प्रधानमन्त्री देउवाले सरकार गठन भएको आठ महिनापछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा दिलेन्द्रप्रसाद बडूलाई नियुक्त गरेका छन्, साना तथा मझौला उद्योग महाशाखा गठन गर्ने मन्त्रीको पहिलो निर्णय
सरकार गठन भएको आठ महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्ति गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा दिलेन्दप्रसाद बडूलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त गरेकी हुन् । बडू यसअघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री थिए ।
केपी ओली नेतृत्वको सरकार ढलेपछि गत २९ असारमा देउवा प्रधानमन्त्री बने । प्रधानमन्त्री भएको झन्डै तीन महिनापछि देउवाले २२ असोजमा मन्त्रिपरिषद् विस्तार गर्दै गजेन्द्रबहादुर हमाललाई उद्योगमन्त्रीमा नियुक्ति गरे । तर, हमाललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटामा मन्त्री बनाइएको भन्दै विरोध भयो । चौतर्फी विरोध र आलोचना भएपछि नियुक्ति पाएको दुई दिनमै हमालले राजीनामा गरे । त्यसयता प्रधानमन्त्री आफैँले उद्योग मन्त्रालय सम्हाल्दै आएका थिए ।
विभागीय मन्त्री नहुँदा उद्योग वाणिज्य क्षेत्रका नीतिगत निर्णय रोकिएका थिए । मन्त्रीले अध्यक्षता गर्ने औद्योगिक प्रवद्र्धन बोर्ड तथा गुणस्तर परिषद्का बैठकहरू बस्न सकेका थिएनन् । लामो समय विभागीय मन्त्री नियुक्ति नहुँदा समस्या भएको भन्दै निजी क्षेत्रले समेत उद्योग वाणिज्यमन्त्री नियुक्ति गर्न प्रधानमन्त्रीसँग आग्रह गर्दै आएका थिए । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले समेत विभागीय मन्त्री नियुक्ति नहुँदा समस्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो । सार्वजनिक दबाब र आलोचनाकै बाबजुद उद्योग वाणिज्य मन्त्रालय आफैँले सम्हाल्दै आएका देउवाले अन्ततः आफ्नै पार्टीका नेतालाई जिम्मा दिएका हुन् ।
एकातर्फ उच्च आयातका कारण मुलुकको अर्थतन्त्रमै संकटोन्मुख भएको छ भने अर्कातर्फ परनिर्भरता झन्–झन् बढ्दै गएको छ । रुस–युक्रेन युद्धले विश्व बजारमा महँगीसमेत बढेको छ, जसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा समेत देखिइसकेको छ । संकटका वेला उद्योग वाणिज्य मन्त्रालय सम्हाल्न आइपुगेका नवनियुक्त मन्त्री बडूले थुप्रै चुनौतीको सामना गर्नुपर्ने देखिन्छ ।
व्यापार सन्तुलनमा नवनियुक्त मन्त्रीको जोड
नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बिहीबार नै पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै मन्त्री बडूले साना तथा मझौला उद्योग महाशाखा गठन गर्ने र त्यसको छुट्टै नीति–निर्माण गर्ने निर्णय गरेका छन् । त्यस्तै, ओ एन्ड एम अध्ययनका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णयमा समेत हस्ताक्षर गरे । मन्त्री बडूले पदभार ग्रहणलगत्तै मन्त्रालयमा सचिवहरूबाट ब्रिफिङ लिएका थिए । उद्योग सचिव अर्जुनप्रसाद पोखरेल र वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेयले मन्त्रालयका विषयमा ब्रिफिङ गरेका थिए ।
यसैगरी मन्त्री बडूले कोरोना महामारीले शिथिल बनेको अर्थतन्त्र पुनः चलायमान हुन थालेको र मुलुकको अर्थतन्त्रसँग जोडिएको मन्त्रालयका तात्कालिक र दीर्घकालीन समस्या एवं चुनौती सबै मिलेर समाधान गर्नुपर्ने बताए । उनले आयात र निर्यातको चेन सन्तुलनका लागि तात्कालिक र दीर्घकालीन योजना निर्माण गरेर अघि बढ्ने बताए । ‘व्यापार घाटा कम गर्नुपर्नेछ, आयात–निर्यातको चेन सन्तुलन बनाउनुपर्नेछ,’ उनले भने, ‘सबै मिलेर यी कामहरू गर्नुपर्नेछ, यसमा के–के गर्नुपर्ने हो ? मलाई जानकारी गराउनुहोस् ।’
आपूर्ति प्रणाली सुधार गर्ने योजना दिन निर्देशन
नवनियुक्त मन्त्री बडूले पदभारपछिको ब्रिफिङ कार्यक्रममा बोल्दै अहिलेको आपूर्ति प्रणालीको समस्या र चुनौतीको समाधानका लागि तत्काल के–के गर्नुपर्ने हो ? त्यसको योजना दिन सचिवहरूलाई निर्देशन दिएका छन् । ‘अहिलेको आपूर्ति प्रणालीको समस्या र चुनौतीको समाधानका लागि तत्काल गर्नुपर्ने कामहरू के–के हुन् ? मलाई जानकारी गराउनुहोस्, योजना दिनुहोस्,’ उनले भने, ‘जनताले अनुभूति हुने गरी काम गर्नुपर्छ, म नेतृत्व र नीतिगत रूपमा गर्नुपर्ने सम्पूर्ण काम गर्न तयार छु ।’