जटिल नेपाल–भारत सम्बन्धमा सुधार

आजको आवश्यकता भनेको क्षेत्रमा आधारित राष्ट्रवादी बयानबाजीबाट जोगिन र शान्तिपूर्ण वार्ताका लागि आधार तयार पार्नु हो

आइतबार, २७ चैत, २०७८
डिजिटल संस्करण

जुलाई २०२१ मा शपथ लिएका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले परम्परालाई निरन्तरता दिँदै १–३ अप्रिलमा भारतको पहिलो द्विपक्षीय भ्रमण गरेका छन् । भ्रमणको नतिजा सामान्य देखिन सक्छ, तर दुवै पक्ष विवादित मुद्दालाई प्रभावकारी ढंगले निराकरण गर्न सफल भएका छन् । 

सकारात्मक प्रतिफल : पहिलो उपलब्धि जयनगरदेखि कुर्थासम्मको ३५ किलोमिटर लामो अन्तरदेशीय रेल सञ्चालन हो । थप दुई चरणमा रेललाई बिजुलपुरा र बर्दिवाससम्म विस्तार पनि गरिनेछ । दोस्रो उपलब्धि तिलादेखि मिर्चैया जोड्ने ९० किलोमिटर लामो एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन हो । यसबाहेक नेपाललाई इन्टरनेसनल सोलार एलाइन्समा समावेश गर्ने र इन्डियन आयल एवं नेपाल आयलबीच पेट्रोलियम पदार्थको नियमित आपूर्ति सुनिश्चित गर्ने विषयमा पनि हस्ताक्षर भएको छ । र, पञ्चेश्वर परियोजनामा दुवै पक्ष डिपिआरलाई छिट्टै अन्तिम रूप दिन सहमत भएका छन् ।

बढ्दो चिनियाँ भूमिका : २७ फेब्रुअरीमा देउवाले आफ्ना गठबन्धन साझेदार माओवादी र एकीकृत समाजवादीको आपत्तिका बाबजुद अमेरिकी एमसिसी सम्झौतालाई अनुमोदन गरेका छन् । काठमाडौंस्थित चिनियाँ दूतावास यो सम्झौता चीनलाई घेर्ने अमेरिकी इन्डो–प्यासिफिक रणनीतिको हिस्सा हो भन्ने भाष्य सिर्जना गरेर सम्झौतालाई तुहाउन सक्रिय रूपमा लागिपरेको थियो । राजतन्त्रका वेला चीनले दरबारसँग सम्बन्ध कायम राख्थ्यो र चीनको चिन्ता मूलतः तिब्बती शरणार्थीलाई नियमन गर्नु थियो । राजतन्त्र उन्मूलनसँगै चीनले राजनीतिक दल, सेना र सशस्त्र प्रहरीलगायत संस्थामा ध्यान केन्द्रित गरेको छ र नेपाललाई आफ्नो बढ्दो दक्षिण एसियाली प्रभाव क्षेत्रका रूपमा हेरेको छ ।

पछिल्लो समय नेपालसँग भारतको सम्बन्ध कहिले ‘राम्रो’ र कहिले ‘नराम्रो’ दुवै खालको छ । प्रधानमन्त्री मोदीले बारम्बार ‘छिमेक पहिलो’ नीतिमा जोड दिने गरेका छन् । सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण अत्यधिक सफल मानिएको थियो भने सन् २०१५ मा नेपालको संविधान निर्माण प्रक्रियामा हस्तक्षेप गरेको र ‘अनौपचारिक नाकाबन्दी’ लगाएकाले तिक्तता छाएको थियो । नतिजा नेपालमा राष्ट्रवादको ठूलो उभार निम्तियो र भारतविरोधी भावनामा अत्यधिक बढोत्तरी भयो । र, यो भावनालाई केपी शर्मा ओलीले राम्रैसँग प्रयोग गरे ।  

सन् २०१६ मा ओलीले पारवहन र यातायातसम्बन्धी सम्झौतामा वार्ता गर्न बेइजिङको भ्रमण गरे । तीन वर्षपछि चीनले सातवटा बन्दरगाहमा पहुँच दिने गरी सम्झौता भयो । चिनियाँ रक्षामन्त्रीको पहिलो भ्रमण सन् २०१७ मार्चमा भयो र त्यसको एक महिनापछि संयुक्त सैन्य अभ्यास भयो । र, तीन करोड २० लाख अमेरिकी डलरको सैन्य अनुदान पनि घोषणा गरियो । चीनले वैदेशिक लगानीको सबैभन्दा ठूलो स्रोतका रूपमा भारतलाई उछिनेको छ र यससँगै सन् २०१९ मा राष्ट्रपति सी जिनपिङले काठमाडौंको भ्रमण गरे । चीनको वार्षिक विकास सहायता १२ करोड अमेरिकी डलर पुगेको छ । हाल चीन पोखरा र लुम्बिनीमा विमानस्थल विस्तारको परियोजनामा पनि संलग्न छ । चीनसँग प्रतिस्पर्धा गर्नुको सट्टा भारतले आफ्नै रणनीति चाल्नुपर्छ । 

