पुटिनले सुरु गरेको युद्धले ‘चीनको युरेसियन रेलवे सपना’लाई तुहाइदियो । यो गत महिना ‘फरेन पोलिसी’मा प्रकाशित समाचारको शीर्षक हो । यसबीच युनिभर्सिटी अफ नर्थ टेक्सासका नथन हड्सन त्योभन्दा पनि चर्चित रिपोर्टमा झन् कठोर देखिन्छन् : ‘युद्धका कारण बेइजिङको व्यापार राजस्व गुम्दै छैन, उसको पूर्वाधारमाथिको ठूला लगानी पनि प्रत्युपादक हुँदै छ ।’ यस प्रकारका रिपोर्टहरू गलत छन् ।
निश्चित रूपमा अहिले चीनको पश्चिमी सिमानामा लामो समयदेखि उपेक्षित मध्य–एसियाली अर्थतन्त्रलाई खुला गराउने विश्वास गरिएको युरेसियन रेल लिंकमा यातायात अवरुद्ध भएको छ । निःसन्देह, युक्रेनमा जारी रुसी आक्रमणले विश्वभर ठूलो आर्थिक क्षति पु¥याइरहेको छ । कैयौँ देशले जिडिपी पूर्वानुमान कटौती गरिरहेका छन् । विश्वव्यापीकरण पनि जोखिममा परेको छ । चीन र सिल्क रोडमा मध्य एसियाली अर्थतन्त्रहरू पनि पीडित हुनेछन् । तर, युक्रेन युद्धबाट बेल्ट एन्ड रोड इनिसिएटिभ मात्र प्रभावित हुन्छ भन्ने सन्देश प्रवाह गर्नु गलत हुन्छ ।
रुसको आक्रमणले झन् राष्ट्रपति सी जिनपिङले विश्वभरका चीनका आर्थिक साझेदारहरूसँग बलियो पूर्वाधार सम्बन्ध विकास गर्ने पहललाई ठीक ठह¥याएको छ । अचानक बढेको असुरक्षामाझ यो सडक सञ्जालले महत्वपूर्ण स्थिरता प्रदान गर्न सक्छ । बिआरआईको सम्बन्धमा गरिने पहिलो त्रुटि यसलाई एक वा दुई वर्षको लगानी योजनाका रूपमा सोच्नु हो । बेल्ट एन्ड रोड इनिसिएटिभ विश्वसँगको चीनको सम्बन्ध (विशेष युरेसियाली भूभाग र अफ्रिकासँगको) को सय वर्षको परिकल्पना हो ।
विगत पाँच दशकमा चीनले हासिल गरेको सफलता धेरै हदसम्म पूर्वाधार विकासमा आधारित रहेको तथ्यमा ध्यान दिएर विकासशील अर्थतन्त्रलाई पनि बलियो पूर्वाधार चाहिन्छ भन्ने विश्वासबाट बिआरआई प्रेरित छ । युरेसियन रेलवे एक आश्चर्यजनक रूपमा सफल देखिन्छ । गत वर्ष चीन र २३ युरोपेली देशका १५० सहरबीच अनुमानित १५ लाख कन्टेनरहरू ओसारपसार गरियो । महामारीले समुद्री र हवाई यातायात अवरुद्ध भएको समयमा यस भेगबाट चीन र युरोपबीच कुल व्यापारको ६–८ प्रतिशत व्यापार भयो ।
युक्रेनको आक्रमणले निःसन्देह युरेसियाली मार्गमा आवागमनमा बाधा पु¥याउनेछ, तर यसले दीर्घकालीन असर गर्छ भनेर सोच्नु गलत हुनेछ । बेइजिङका लागि युरेसियन रेलमार्ग विश्व बजारमा चीनको व्यापारिक पहुँचलाई विविधीकरण गर्ने विभिन्न परियोजनामध्ये एक हो । यी परियोजनामार्फत चीनले मलाका स्ट्रेट र स्वेज नहरमाथिको निर्भरता कम गर्ने र तत्कालका लागि देशमा चरम अभाव रहेको सामग्रीको आपूर्ति सुरक्षित गर्न चाहन्छ । यसमा विश्वभर दुई हजार ६३१ परियोजना समावेश छन्, जसको कुल मूल्य ३७ खर्ब डलर रहेको अनुसन्धान समूह रिफाइनिटिभको तथ्यांकले देखाउँछ ।
