करिब पाँच वर्ष घर तथा भवन निर्माणमा ‘लेबर’ काम गरेपछि राप्ती गाउँपालिका वडा नं. ५ लठ्ठहवानिवासी कोइलीकुमारी चौधरीले मिस्त्रीको काम सिकिन् । मिस्त्रीको काम सिकेपछि उनले करिब सात वर्ष निकै मिहिनेत गरिन् । त्यसक्रममा उनले भवनको १२ तलासम्म पुगेर आफ्नो जिम्मेवारी सम्हालिन् । सात वर्ष मिस्त्री भएर काम गरेपछि उनलाई आफैँले व्यवसाय गर्नुपर्छ भन्ने सोच पलायो । त्यसपछि फरक क्षेत्रमा हात हालेर कुखुरा फार्म सुरु गरिन् । चौधरीले ०७४ सालदेखि ब्रोइलर कुखुरा फार्म सञ्चालन गरिन् ।
सिसहनिँयास्थित लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शाखाबाट ऋण लिएर उनले फार्म सञ्चालन गरेकी हुन् । ‘सुरुमा तीन लाख रुपैयाँ ऋण लिएर मैले व्यवसाय सुरु गरेँ,’ उनले भनिन्, ‘त्यसपछि बिस्तारै–बिस्तारै बढाउँदै लगेकी हुँ ।’ कुखुरापालनबाट राम्रो आम्दानी हुन थालेपछि उनले यसलाई निरन्तरता दिइन् । अहिले कुखुरापालनबाट मात्रै मासिक ६० हजार आम्दानी हुने उनको भनाइ छ । ‘आम्दानी पनि राम्रो हुन थाल्यो, आफ्नै व्यवसाय गर्दा मान, प्रतिष्ठा, इज्जत पनि भयो,’ उनले भनिन् ।
दुईवटा खोर निर्माण गरेकी उनले एउटामा साढे ६ सय र अर्कोमा सात सयवटा कुखुरा पालेकी छन् । मिस्त्री पेसाबाट अवकाश लिएर कुखुरापालन सुरु गर्दा उनमा अनुभव थिएन । अनुभव नहुँदा सुरुसुरुमा केही समस्या भए पनि अहिले सहज भएको उनी बताउँछिन् । सुभम पोल्ट्री फार्ममार्फत व्यवसाय गरिरहेकी उनको आम्दानी बढेपछि अन्य दुईवटा व्यवसाय पनि थप गरिन् । लक्ष्मी बैंकबाटै पछिल्लोपटक १५ प्रतिशत ब्याजदरमा पाँच लाख ऋण लिएर उनले माछापालन र बंगुरपालन पनि सुरु गरिन् ।
अहिले उनका दुईवटा पोखरीमा तीन हजारजति माछा छन् । नैनी, रहु, सिलभस, विघेट्लगायतका माछापालन गरेकी उनले मासिक ३०–३५ हजार रुपैयाँ आम्दानी गर्ने गरेकी छन् । त्यो माछापालन गर्नका लागि लगानी पनि धेरै लागेको छैन । मात्रै २७ हजार लगानी लगाएर माछापालन सुरु गरेको उनी बताउँछिन् । ‘व्यवसाय गर्ने इच्छा हुनु प¥यो, धेरै लगानी पनि चाहिँदैन,’ उनी भन्छिन् । बंगुरपालनमा पनि उनी उत्तिकै रमाउँछिन् । बंगुरबाट भने उल्लेख्य रूपमा आम्दानी लिन नसकेको उनी बताउँछिन् । पटक–पटक हुने मूल्यह्रासले गर्दा उल्लेख्य रूपमा आम्दानी गर्न नसके पनि सन्तुष्ट भने रहेको बताउँछिन् । ‘मैले तीनवटै व्यवसाय सँगै लिएकी छु, एउटाबाट नाफा नभए अर्कोबाट हुन्छ,’ उनले भनिन्, ‘यी व्यवसायमा एक–अर्कालाई सपोर्ट हुन्छ ।’
विपन्न वर्गको जीवनस्तर उकास्न लघुवित्तको भूमिका ठूलो छ
लघुवित्त कम्पनीहरूको मुख्य उद्देश्य गरिबी निवारण र विपन्न वर्गको उत्थान गर्नु हो । नेपालमा लघुवित्तले विपन्न वर्गको उत्थानमा कस्तो योगदान गरिरहेका छन् ?