मतभेद व्यवस्थापन : नेपाल र भारतले केही वर्षयता दुई देशबीच आएका मतभेदमा ध्यान दिनु आवश्यक छ । दुवै देशका राजनीतिक भाष्य बदलिएका छन् र साझा संस्कृति, भाषा एवं धर्मको सम्बन्धमा आधारित ‘विशेष सम्बन्ध’का नाममा यी मुद्दालाई टाल्न मिल्दैन । देउवाको भ्रमणको सफलताको एक पक्ष भनेको कुनै पनि मतभेदलाई हाबी हुन दिइएन । यद्यपि, सकारात्मक वातावरण निर्माण गर्न यी मुद्दालाई अनौपचारिक माध्यमबाट छलफल गर्न आवश्यक छ । 

खुला सिमाना र नेपाली नागरिकलाई भारतमा रोजगारी अधिकार दिने सन् १९५० को नेपाल–भारत सन्धिलाई अहिले असमान सन्धिका रूपमा लिइन्छ । सन् १९९० दशकमै यो सन्धि परिमार्जन एवं अद्यावधिक गर्ने भनिए पनि यसमा खासै ध्यान दिइएन । सन् २०१६ मा यसबारे छलफल गर्न आठसदस्यीय प्रबुद्ध व्यक्ति समूह गठन गरियो । प्रतिवेदन दुवै सरकारसँग उपलब्ध छ, तर प्रतिवेदन औपचारिक रूपमा दुई सरकारसमक्ष पेस गर्नुपर्ने धारणा काठमाडौंमा सिर्जना भएको छ । हालसम्म यो प्रतिवेदन केवल व्यक्तिगत क्षमता भएका विज्ञको प्रतिवेदन हो र यसमा सरकार बाध्यकारी छैनन् । यसलाई दुवैतर्फका परराष्ट्रमन्त्रीले सार्वजनिक रूपमा स्वीकार गराउनेतिर लाग्नुपर्छ ।  

भारतको डिमोनिटाइजेसन अर्को समस्या रहेको छ । २५ हजार भारतीय रुपैयाँ राख्न पाउने कानुनी हक भएका थुप्रै नेपाली नागरिकलाई बेवास्ता गरियो । नेपाल राष्ट्र बैंकमा सात करोड भारतीय रुपैयाँ र सार्वजनिक सम्पत्तिको अनुमानित पाँच अर्ब भारतीय रुपैयाँ रहेको छ । यो समस्या पारस्परिक सन्तुष्टिमा समाधान गर्न सम्भव हुनुपर्ने हो, पाँच वर्ष भइसक्दा पनि समस्या जहाँको त्यहीँ छ ।

सीमा मामिला : सन् २०१९ मा प्रधानमन्त्री ओलीलाई आफ्नो पार्टीको किचलो सामना गर्न विषयान्तर आवश्यक थियो र कालापानी सीमा मुद्दा विषयान्तर बन्यो । नेपाल–भारत सीमाको ९८ प्रतिशत सीमांकन भए पनि सुस्ता र कालापानी क्षेत्र भने बाँकी नै छन् । भारतले नोभेम्बर २०१९ मा नयाँ नक्सा जारी गरेको थियो । उसो त यो नक्साले नेपाल–भारत सीमाबीच कुनै तात्विक भिन्नता ल्याएको थिएन, तर ओलीले कालापानी मुद्दालाई उचाले । राष्ट्रवादी भावनालाई उचालेर उनले संविधान संशोधनमार्फत नेपालको नयाँ नक्सा सदनबाट अनुमोदन गराए । यसले जमिनी स्थितिलाई परिवर्तन नगरे पनि भारतसँगको सम्बन्धलाई चिसो बनायो ।   

आजको आवश्यकता भनेको क्षेत्र–आधारित राष्ट्रवादी बयानबाजीबाट जोगिन र शान्तिपूर्ण वार्ताका लागि आधार तयार पार्नु हो जहाँ दुवै पक्षले सम्भाव्य वार्ताको खोजी गर्दै संवेदनशीलता देखाउन सक्नुपर्छ । ‘छिमेक पहिलो’ नीति स्थापित गर्न भारतले पनि संवेदनशील र उदार साझेदार हुन आवश्यक छ । द हिन्दूबाट

सुझावित समाचार