यस रणनीतिमा म्यानमार र लाओस हुँदै अघि बढ्ने दक्षिणपूर्वी एसियाका परियोजनाहरू, पाकिस्तान हुँदै खाडी मुलुकको नजिक रहेको ग्वादर बन्दरगाहसम्म, अफ्रिकाभरका परियोजना र उत्तरी युरोप जाने ध्रुवीय सिल्क रोड पनि समावेश छ । चीनका लागि काजकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानजस्ता अर्थतन्त्रहरूमा फैलिएका परियोजनाको पनि ठूलो रणनीतिक महत्व छ । तिनले लामो समयदेखि उपेक्षित क्षेत्रमा स्थायित्व सुनिश्चित गर्ने लक्ष्य बोकेका छन् । ती क्षेत्र इस्लामिक अतिवाद तथा हिंसाको उर्वरभूमि मानिँदै आएको छ । त्यस भेग र चीनको पश्चिमी सिनजियाङ क्षेत्र जोडिएकाले मध्य एसियाको स्थायित्व चिनियाँ स्वार्थको पक्षमा छ । रुसी र युक्रेनी वार्ताकारहरू गत साता इस्तानबुलमा भेटिरहँदा चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानका मध्य एसियाली छिमेकी मुलुक सम्मिलित बैठकको नेतृत्व गरिरहेका थिए । त्यसको एक साताअघि यी पाकिस्तानमा आयोजित इस्लामिक सहयोग संगठनको बैठकमा अतिथि थिए । सो बैठकमा रुसी विदेशमन्त्री सर्गेई लाभरोभ पनि सहभागी थिए । यसले ऐतिहासिक रूपमा रुसी साम्राज्यको हिस्सा रहेको मध्य एसियामा चीन र रुसबीचको नाजुक सन्तुलनलाई देखाउँछ ।
पछिल्लो समय चीनले जटिल सन्तुलनकारी भूमिका निभाउनुपरेको छ । एकातर्फ ऊमाथि भ्लादिमिर पुटिनको आलोचना गर्ने र प्रतिबन्ध लगाउनुपर्ने दबाब छ भने अर्कातर्फ रुससँगको तीन हजार ६०० किलोमिटर लामो सिमानामा निगरानी गर्ने जिम्मा पनि छ । युरोपका नेटो मित्रशक्तिहरू अस्थिर र अविश्वसनीय पुटिनविरुद्ध सुरक्षा घेरा थप्ने आवश्यकतामा रस्साकस्सी गरिरहँदा बेइजिङ पुटिनलाई नचिढ्याई मध्य एसियामा आफ्नो बढ्दो शक्ति प्रवद्र्धन गर्न उत्तिकै व्यस्त थियो । हार्वर्ड विश्वविद्यालयकी जिन विल्सनले गत वर्ष मध्य एसियामा चीन–रुस प्रतिद्वन्द्विताबारे एउटा विचारणीय शोध लेखेकी थिइन्, जसको निचोड थियो ः रुस र चीनले मध्य एसियामा सहकार्यात्मक साझेदारभन्दा पनि स्वतन्त्र शक्तिजसरी काम गरिरहेका छन् । उनका अनुसार चीनको अर्थतन्त्र रुसको भन्दा ठूलो भएकाले बेइजिङले ‘रुसलाई विशेषतः मध्यपूर्वमा बेवास्ता गर्न थालेको’ छ । र, विल्सनका अनुसार रुसको समस्या के हो भने ‘चीनलाई जति रुसको आवश्यकता छ, त्योभन्दा बढी उसलाई चीनको आवश्यकता छ ।’
भलै चीनलाई युरोपजस्तो रुसी आक्रमणको डर नहोला, तर पुटिनको सैन्यवादी प्रवृत्तिले अन्तर्राष्ट्रिय स्थायित्व र विश्वव्यापी आर्थिक सहयोगलाई खतरामा पारेको छ, जुन चीनको दीर्घकालीन विकास योजनाका लागि महत्वपूर्ण छ । पुटिनलाई पश्चिमसँगको आर्थिक सम्बन्ध टुट्दा डराउनुपर्ने धेरै नहोला, तर चीनले यस्तै सोच्न सक्दैन । यस दृष्टिकोणबाट हेर्दा बेल्ट एन्ड रोड नेटवर्कले अस्थिर संसारमा एक महत्वपूर्ण किल्लाको काम गर्छ । युरेसियन रेलसेवाका केही कन्टेनर वाहनको आवागमन कम हुनुले बेइजिङमा छटपटी सिर्जना गर्दैन । साउथ चाइना मर्निङ पोस्टबाट