठले दुई हजार १५ मत प्राप्त गरेका थिए। उपमेयरमा माओवादी केन्द्रका अप्सरादेवी न्यौपाने (महत) दुई हजार १८ मत ल्याएर निर्वाचित भएकी थिइन्। यस्तै, नेपाली कांग्रेसका जगतबहादुर खत्रीले एक हजार सात सय ७४, एमालेका मेनुका रेग्मी (चौलागाई)ले एक हजार सात सय १०, नेमकिपाका धनञ्जय फडेराले पाँच सय ७४ मत प्राप्त गरेका थिए।

कनकासुन्दरी गाउँपालिका : कांग्रेसका नरवीर रावत दुई हजार एक सय १३ मतका साथ अध्यक्षमा निर्वाचित भएका थिए। माओवादीका राजजंग हमालले एक हजार आठ सय चार ४ र एमालेका गोपाल रोकायाले एक हजार तीन सय ५० मत ल्याएका थिए। उपाध्यक्षमा पनि कांग्रेसकै उर्मिला खत्रीले एक हजार नाे सय ४१ मत ल्याएर निर्वाचित भएकी थिइन्। माओवादी केन्द्रकी मिमसरा रानाले एक हजार चार सय ३१ र एमालेकी सुशीला बडुवालले एक हजार सात मत ल्याएकी थिइन्। 

गुठीचौर गाउँपालिका : यस पालिकाको अध्यक्षमा माओवादीका हरिबहादुर भण्डारीले एक हजार पाँच सय ९६ मतसहित निर्वाचित हुँदा एमालेका क्षेत्रबहादुर भण्डारीले एक हजार चार सय ६७ र कांग्रेसका दानबहादुर बुढाले ६ सय ७९ मत ल्याएका थिए। उपाध्यक्षमा माओवादीकी जानदेवी ऐडीले एक हजार पाँच सय ८५ मत ल्याएर निर्वाचित हुँदा एमालेकी धनरूपा बुढाले एक हजार तीन सय ६५ र कांग्रेसकी सुमन बुढा बस्नेतले पाँच सय ३७ मत प्राप्त गरेकी थिइन्।

तातोपानी गाउँपालिका : यो गाउँपालिकाको अध्यक्षमा माओवादीका नवराज न्यौपाने दुई हजार तीन सय ९१ मत ल्याएर निर्वाचित हुँदा एमालेका सुरतबहादुर शाहीले दुई हजार ७० मत पाएका थिए। उपाध्यक्षमा माओवादीकी गंगादेवी उपाध्यायले एक हजार नाे सय ६४ मत ल्याएर निर्वाचित हुँदा एमालेकी नारायणी चौलागाईंले एक हजार नाै सय ६, कांग्रेसका कर्ण कठायतले आठ सय ८१ मत ल्याएका थिए। यो पालिकामा तत्कालीन नयाँ शक्ति पार्टी र नेमकिपाको पनि केही प्रभाव छ।

तिला गाउँपालिका : यो गाउँपालिकाको अध्यक्षमा एमालेका रतननाथ योगी एक हजार सात सय ६८ मत ल्याएर निर्वाचित हुँदा माओवादीका जंगबहादुर बस्नेतले एक हजार सात सय ४४ र  कांग्रेसका कल्से रावतले एक हजार पाँच सय ५५ मत प्राप्त गरेका थिए। उपाध्यक्षमा भने माओवादीकी विष्णुमाया बुढा एक हजार सात सय ७४ मतसहित निर्वाचित हुँदा एमालेकी विष्णुकली रावतले एक हजार ६ सय १३ र कांग्रेसकी डिल्लीकुमारी हमालले एक हजार ६ सय तीन मत ल्याएकी थिइन्। यहाँ नेमकिपा चौथो स्थानमा छ।

पातारासी गाउँपालिका : यो पालिकाको अध्यक्षमा कांग्रेसका लक्षीमन बोहरा दुई हजार तीन सय ११ मत ल्याएर निर्वाचित हुँदा माओवादीका गौरी बुढाले एक हजार नाै सय २२ र एमालेका हंसबहादुर रोकायले पाँच सय ७० मत मात्र प्राप्त गरेका थिए। उपाध्यक्षमा पुन्नकली महतराले दुई हजार सात मत प्राप्त गरेर विजयी हुँदा माओवादी केन्द्रकी जनमाया रोकायाले एक हजार आठ सय ५५ मत र एमालेकी रम्बा भण्डारीले आठ सय ६७ मत प्राप्त गरेकी थिइन्।

सिँजा गाउँपालिका : यो पालिकाको अध्यक्षमा कांग्रेसका देवलसिंह रावल एक हजार चार सय ३० मत ल्याएर निर्वाचित हुँदा नेमकिपाका पूर्ण धितालले एक हजार दुई सय तीन, माओवादी केन्द्रका हिम्मत खत्रीले एक हजार एक सय ६३ र एमालेका नन्दराम रोकायाले एक हजार एक सय ४० मत ल्याएका थिए। उपाध्यक्षमा एमालेकी जन्मकन्या खत्रीले एक हजार पाँच सय चार मत ल्याएर निर्वाचित हुँदा कांग्रेसकी रजकन्या शाहीले एक हजार एक सय ६५, माओवादीकी सितली रोकायाले एक हजार एक सय ४५ र नेमकिपाकी कृष्णमाया शाहीले आठ सय ७९ मत प्राप्त गरेका थिए।

हिमा गाउँपालिका : यस गाउँपालिका अध्यक्षमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा भएको थियो। माओवादीका रजबहादुर शाहीले तीन मतले एमालेका उम्मेदवारलाई हराएका थिए। शाहीले एक हजार तीन सय १७ मत ल्याएर निर्वाचित हुँदा एमालेका भैबहादुर रोकायाले एक हजार तीन सय १४ मत ल्याएका थिए। अध्यक्षमै कांग्रेसका लक्ष्मणबहादुर शाहीले एक हजार दुई सय २२ मत पाएका थिए। उपाध्यक्षमा पनि माओवादीकै हिमाली रोकायाले एक हजार तीन सय २७ मत ल्याएर निर्वाचित हुँदा एमालेकी चुक्की शाही एक हजार एक हजार एक सय ८५, कांग्रेसकी सुर्पना शाहीले एक हजार एक सय २५ र नेमकिपाका विर्षबहादुर रावतले दुई सय ६६ मत ल्याएका थिए।

सुझावित समाचार