जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले मलेसियालाई ८५ रनले पराजित गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले दिएको २२४ रनको लक्ष्य पछ्याएको मलेसिया १९.५ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमा समेटिएपछि ८५ रनको फराकिलो अन्तरले नेपाल विजयी भएको हो ।
मलेसियाका लागि वीरनदीप सिंहले सर्वाधिक ४७ रन बनाएका थिए । नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३, कमलसिंह ऐरीले २ तथा कुशल भुर्तेल र रोहित पौडेलले समान १ विकेट लिए । ५७ बलमा ११० रन बनाएका दीपेन्द्रसिंह ऐरीले बलिङतर्फ ३ ओभरमा २४ रन खर्चेर २ विकेट लिए ।
टस हारेर सुरुवाती ब्याटिङ गरेको नेपालले ऐरीको शतकीय इनिङको मद्दतमा निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २२३ रन जोडेको थियो । फाइनल खेल साेमबार नेपाल र पपुवा न्युगिनीबीच हुनेछ ।