बंगलादेशमा सफल प्रयोग भइरहेको ग्रामीण विकास बैंकको अवधारणा ०४९ सालतिर नेपालमा लागू गरियो । राष्ट्र बैंककै सक्रियतामा पूर्वाञ्चल र पश्चिमाञ्चल ग्रामीण विकास बैंक स्थापना गरिएको थियो । त्यतिवेलै एनजिओको रूपमा निर्धन, स्वावलम्बनजस्ता संस्थाहरू पनि खुले । जसको उद्देश्य नेपालमा गरिबी घटाउने थियो ।
नेपालमा लघुवित्त कम्पनीहरूले लघुकर्जामार्फत गरिबी न्यूनीकरण र जीवनस्तर उकास्नेतर्फ सशक्त काम गरिरहेका छन् । स–सानो कर्जा दिएर विपन्न वर्गलाई आयआर्जनमा प्रोत्साहित गर्ने काम भइरहेको छ । लघुकर्जाकै कारण लघुउद्यमी तथा व्यवसायीहरू जन्मिएका छन् । लघुवित्तले कर्जा, बचत, लघुबिमा र विप्रेषण सेवा प्रवाह गर्छन् । लुघु बिमाकै कारण बिमाले व्यापकता पाएको हो ।
नेपालमा आधुनिक लघुवित्त सुरु भएकै ३० वर्ष हुन लाग्यो । लघुवित्तकै कारण गाउँ–गाउँमा उद्यमी व्यवसायी जन्मिँदा गरिबी निवारणमा पनि ठूलो मद्दत पुगेको छ । अहिले देशभर ५६ लाख मान्छे लघुवित्तमा जोडिएका छन् । लघुवित्तले आयआर्जन बढाउन, जीवनस्तर सुधार्न, जोखिम वहन गर्न सक्षम बनाएका छन् । कतिपय नेतृत्व तहमा पनि पुगिसकेका छन् । लघुवित्तले जीवनस्तरसँगै सशक्तीकरणमा पनि काम गरेको छ ।
नेपालमा विपन्न वर्गसँग पनि बैंकिङ गर्न सकिन्छ भनेर सोचिएकै थिएन । गरिबले कर्जा लिन्छन् र समयमा तिर्छन् भनेर कसले सोचेको थियो ? लघुवित्तले क्रेडिट कल्चर बढाउने काम पनि ग¥यो । बैंकिङ चेतना बढायो । कर्जाको सदुपयोग गर्न सिकायो । साहुमहाजनको मिटरब्याजी ऋणबाट मुक्त बनायौँ । अहिले वित्तीय पहुँच ८० प्रतिशत जनतामा पुग्नु पनि लुघवित्तकै कारण हो । गरिब विपन्नलाई लघुवित्तले बचत गर्न पनि सिकायो । अहिले तिनै व्यक्तिबाट लघुवित्तहरूमा एक खर्ब ४६ अर्ब बचत छ ।
लघुवित्तकै ऋणको पासोमा परेर विपन्न वर्ग झन् समस्यामा परेको, आत्महत्यासम्म गर्नुपरेका समाचार पनि आइरहेका छन्, यस विषयमा तपाईंको भनाइ के हो ?
