गुल्मीका महिला नेतृ भन्छन् : प्रमुख जिम्मेवारीमा महिलालाई नरोकियोस्

बिहिबार, १ बैशाख, २०७९
डिजिटल संस्करण
गुल्मीका महिला नेतृ भन्छन् : प्रमुख जिम्मेवारीमा महिलालाई नरोकियोस्

सञ्चारिका समूह गुल्मीले २१ चैतमा गरेको स्थानीय तहमा महिला नेतृत्व सुनिश्चितता विषयक अन्तरक्रियामा सहभागी महिला नेतृ । फाइल तस्बिर

मीना भण्डारी गुल्मी दरबार गाउँपालिकाको कार्यवाहक अध्यक्ष छिन् । उनले उपप्रमुखसहित केही महिनादेखि कार्यवाहक अध्यक्षको जिम्मेवारी निभाइरहेकी छिन् । अनुभव र कार्यक्षमताका हिसाबले उनी गाउँपालिका अध्यक्षमा स्वाभाविक दाबेदार हुन् । तर, आगामी निर्वाचनमा गाउँपालिकाको प्रमुखमा पुरुष आकांक्षी नै धेरै छन् । 

इस्मा गाउँपालिकाकी उपाध्यक्ष विमला खत्री अब प्रमुखका लागि आफू योग्य रहेको बताउँछिन् । उपप्रमुख भएर अब्बल रूपमा पाँचवर्षे कार्यकाल बिताएकाले स्वाभाविक रूपमा आफूलाई पार्टीले विश्वास गर्नुपर्ने उनको जिकिर छ । तर, गठबन्धन हुँदै गर्दा कसको भागमा पर्ने हो र पार्टीले फेरि पनि महिलामाथि विश्वास नगर्ने हो कि भन्ने उनलाई पनि चिन्ता छ । चन्द्रकोट गाउँपालिकाकी उपप्रमुख राधिका अर्याल आफूलाई अध्यक्षको स्वाभाविक दाबेदार ठान्छिन् । उनको पार्टीबाट आठजना आकांक्षी देखिएका छन् । तर, उनको दाबेदारीमा गठबन्धन र पार्टी नेतृत्वले महिलामाथि गर्ने अविश्वास तगारो बन्ने हो कि भनेर उनी चिन्तित छिन् । 

यी केही त्यस्ता उदाहरण हुन्, जसले पालिकाको उपाध्यक्षका रूपमा पाँचवर्षे कार्यकाल सफलतापूर्वक बिताएका महिला अध्यक्ष र प्रमुखका लागि स्वाभाविक दाबेदार हुन् भन्ने देखाउँछ । तर, राजनीतिक दलभित्रको संस्कृति र गठबन्धनले गुम्ने अवसरका कारण धेरै योग्य महिला यसपटक पनि पछि परिने हो कि भन्ने चिन्तामा छन् । 

२१ चैतमा सञ्चारिक समूहले गरेको कार्यक्रममा सहभागी अधिकांश पार्टीका महिला नेत्रीले आफूहरू पनि स्वाभाविक दाबेदार रहेको भन्दै सहिद नबनाउन चेतावनी दिएका थिए । गुल्मी कांग्रेसकी महिला नेत्री विष्णु सापकोटा तिनैमध्ये एक हुन् । उनी मुसीकोट नगरपालिकाको मेयरमा दाबी गरिरहेकी छिन् । तर, अघिल्लोपटक जस्तै यसपटक पनि दाबी गरेको पदमा टिकट नपाउने हो कि भन्ने चिन्ता उनलाई छ । किनभने स्थानीय तह निर्वाचनमा उनको पार्टी अन्य चार पार्टीसँग तालमेल गरेर भाग लिँदै छ । गठबन्धन बनाउँदा टिकट कसको भागमा पर्ने हो भन्ने टुंगो छैन । उनी मुसीकोट नगरपालिकाको मेयर वा उपमेयरका लागि कांग्रेसभित्र प्रभावशाली उम्मेदवार हुन् । तर, भन्छिन्, ‘गठबन्धनको नाममा महिला प्रतिनिधित्व सहिद नहोस् ।’ 

कांग्रेस इस्मा गाउँ कार्यसमिति उपसभापति अधिवक्ता पार्वती कुँवर गाउँपालिका अध्यक्ष वा उपाध्यक्षकी स्वाभाविक दाबेदार हुन् । तर, गठबन्धनले अवसरबाट वञ्चित हुनुपर्ने हो कि भन्ने चिन्ता छ । ‘मेरो मानसिकता नेतृत्वकै लागि हो । गठबन्धनका जुनसुकै दलले उम्मेदवारी पाए भने पनि महिलालाई नै उठाउन । अन्यथा, हामीमाथि अन्याय हुन्छ,’ उनले भनिन् । छत्रकोट गाउँपालिका उपप्रमुख नर्मदा भण्डारीले पनि कुशलतापूर्वक पाँचवर्षे जिम्मेवारी निभाइरहेकी छिन् । अब उनी पालिका प्रमुखको जिम्मेवारीको आशामा छिन् । मदाने गाउँपालिकाकी उपप्रमुख सरिता खड्का आफूलाई स्वाभाविक दाबेदार ठान्छिन् । रुरु क्षेत्र गाउँपालिका उप्रमुख लक्ष्मी पन्थ, मुसीकोट नगरकी उपमेयर कमला शर्मा, रेसुंगा नगरकी उपमेयर सीता भण्डारी पनि प्रमुख पदका आकांक्षी छन् । अघिल्लोपटक मुसीकोटमा मेयरका लागि वडाध्यक्षहरूको चर्चा हुँदा शर्मा उपमेयरमै चित्त बुझाउनुपर्ने दबाबमा परिन् । रेसुंगा नगरका उपमेयर सीता भण्डारीले आफू सोही पदमा नदोहोरिने बताइन् । उनले पार्टीले आवश्यकता ठाने उपल्ला पदहरूमा आकांक्षा भए पनि परिस्थिति अनुकूल नभए पार्टी कर्ममै सक्रिय हुने प्रतिक्रिया दिइन् । 

See More On

सुझावित समाचार