आयोजना सम्पन्न भएपछि वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत् उत्पादन हुने पावर कम्पनीले जनाएको छ
निजी क्षेत्रबाट निर्माण भइरहेको ४० मेगावाटको अपर चमेलिया जलविद्युत् आयोजनाको निर्माण कार्य ७० प्रतिशत सम्पन्न भएको छ । अपि पावर कम्पनीले ०७८ पुसदेखि निर्माण सुरु गरेको अपर चमेलिया पावरहाउस निर्माण ९० प्रतिशत सम्पन्न भएको छ । यस्तै, इन्टेक ६५ प्रतिशत, अलाइटमेन्टको ६० प्रतिशत काम पूरा भएको अपि पावर कम्पनीका निर्देशक इन्द्रमणि त्रितालले बताए ।
गत असारमा आएको बाढीले निर्माणस्थलमा केही क्षति पुग्नुका साथै मेसिनहरूसमेत बगाउँदा आयोजना तीन महिना पछि धकेलिएको हो । अपि हिमाल गाउँपालिका र मार्मा गाउँपालिका भएर बग्ने चमेलिया नदीमा जलविद्युत् निर्माण भइरहेको छ । ओखलमा बाँध निर्माण गरी आयोजनाले ६ किलोमिटर दूरी रहेको घट्टेगाडमा पावरहाउस निर्माण गरिरहेको छ । ३.२ मिटर डायमिटरको पेनस्टक पाइपको सहायतामार्फत चमेलिया नदीको पानी विद्युत्गृहमा खसाली विद्युत् उत्पादन हुने त्रितालले बताए ।
आयोजना निर्माणको ठेक्का चन्द्र एन्ड वसन्त र ग्वालेक निर्माण सेवा जेभी तथा लट्टीनाथ कन्स्ट्रक्सन कम्पनीले पाएको छ । लट्टीनाथ कन्स्ट्रक्सनले विद्युत्गृहमा काम गरिरहेको छ । ‘अहिलेसम्मको कामको प्रगति हेर्दा लक्ष्यअघि नै सम्पन्न हुनेमा हामी ढुक्क छौँ,’ उनले भने, ‘अपि पावर कम्पनीले ०७९ फागुन १३ गते निर्माण कार्य सक्ने लक्ष्य लिएको छ ।’ आयोजनाको ०७७ कात्तिक २ गते शिलान्यास गरिएको थियो ।
आयोजनाबाट उत्पादन हुने विद्युत् एक सय ३२ केभी बलाँच सबस्टेसनमा जोडिनेछ । आयोजनाको विद्युत्गृहदेखि सबस्टेसनसम्मको दूरी १६ किलोमिटर छ । सबस्टेसनसम्म आवश्यक १६ किलोमिटर प्रसारण लाइनका ५७ खम्बा कम्पनीले नै निर्माण गर्दै छ । प्याराडाइज बिल्डर कम्पनीले प्रसारण लाइनको काम गरिरहेको छ ।
यो आयोजना सम्पन्न गर्न सात अर्ब ४० करोड लागत अनुमान गरिएको छ । आयोजनामा ६ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् । हिमालयन बैंकको अगुवाइमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य, नेपाल, नेपाल बंगलादेश र सेन्चुरी बैंकले पाँच अर्ब १८ करोड रुपैयाँ लगानी गरेका छन् । आयोजना सम्पन्न भएपछि वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत् उत्पादन हुने पावर कम्पनीले जनाएको छ ।
उत्पादित विद्युत्मध्ये ३० प्रतिशत हिउँदका ६ महिना र बाँकी ७० प्रतिशत वर्षाका ६ महिनामा उत्पादन हुनेछ । माथिल्लो चमेलिया अपि पावरले निर्माण गरिरहेको तेस्रो जलविद्युत् आयोजना हो ।
अपि पावर कम्पनीले नौगाडमा ८.५ मेगावाट क्षमताको नौगाड जलविद्युत् ०७२ सालमा निर्माण गरेको थियो भने नौगाड दोस्रो आठ मेगावाट क्षमताको अपर नौगाड ०७६ सालमा निर्माण गरेको हो । दुवै विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
चमेलियापछि आयोजना नै आयोजना
०७४ सालमा शैलशिखरको बलाँचमा निर्माण गरिएको ३० मेगावाट चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन गरिएसँगै चमेलिया क्षेत्रमा विद्युत् निर्माणको ढोका खुलेको छ । निर्माण सुरु भएको ११ वर्षपछि निर्माण काम सकिए पनि यो आयोजना निर्माणले चमेलिया क्षेत्रमा थप विद्युत् उत्पादनको ढोका खुलेको छ ।
हाल निर्माण भइरहेको अपर चमेलिया ४० मेगावाट चमेलिया जलविद्युत् आयोजनाभन्दा १३ किलोमिटरमाथि छ । यस्तै, अपर चमेलियाभन्दा सात किलोमिटरमाथि १० मेगावाटको मकरीगाड हाइड्रोपावर निर्माण भइरहेको छ । मकरीगाड हाइड्रोपावरको अहिलेसम्म ७० प्रतिशतभन्दा बढी काम सकिएको इन्जिनियर उपेन्द्र चन्दले बताए । दुई अर्ब पाँच करोड लगानीमा अपि हिमाल गाउँपालिका–५, मकरीगाडमा जलविद्युत् निर्माण भइरहेको छ ।
खात्ती गाउँनजिकैको मकरी क्षेत्रमा सानो बाँध निर्माण गरी मकरीगाडको १.३५ घनमिटर पानी फर्काई करिब ३.३ किमि फलामे पेनस्टक पाइपमार्फत विद्युत् उत्पादन गरिनेछ । विद्युत् निर्माण गर्दा दुईवटा टर्बाइन र जेनेरेटरमा नौ सय २४ मिटरको जलचाँप खसाली मकरीगाडमा १० मेगावाट क्षमताको विद्युत् उत्पादन गरिन लागेको हो ।