लघुवित्त कम्पनी नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको लाइसेन्स पाएका वित्तीय संस्था हो । हामी पनि राष्ट्र बैंकको नियमनमा चल्नुपर्छ । राष्ट्र बैंकले तोकेको अधिकतम १५ प्रतिशतभन्दा बढी ब्याजदर लिन पाउँदैनौँ । लघुवित्तले चर्को ब्याज लिन्छन् भन्ने आरोप गलत हो । अहिले लघुवित्तमा ५६ लाख ग्राहक जोडिएका छन् । सबै ग्राहक शिक्षित वा बैंकिङ कल्चर जानेका नहुन पनि सक्छन् । यत्रो सर्कलमा काम गर्दा कहिलेकाहीँ घटना निम्तिएको हुन सक्छ । यदि कर्मचारीले ऋण तिर्न ताकेता गरेर स्ट्रेस दिएरै दुर्घटना भएको छ भने त्यो गलत हो । लघुवित्त ‘क्लाइन्ट प्रोटेक्सन प्रिन्सिपल’ पूर्ण रूपमा मान्छौँ । ग्राहकको आत्मसम्मानमा चोट नपुग्ने गरी पारदर्शी ढंगले पैसा उठाउनुपर्छ ।
हामीले कहीँबाट निक्षेप, ऋण वा सापटी लिएर विपन्न वर्गलाई ऋण दिने हो । पैसाको कारोबार गर्दा कहिलेकाहीँ समस्या उत्पन्न हुन्छ । कतिपयले लघुवित्तबाट पैसा लगेर दुरुपयोग गरेका हुन सक्छन् । कतिपय टाठाबाठाले अरूको नाममा कर्जा निकालेर दुरुपयोग गरिदिन्छन्, त्यहाँ पनि समस्या हुन्छ । अझ कतिपयले धेरै लघुवित्तबाट ऋण निकाल्ने गर्छन् । त्यस्तो वेलामा समस्या हुने हो, तर हामी संयम नै छौँ । काम गर्दै जाँदा कहीँ कतै समस्या देखिन सक्छ । तर, हामीले समग्रतामा हेर्नुपर्छ । पहिलो वित्तीय पहुँच, विपन्न वर्गमा कर्जा लगानी कस्तो थियो, लघुवित्त आएपछि कहाँ पुग्यो भनेर पनि हेर्नुपर्छ ।
लघुवित्तको कर्जा लगानी कति पुगेको छ ?
अहिले देशभर ६६ लघुवित्त सञ्चालनमा छन्, जसले ३ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । हामी सरकारको लगानी चलाउँदैनौँ । लक्षित वर्गमा जाने सहुलियत कर्जा लघुवित्तमार्फत जाँदैन । विपन्न वर्गसँग काम गर्ने लघुवित्त, तर हामीले त्यस्तो कर्जा परिचालन गर्न पाउँदैनौँ । हामीले पनि सर्वसाधारणले जस्तै बैंकबाट ऋण लिएर वा निक्षेप संकलन गरेर कर्जा लगानी गर्ने हो । हामीले पनि बैंकलाई ब्याज तिर्नुपर्छ । अहिले नेपालमा बैंक तथा वित्तीय संस्थाका कुल ११ हजार शाखा पुगेका छन्, जसमा आधाजसो लघुवित्तका हुन् । लघुवित्त देशका कुना–कुनामा पुगेका छन् ।
अहिले नेपालमा ६६ लघुवित्त सञ्चालनमा रहेको भन्नुभयो । संख्या धेरै भएको भन्दै मर्जरको नीतिसमेत लिइएको छ । योबीचमा थुप्रै लघुवित्त मर्जरमा समेत गइरहेका छन् । यो विषयमा तपाईंको धारणा के हो ?
जुनसुकै क्षेत्रमा पनि आवश्यकताअनुसार संस्था खुल्नुपर्छ । र, त्यो संस्था हरेक पक्षबाट बलियो हुनुपर्छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंकको लाइसेन्स बन्द गर्दा घ वर्गका लघुवित्तको मात्र खुला भयो । त्यो वेला बैंकिङमा लगानी गर्न चाहनेहरूले लघुवित्तलाई विकल्प बनाउँदा सयभन्दा बढी संस्था पुगेका थिए । संस्था खुलेपछि बिजनेस चाहियो । त्यहाँ अस्वस्थ प्रतिस्र्धा हुन थाल्यो । नेपालमा लघुवित्त चाहिन्छ, त्यसको विकल्प छैन । तर, ३० भन्दा बढी संस्था हुनुहुँदैन । पछिल्लो समय लघुवित्तहरू मर्जरमा जाँदा संख्या ६६ मा झरेको छ । मर्जरमा गएका लघुवित्तहरू बलिया पनि भए । पुँजी धेरै भयो भने संस्थासँग जोखिम बहन गर्न सक्ने र ऋण प्रवाह गर्न सक्ने क्षमता पनि बढी नै हुन्छ ।
लघुवित्तमा पनि ऋण डिफल्ट बढी नै हुन्छ भनिन्छ । रियल अवस्था के हो ?
