जुम्लाको पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका– १ गडीगाउँमा ४२ किलोवाट विद्युत् उत्पादन गरिएको छ । सदरमुकाम खलंगाबजार र कर्णाली राजमार्गआसपासमा राष्ट्रिय प्रसारण लाइन जडान भएप नि दुर्गम गडीगाउँसम्म पुगेको छैन । उत्पादित बिजुलीले गडीगाउँ, नापानी, मुनिगाउँ र डिल्लीकोटका उपभोक्ता लाभान्वित भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरराज गिरीले बताए । उनले भने, ‘बिहान ५ बजेदेखि ८ र बेलुका ५ बजेदेखि ११ बजेसम्म बिजुली आपूर्ति गरिएको हो । १ नम्बर वडामा तीन सय ६० घरधुरी छन् । त्यहाँका एक हजार आठ सय उपभोक्ताले विजुली बाल्न पाएका छन् ।’
५५ वर्षकी खुलामु ऐडीले विगतमा झरो बाल्दै आए पनि अहिले झिलिमिली बत्ती बाल्न पाएको भन्दै खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘झरो बालेर (राँको) उज्यालो गर्दै आएका थियौँ । आगलागीको डर लाग्थ्यो । अहिले त्यो डर ट¥यो । गोठदेखि प्रत्येक कोठामा बत्तीका बल्ब बलेका छन् । अहिले त सहरजस्तो भएको महसुस हुन्छ ।’
गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले गडीगाउँमा उत्पादित ४२ किलोवाटको अदली खोला लघु जलविद्युत् आयोजनाको निर्माणस्थल अवलोकन गरेका छन् । लघु जलविद्युत् आयोजनाको करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । आगामी १५ वैशाखभित्रै आयोजनाको निर्माण कार्य सम्पन्न गरिसक्न अध्यक्ष भण्डारीले निर्देशनसमेत दिए ।