कांग्रेसभित्रको आन्तरिक विवादले चुनावी तालमेललाई लिएर कतिपय जिल्लामा खटपट देखिएपछि पाँचदलीय सत्तागठबन्धनले स्थानीय तह निर्वाचनमा देशव्यापी तालमेलका लागि आह्वान गर्ने भएको छ । चुनावी रणनीति बनाउन शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले अपिल जारी गर्ने जिम्मा कांग्रेस नेता रामचन्द्र पौडेल संयोजकत्वको गठबन्धनको निर्वाचन तयारी र अनुगमन समितिलाई दिएको छ ।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तह निर्वाचनमा आवश्यकता र औचित्यताका आधारमा गठबन्धनका लागि आह्वान गर्न लागिएको बताए । शुक्रबार बैठकमा भएको सहमतिअनुसार पौडेल नेतृत्वको समितिले चाँडै नै यस्तो आह्वान गर्नेछ । नेता खनालले संयुक्त आह्वानले गठबन्धनको पक्षमा थप सकारात्मक वातावरण बनाउने विश्वास लिइएको बताए ।
‘शीर्ष तहमा छलफल भएअनुसार गठबन्धनको निर्वाचन तयारी र अनुगमन समितिमार्फत देशव्यापी तालमेलका लागि आह्वान गर्न लागिएको हो । समितिले आवश्यकता हेरर केही दिनमा यस्तो आह्वान गर्नेछ,’ उनले नयाँ पत्रिकासँग भने, ‘सबै ठाउँमा उपयुक्तता र समझदारीपूर्र्ण रूपमा तालमेल गर्न आह्वान गरिनेछ । हामीले आवश्यकता र औचित्यताका आधारमा स्थानीय तहबाट गठबन्धनबारे निर्णय लिने गरी निर्णय गरिसकेका छौँ । त्यसलाई पार्टीहरूले आ–आफ्नो संगठनमा व्याख्या गरिसकेका छन् । संयुक्त आह्वानले थप सकारात्मक वातावरण बनाउनेछ ।’
नेता डा. शेखर कोइराला समूहले कतिपय जिल्लामा गठबन्धन गर्न नसकिने निर्णय गरेपछि चुनावी तालमेललाई लिएर कांग्रेसभित्र अन्तर्विरोध देखा परेको छ । यही जटिलता फुकाउन शुक्रबार प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा, कांग्रेस नेता कृष्ण सिटौला, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका नेता खनाललगायतको अनौपचारिक छलफल भएको थियो । नेता सिटौलाले बैठक अनौपचारिक रहेको र चुनावी तयारीबारे छलफल भएको जानकारी दिए । ‘अनौपचारिक रूपमा चुनावमा गठबन्धनको तयारीबारे छलफल भयो,’ उनले भने ।
गठबन्धनले शनिबारसम्म सबै जिल्लामा गठबन्धनको अवस्थाबारेको प्रतिवेदन बुझाउन स्थानीय संयन्त्रलाई निर्देशन दिएको छ । सबै जिल्लाको प्रतिवेदनको विश्लेषणका आधारमा गठबन्धनले थप निर्णय लिने तयारी गरेको छ ।
१७ चैतमा बसेको सत्तागठबन्धनको बैठकले स्थानीय निर्वाचनमा तालमेल गर्ने सत्तागठबन्धनको निर्णय लिएको थियो । तालमेल गरेर जाने निर्णयसँगै गठबन्धनमा रहेका दलहरूले सातै प्रदेश, ७७ वटै जिल्ला र सात सय ५३ वटै पालिकामा संयन्त्र गठन गर्ने र ती संयन्त्रले त्यहाँ शक्तिसन्तुलन, जितको आधार र गठबन्धनको महŒवबारे प्रतिवेदन मगाउने सहमति गरेका थिए । २२ चैतमा बसेको बैठकले भने पौडेलको नेतृत्वमा गठबन्धनको निर्वाचन तयारी र अनुगमन समिति गठन गरेको थियो ।
पौडेल संयोजकत्वमा पाँचै दलका प्रतिनिधि रहेको दश सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समितिमा कांग्रेसबाट महामन्त्री गगन थापा र ज्ञानेन्द्र कार्की, माओवादीबाट वर्षमान पुन र देवप्रसाद गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र उपमहासचिव विजय पौडेल, जसपाबाट अशोक राई र रेणु यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्यका रूपमा रहेका छन् । समितिलाई शीर्ष नेताहरूको निर्देशनअनुसार निर्वाचनको तयारी र अनुगमन गर्ने, टिकट वितरण गर्ने, उम्मेदवारको मापदण्ड र विवाद निरुपणलगायत विषयमा निर्णय गर्ने जिम्मेवारी रहेको छ ।
२३ चैतमा समितिको बैठकले उम्मेदवारको मापदण्डबारे छलफल सुरु गरेको थियो । समितिको बैठकले २६ चैतभित्र गठबन्धनको शक्ति र अवस्थाबारे प्रतिवेदन पेस गर्न स्थानीय संयन्त्रलाई निर्देशन दिएको थियो ।
सत्तासाझेदार पाँच दलले स्थानीय तह निर्वाचनमा अधिकतम सिटमा जित हासिल गर्ने रणनीतिसहित तालमेल गरेर जाने निर्णय गरेका थिए । एमालेले जितेका सिट हात पार्ने मुख्य रणनीतिसहित गठबन्धनले शक्तिसन्तुलनको अध्ययन गर्न पालिकास्तरसम्म संयन्त्र बनाएको थियो ।