लघुवित्तबाट धितो लिएरभन्दा विनाधितो कर्जा बढी प्रवाह हुन्छ । तैपनि, भाका नाघेको ऋण अरू बैंकहरूको तुलनामा कम छ । कोभिड महामारी, तरलता संकटका कारण पनि लघुवित्तहरूको निष्क्रिय कर्जा २.८९ प्रतिशत रहेको छ । यो त्यति नराम्रो अवस्था होइन । अझै हामीले निष्क्रिय कर्जा घटाउनैपर्छ । हामीले क्रेडिट कल्चर विकास गरेकै कारण अरू बैंकहरूको तुलनामा लघुवित्तको खराब कर्जा कम भएको हो ।
यसले विपन्न वर्गसँग बैंकिङ गर्न सकिन्छ, कर्जा दिन सकिन्छ र उनीहरू अरूभन्दा झन् इमानदार पनि हुन्छन्, समयमै कर्जा चुक्ता गर्छन् भन्ने पनि सिद्ध भयो । लघुवित्तमा जोडिएका ५६ लाखमध्ये ९८ प्रतिशत महिला छन् । महिलालाई फोकस्ड गर्नुको कारण विपन्नताको सबैभन्दा ठूला साक्षी महिला हुन्छन् । अर्को, परिवारको भलाइमा पुरुषभन्दा महिला अगाडि हुन्छन् । इमानदारितामा पनि पुरुषभन्दा महिला अघि हुन्छन् । महिला फजुल खर्च गर्दैनन्, कर्जाको सदुपयोग पनि गर्छन् ।
लघुवित्त क्षेत्रका समस्या र चुनौती के हुन् ?
सबैभन्दा ठूलो समस्या भनेकै लघुवित्तमाथि सिर्जना गरिएको भ्रम हो । त्यसलाई मेटाउनु जरुरी छ । मिटर ब्याजमा ऋण दिएर खाने साहु महाजनको पेसा खोसिएपछि सबैभन्दा बढी उनीहरू नै भ्रम सिर्जना गर्न तल्लीन छन् । हामीले प्रवाह गर्ने कुल कर्जामध्ये ५० प्रतिशत बाह्य निर्भर रहनुपर्छ । विभिन्न बैंकबाट सापटी लिनुपर्छ । ३ खर्ब ७१ अर्ब कर्जामध्ये एक खर्ब ८५ अर्ब रुपैयाँ विभिन्न बैंकबाट ल्याएका हौँ । अहिले तरलता अभाव हुँदा लघुवित्तले पैसा पाएका छैनन्, त्यसैले लगानी गर्न सकेका छैनौँ ।
लघवित्तमा जहिल्यै ब्याजदरको मुद्दा छ । हामीले १५ प्रतिशतभन्दा बढी ब्याज लिन पाउँदैनौँ । राष्ट्र बैंकले नै तोकेको छ । एउटा अध्ययनले नै देखाएको छ, संसारभर लघुवित्तको ब्याजदर सबैभन्दा कम नेपालमा छ । अहिले हामीले बैंकबाटै १५ प्रतिशत ब्याजमा कर्जा लिएर १५ प्रतिशत ब्याजमा लगानी गर्नुपरेको छ । राष्ट्र बैंकले पनि ब्याजदर अलि वैज्ञानिक बनाइदिनुपर्छ । क, ख र ग वर्गका बैंकले बेस रेटमा ५–६ प्रतिशत प्रिमियम जोडर ब्याजदर निर्धारण गर्छन् । हामीलाई पनि बेस रेटमा प्रिमियम तोकेर ब्याजदर तोक्न देऊ न । बरु प्रिमियम तोकिदिए हुन्छ । त्यो भएपछि ब्याजदरको विवाद रहँदैन ।
तपाईं लक्ष्मी लघुवित्तको कार्यकारी प्रमुख हुनुहुन्छ ? लक्ष्मी लघुवित्तको अवस्था के छ ?
