ट्युसन पढ्न विद्यालय हिँडेकी बालिकाको हत्या

बुधबार, २३ चैत, २०७८
डिजिटल संस्करण
ट्युसन पढ्न विद्यालय हिँडेकी बालिकाको हत्या

कविताको हत्या भएको स्थान

दाइसँग मिलेर सहपाठीले नै हत्या गरेको प्रहरी भनाइ, दुवै पक्राउ

उदयपुरमा मंगलबार बिहान ट्युसन पढ्न घरबाट विद्यालय हिँडेकी बालिकाको बाटैमा हत्या भएको छ । हत्या आरोपमा प्रहरीले सहपाठी र उनका दाइलाई पक्राउ गरेको छ । बेलका नगरपालिका– ३ की १६ वर्षीया कविता सुनुवारको हत्या भएको हो । प्रहरीले कवितासँगै विद्यालय जाउआउ गर्ने सहपाठी १६ वर्षकै सरिता ढकाल खत्री र उनका दाइ १९ वर्षीय विनोद ढकाल (ठूलो बुबाका छोरा)लाई पक्राउ गरेको छ । विनोदसँग मिलेर सरिताले हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

कविता र सरिता स्थानीय कोसी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययन गर्थे । एक किलोमिटर दूरीभित्रै घर भएका उनीहरू सधैँझैँ मंगलबार बिहान पनि प्रवेशिका परीक्षाको ट्युसन पढ्न सँगै विद्यालय गएका थिए । प्रहरीका अनुसार विनोद पनि बहिनी सरितालाई विद्यालय पुर्याउन भन्दै घरबाट निस्किएका थिए । बाटोमा विवाद भएपछि सरिताले दाइसँग मिलेर कविताको हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवासचन्द्र बोहराले बताए । 

‘कविता प्रवेशिका परीक्षाका लागि ट्युसन पढ्न मंगलबार बिहान साथी सरितासँगै घरबाट निस्केकी र विनोद पनि सरितालाई स्कुलसम्म पुर्याउन भन्दै सँगै गएको खुलेको छ,’ उनले भने, ‘जाँदाजाँदै बाटैमा विवाद भएपछि रक्सीको बोतल र ढुंगाले हानेर हत्या गरेको विनोदले स्विकारेका छन् ।’ हत्यामा प्रयोग भएको बियरको बोतलका टुक्रा र ढुंगा पनि बरामद गरिएको र मृतकको शव पोस्टमार्टमका लागि पठाएको एसपी बोहराले बताए । प्रहरीले उनीहरूबीचको मनमुटावको कारण भने खुलाएको छैन । ‘आरोपीसँग बयान लिन बाँकी छ । झगडाको कारण के थियो बयान लिएपछि मात्रै खुल्छ । थप अनुसन्धान जारी छ,’ एसपी बोहराले भने । 

बिहान ६ बजेतिर घरबाट निस्किएकी कवितालाई स्थानीयले ७ बजेतिर मृत अवस्थामा देखेका थिए । घरभन्दा करिब दुई किलोमिटर टाढा बाटोनजिकै खोल्साकिनारमा शव भेटिएको थियो । ‘टाउकोभरि बोतल र ढुंगा प्रहार गरिएको थियो । सुरुमा त हामीलाई शव पहिचान गर्नै गाह्रो भयो, पछि स्कुलको ब्याग फेला पारेपछि कविता नै भएको पुष्टि गरेर प्रहरीलाई खबर गर्यौँ,’ विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश बस्नेतले भने । 

कविताका पिता कृष्ण सुनुवार भन्छन्–‘डाक्टर बनाउँछु भनेको छोरी गुमाएँ’
कृष्णका दुई छोरी र एक छोरा थिए । अब कान्छी छोरी कविता रहिनन् । जेठी छोरीको विवाह भइसकेको छ, छोरा सानै छन् । कवितालाई डाक्टर बनाउने उनको रहर थियो । ‘खेती–किसानी गरेर ८ कक्षासम्म गाउँकै बोर्डिङ स्कुलमा पढाएको थिएँ । ९ कक्षामा पुगेपछि सरकारीमा राखेँ । उनको पढाइ राम्रो भएकाले डाक्टर बनाउने मेरो सपना थियो । जग्गा बेचेर भए पनि पढाउने सोच थियो । अब सबै सपना टुट्यो,’ कृष्णले भने । साथीभाइसँग झर्कोफर्को नगर्ने, पढाइमा चलाख र अनुशासित भएकाले शिक्षक–शिक्षिकाले पनि मन पराउने छोरीको झगडा भएर साथीले नै हत्या गरेको सुन्दा कृष्ण पनि आश्चर्यमा परेका छन् । ‘छोरी त झगडा गर्ने स्वभावकी थिइन । तर, आज झगडाकै कारण हत्या भयो भन्ने छ । झगडाको विषय के हो भन्ने खुलाएका छैनन्,’ उनले भने, ‘आरोपीलाई पक्राउ गरेको छ, अनुसन्धान गरेर भन्ला नि !’

शिक्षकहरू भन्छन्– कविता र सरिताबीच मनमुटाव भएको थाहा छैन 
मनमुटावकै कारण कविताको हत्या सहपाठी सरिताले गरेको प्रहरी भनाइपछि शिक्षकहरू आश्चर्यमा परेका छन् । उनीहरू निकै मिल्ने साथी भएको र कहिल्यै मनमुटाव भएको थाहा नपाएको शिक्षक अशोक माझीले बताए । ‘मृतक कविता, पक्राउ परेकी सरिता र अर्की विद्यार्थी अनिता कटुवाल निकै मिल्ने साथी हुन् । सधैँ तीनजना सँगै विद्यालय आउँथे, एउटै बेन्चमा बस्थे,’ उनले भने, ‘आज कसरी त्यस्तो घटना भयो ! अनिता पनि सँगै रहिनछिन् ।’ प्रधानाध्यापक सूर्यनारायण साहले पनि दुई छात्राबीच झगडा भएको कहिल्यै नसुनेको बताए । 

See More On

सुझावित समाचार