भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ बोडेका वुद्धकृष्ण वाग श्रेष्ठले नवौँ पटक जिब्रो छेडाएका छन्। जिब्रो छेड्ने जात्राअन्तर्गत शुक्रबार दिउँसो उनले नवौंपटक जिब्रो छेडाएका हुन्।
जिब्रो छेड्नको लागि उनले तीन दिनदेखि व्रत बस्दै आएका थिए। चैत्र मसान्तको दिन बोडेस्थित महालक्ष्मी मन्दिरमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बस्नुपर्ने मान्यता छ। शुक्रबार मध्याह्नमा कर्मीनाइकेले विभिन्न देवगणको पूजा गरेका थिए। बोडेको पाँचो गणेशको पार्टीमा नकर्मीले बनाएर राखेको १० इन्च लामो सुइरोेले बुद्धकृष्णले जिब्रो छेडाएका हुन्।
जिब्रो छेडेपछि चन्द्राकारकोे महाद्वीप बोकेर बोडेको टोल–टोल परिक्रमा गरिएको थियो। त्यसपछि पाँचो गणेश मन्दिरमा पुगेर जिब्रो छेडेको सुइँरो निकालेर महालक्ष्मी मन्दिरमा ठोक्याइएपछि जात्राको समापन भएको थियो ।