लक्ष्मी बैंकको सहायक कम्पनीका रूपमा ०६७ सालमा दर्ता भएर लक्ष्मी लघुवित्त सञ्चालनमा आएको हो । लक्ष्मी बैंकले अब सामाजिक बैंकिङ पनि गर्नुपर्छ, विपन्न वर्गसम्म पुग्नुपर्छ, त्यसका लागि छुट्टै कम्पनी खडा गर्नुपर्छ भन्ने अवधारणाबाट लक्ष्मी लघुवित्त सञ्चालनमा ल्याइएको हो । लक्ष्मी लघुवित्तभन्दा पहिला २२ वटा संस्था सञ्चालनमा आइसकेका थिए । तराई भेग अरूले कभर गरिसकेका थिए । मैले मध्यपहाडी क्षेत्रबाट काम सुरु गरेँ । मेलम्चीको बाहुनीपाटी, दोलखाको चरीकोट र नुवाकोटको बट्टारमा तीनवटा शाखा खोलेर ०७९ जेठदेखि काम सुरु गर्यौँ । हामीले प्रविधिमा विशेष जोड दिएर सेन्ट्रलाइज सिस्टम विकास ग¥यौँ ।
हाम्रा ग्राहक एक लाख नाघिसकेका छन् । हाम्रा ५६ जिल्लामा हेड अफिसदेखि ९१ वटा शाखा सञ्चालनमा छन् । हाम्रो कर्जा लगानी पौने ८ अर्ब रुपैयाँ पुगेको छ । २ अर्ब २० करोड रुपैयाँजति निक्षेप छ ।
विपन्न वर्गमा कर्जा कसरी प्रवाह गर्नुहुन्छ ?
लघुवित्तले धितो र विनाधितो कर्जा प्रवाह गर्दै आइरहेका छन् । विनाधितो ७ लाख र धितोमा १५ लाखसम्म कर्जा प्रवाह गर्न पाउने सुविधा छ । लक्ष्मी लघुवित्तले विनाधितो कर्जा ५ लाख रुपैयाँसम्म उपलब्ध गराइरहेको छ । लघुवित्त कम्पनीहरूले एउटा समूह बनाएर त्यसको जमानीमा व्यक्तिलाई विनाधितो कर्जा दिने गर्छन् । हाम्रा विभिन्न प्रकारका सेभिङ प्रडक्ट छन् । लक्ष्मीको लक्ष्मी समुन्नत खाता ल्याएका छौँ, जसमा बचतमा ९.७५ प्रतिशत ब्याजदर दिन्छौँ । तीन–चारवटा बिमा कम्पनीसँग टाइअप गरेर लघुबिमा सेवा दिएका छौँ । हामीले स्थापित रेमिट्यान्स कम्पनीसँग सहकार्य गरेर गाउँ–गाउँसम्म रेमिट्यान्स सुविधा दिइरहेका छौँ ।
अहिलेसम्म लक्ष्मी लघुवित्तले कति उद्यमी जन्मायो ? कतिलाई स्वरोजगार बनायो ?
लघुवित्तका एक लाख ग्राहकमध्ये ५३–५४ हजारले कर्जा लिनुभएको छ । कतिपय विगत १०–११ वर्षदेखि हामीसँग हुनुहुन्छ । हामीसँग ऋण लिनेहरूले कृषि, उद्यम, व्यवसाय गर्नुभएको छ ।
लक्ष्मी लघुवित्तले सेयरधनीलाई कति लाभांश दिइरहेको छ ?
हामीले जहिल्यै लाभांश सस्टेनेबल हुनुपर्छ भन्ने सोच राख्यौँ । लाभांश सधैँ एकैनास हुनुपर्छ । एक वर्ष राम्रो लाभांश दिने र अर्को वर्ष सेयरधनीलाई निराश बनाउने गर्नुहुन्न भन्ने हाम्रो ध्येय हो । लघुवित्त ओभर कमर्सियलाइज पनि हुनुहुँदैन । लघुवित्तले नाफा कमाउनुपर्छ, तर त्यो न्यायोचित हुनुपर्छ । हामीले लाभांश दिन २५–२६ प्रतिशतको सीमा तोकेका छौँ । हामीले एउटै रेसियोमा लाभांश दिइरहेका छौँ ।