काठमाडाैं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले भारतीय समकक्षी पीयूष गोयलसँगको भेटमा बिएसआई मापदण्डको प्रयोगशाला नेपालमै स्थापनाका लागि सहयोग गर्न आग्रह गरेका छन् । नेपाली उद्योगले भारतीय बजारमा प्रवेश गर्दा गुणस्तर प्रमाणीकरण तथा भारतीय मानक ब्युरोको प्रमाणपत्र प्राप्त गर्न भोग्नुपरेका प्रक्रियागत जटिलता, समय र लागतसम्बन्धी समस्याहरू उनले गोयलसमक्ष राखेका छन् । खासगरी नेपाली सिमेन्ट, स्टिल, प्लाइउड, जुत्ता, धागो तथा अन्य औद्योगिक उत्पादनको प्रमाणीकरण प्रक्रियालाई सरल, सहज र समयबद्ध बनाउनुपर्ने मन्त्री साहको प्रस्ताव थियो ।
गोयलले मन्त्री साहको प्रस्तावलाई सकारात्मक रूपमा लिएको उनको सचिवालयले जनाएको छ । मन्त्री साहको प्रस्तावलगत्तै गोयलले नेपालमै अन्तार्राष्ट्रिय मापदण्डअनुसारको प्रयोगशाला स्थापनाका लागि आवश्यक सहयोग प्रक्रिया अघि बढाउन कर्मचारीलाईै निर्देशन दिएका छन् । नेपालमै अन्तर्राष्ट्रियस्तरको गुणस्तर परीक्षण तथा प्रमाणीकरण सुविधा उपलब्ध भएमा नेपाली उद्योगहरूले भारतमा निर्यात गर्दा लाग्ने परीक्षण खर्च, समय र प्रक्रियागत झन्झट कम हुने तथा नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न सहयोग पुग्छ ।
मन्त्री साह र गोयलबिच ३१औँ साझेदारी शिखर सम्मेलनका क्रममा भारतको विशाखापट्टनममा भेट भएको हो । उक्त भेटमा नेपाल–भारतबिचको व्यापार, पारवहन, औद्योगिक सहकार्य, लगानी प्रवर्द्धन, गुणस्तर प्रमाणीकरण तथा नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँचलगायतका महत्वपूर्ण विषयमा विस्तृत छलफल भएको थियो ।
बैठकमा नेपालका लागि भारतका धाम्रा (ओडिसा) र मुन्द्रा (गुजरात) बन्दरगाहलाई थप पारवहन सुविधाका रूपमा उपलब्ध गराउने, नेपाल–भारत व्यापार सन्धिको पुनरवलोकन प्रक्रिया अघि बढाउने तथा काँकडभिट्टा–फूलबारी–बंगलाबन्धा मार्गमा नेपाली मालवाहक सवारीसाधनले भोग्दै आएका अतिरिक्त भारवहन प्रतिबन्ध र ढुवानीसम्बन्धी अवरोध हटाउने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ ।
त्यसैगरी, कोलकाता बन्दरगाहमा नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको भाडा सम्झौतामा रहेको जग्गा नवीकरण वा उपयुक्त वैकल्पिक जग्गा उपलब्ध गराउने विषय पनि मन्त्री साहले उठाएका थिए ।