उम्मेदवार छनोटको दौडमा दलहरू : गुल्मीमा कांग्रेस–माओवादी गठबन्धनको आशामा, दाउ हेर्दै एमाले

मंगलबार, २९ चैत, २०७८
डिजिटल संस्करण

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि गुल्मीमा राजनीतिक दलहरू उम्मेदवार छनोटकोे दौडमा छन्। अहिलेसम्म एमालेले रेसुंगा र मुसिकोट नगरपालिका तथा कालिगण्डकी गाउँपालिकामा प्रमुखको उम्मेदवार टुंगो लगाएको छ। एमालेले रेसुंगामा इन्जिनियर राजेन्द्रप्रसाद पाण्डेय, मुसिकोटमा जीवन खरेल र कालिगण्डकीमा रामजी ढकाललाई पालिका प्रमुखको उम्मेदवार सिफारिस गरेको छ।

नेपाली कांग्रेसले मुसिकोटमा हरिनारायण सापकोटालाई नगरप्रमुखको उम्मेदवार छनोट गरेको छ। नेकपा (माओवादी केन्द्र)ले चन्द्रकोटमा युवराज केसी, रुरु क्षेत्रमा यदु ज्ञवाली, धुर्कोटमा भुपाल पोख्रेल र गुल्मी दरबारमा पुनाराम ज्ञवालीलाई गाउँपालिका प्रमुखको उम्मेदवारमा सिफारिस गरेको माओवादी केन्द्रका जिल्ला संयोजक बुद्धि जिसीले जानकारी दिए।

मालिकामा स्थानीय गठबन्धन घोषणा
मालिका गाउँपालिकामा सत्तारुढ दलहरूले चुनावी गठबन्धन गरेका छन्। अहिलेसम्म मालिकामा मात्रै चुनावी गठबन्धन घोषणा भएको छ। जसमा माओवादी केन्द्रलाई गाउँपालिका प्रमुखसहित ३ र ८ नं वडा तथा कांग्रेसलाई उपप्रमुखसहित १, २, ४, ५, ६ र ७ नं वडा दिने सहमति भएको छ। गठबन्धनको तर्फबाट माओवादी केन्द्रका देवीराम अर्याल प्रमुखको उम्मेदवार बनेका छन्।

धुर्कोटमा दोहोरिँदै पोख्रेल
अहिलेसम्म जिल्लाका १२ पालिका प्रमुखहरूमध्ये धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेल फेरि प्रमुखको उम्मेदवार भएका छन्। माओवादी केन्द्रको तर्फबाट उनी पुनः उम्मेदवार बनेका हुन्।

कार्यसम्पादन मूल्यांकनमा धुर्कोट लुम्बिनी प्रदेशमा पहिलो र देशभर तेस्रो भएकाले पार्टीले पोख्रेलको कामको प्रशंसा गर्दै पुनः उम्मेदवार बनाउने निर्णय गरेको माओवादी केन्द्र धुर्कोट गाउँपालिका अध्यक्ष गोपाल कुँवरले बताए। जिल्लाका अन्य केही पालिका प्रमुखहरूको आकांक्षा रहे पनि पार्टी उम्मेदवारको टुंगो लागिसकेको भने छैन।

उपप्रमुख छनोटमा सकस
अहिले जिल्लाका विभिन्न पालिकामा प्रमुखहरूको चर्चा र उम्मेदवार सिफारिस भइरहेका छन्। तर, उपप्रमुखहरूको भने चर्चा छैन। गुल्मीमा १२ वटै स्थानीय तहमा कुनै पनि दलले उपप्रमुखको नाम टुंगो लगाएका छैनन्। कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीलगायतका दल चुनावी गठबन्धनको आशामा छन्। प्रमुख प्रतिपक्षी एमालेले पनि सत्तारुढ दलको चुनावी गठबन्धको आधारमा उम्मेदवार सिफासिर गर्ने प्रतीक्षा गरिरहेको छ।

जिल्लाका पालिकाहरूको प्रमुख महिलाहरूले लगभग नपाउने भएका छन्। गठबन्धन भए उपप्रमुखमा पनि सम्भावना कम देखिन्छ। सत्तागठबन्धनका दलहरूले चुनावी तालमेल टुंगो लगाएको मालिका गाउँपालिकामा पनि कांग्रेसको भागमा परेको उपप्रमुख महिला वा पुरुष भन्ने निधो छैन। दल र पुरुष नेताहरूको स्वार्थमा महिलाहरू आदेशपालक मात्रै हुँदा निर्वाचनको संघारमा गुमनाम हुने स्थिति आएको कांग्रेसकी एक महिला नेतृको गुनासो छ।

वडाध्यक्षका उम्मेदवार टुंग्याउँदै एमाले
एमालेले जिल्लाका सबै वडाहरूमा अध्यक्षको उम्मेदवार टुंग्याउने गरेर गृहकार्य थालेको छ। एमाले जिल्ला सचिव गणेश श्रीपालीका अनुसार हालसम्म २५ वडामा अध्यक्षका उम्मेदवारको टुंगो लागेको छ। रेसुंगा नगरपालिका–९ मा नारायण सुनार, १० मा पदम अर्याल, धुर्कोट गाउँपालिकाको वडा नम्बर ३ हाडहाडेमा विष्णुबहादुर श्रीस र वडा नम्बर ६ रजस्थलमा कृष्ण नेपालीलाई उम्मेदवार दोहोर्याउने गरेर सिफारिस गरेको छ।

सुझावित समाचार