कांग्रेसले वस्तुस्थितिको विश्लेषण गरेर गठबन्धन र उम्मेदवार चयनको रणनीति बनाउने

कांग्रेसले मगायो पालिका, जिल्ला र प्रदेश समितिमार्फत विवरण

शनिबार, १९ चैत, २०७८
डिजिटल संस्करण

आसन्न स्थानीय निर्वाचनका लागि गठबन्धन र उम्मेदवार चयनको अन्तिम रणनीति बनाउन कांग्रेसले पालिका, जिल्ला र प्रदेश कमिटीमार्फत वस्तुस्थितिको विवरण मगाएको छ । सबै तहको विवरणको विश्लेषण गर्ने र यसपछि पार्टीको निकायले उम्मेदवार सिफारिसबारे निर्णय लिने गरी कांग्रेस केन्द्रले पालिका, जिल्ला र प्रदेशबाट विवरण मगाएको हो । 

कांग्रेसले २२ चैतभित्र वडादेखि जिल्ला तहसम्मको वस्तुस्थिति विवरण पठाउन निर्देशन गरेको हो । १५ चैतमा केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णय र १७ चैतमा पाँचदलीय गठबन्धनको निर्णयअनुसार सातै प्रदेश कार्यसमिति, ७७ वटै जिल्ला कार्यसमिति र सात सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरेको हो । 

‘०७४ को स्थानीय तह निर्वाचनमा पार्टीको स्थिति के थियो र अहिले सबै दलको अवस्था के–कस्तो छ भन्ने विवरण माग गरिएको हो । पहिला एकल पार्टीहरूको अवस्था के छ, गठबन्धनमा रहेका दलको कोसँग गठबन्धन गर्दा के हुन्छ र एमालेलगायत प्रतिस्पर्धी दलको अवस्था के छ भन्नेबारे विवरण मागिएको हो,’ कांग्रेस केन्द्रीय कार्यालय सचिव केशव रिजालले भने, ‘सबै तहको विवरण संकलन गरेर विश्लेषण गर्न लागिएको हो । यसपछि पार्टीको निकायले उम्मेदवार सिफारिसबारे निर्णय लिन्छ ।’

परिपत्रमा कांग्रेसको संयोजकत्वमा जिल्ला र स्थानीय तहको सत्तागठबन्धन दलका सभापतिको बैठकमार्फत विवरण संकलन गरी प्रतिवेदन पेस गर्न भनिएको छ । ‘सरकारमा सहभागी गठबन्धनमा रहेका दलहरूबीच स्थानीय अवस्था र आवश्यकताअनुरूप तालमेल गर्ने केन्द्रीय कार्यसमितिको १५ चैतको निर्णय र १७ चैतमा पाँचदलीय गठबन्धनको निर्णयअनुसार कांग्रेसका पालिका र जिल्ला सभापतिको अध्यक्षतामा गठबन्धन दलका प्रमुखको बैठक राख्न र दलगत सांगठनिक अवस्था र राय–सुझावसहितको प्रतिवेदन केन्द्रमा पठाउन निर्देशन गरिन्छ,’ परिपत्रमा छ ।

परिपत्रमा अध्ययन र विश्लेषणसँगै सुझावसहितको प्रतिवेदन केन्द्रमा पठाउन निर्देशन गरिएको छ । प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिलाई पठाउन भनिएको छ । 

त्यसैबीच, कांग्रेसले प्रवक्ता डा. प्रकाशशरण महत संयोजकत्वको ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’लाई पूर्णता दिएको छ । सूचना अधिकारी केशव रिजालका अनुसार पार्टी सभापति देउवाले भारत भ्रमणमा जानुअघि समितिलाई पूर्णता दिएका हुन् । 

पालिका कार्यसमितिमार्फत मगाइएको विवरण

  •  ०७४ मा भएको स्थानीय तह निर्वाचनमा हाल गठबन्धनमा रहेका दलहरूको पालिका र वडाहरूमा प्राप्त मतको अवस्थाको विवरण
  •  पालिकाभित्र ०७४ को स्थानीय तह निर्वाचनमा एमाले तथा अन्य प्रतिस्पर्धी दलकोे प्राप्त मतको अवस्था
  •  पालिकाभित्र गठबन्धनमा रहेका दलहरूको अलग–अलग वर्तमान सांगठनिक अवस्था र मतभारको प्रतिशत 
  •  पालिकाभित्र गठबन्धनमा रहेका दलहरूको संयुक्त वर्तमान सांगठनिक अवस्था र मतभारको प्रतिशत
  •  पालिकाभित्र एमाले तथा प्रतिस्पर्धी अन्य पार्टीको वर्तमान सांगठनिक अवस्था र मतभारको प्रतिशत

जिल्ला कार्यसमितिमार्फत मगाइएको विवरण

  •  ०७४ मा भएको स्थानीय तह निर्वाचनमा गठबन्धनमा रहेका दलहरूको जिल्ला समन्वय समितिमा, जिल्लाभित्रका सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडाहरूमा प्राप्त मतको अवस्था
  •  ०७४ को स्थानीय तह निर्वाचनमा एमाले र हाल गठबन्धनमा नरहेका दलले प्राप्त गरेको मतको अवस्था
  •  गठबन्धमा रहेका दलहरूको अलग–अलग सबै स्थानीय तहमा रहेको वर्तमान सांगठनिक अवस्था र मतभारको प्रतिशत
  • गठबन्धनमा रहेका दलहरूको संयुक्त वर्तमान सांगठनिक अवस्था र मतभारको प्रतिशत
  • एमाले तथा प्रतिस्पर्धी अन्य पार्टीको वर्तमान सांगठनिक अवस्था र मतभारको प्रतिशत

प्रदेश कार्यसमितिमार्फत मगाइएको विवरण

  •  ०७४ मा भएको स्थानीय तह निर्वाचनमा गठबन्धनमा रहेका दलहरूको जिल्ला, पालिका, वडाहरूमा प्राप्त मतको अवस्था
  •  ०७४ को स्थानीय तह निर्वाचनमा एमाले र हाल गठबन्धनमा नरहेका दलले प्राप्त गरेको मतको अवस्था
  •  गठबन्धमा रहेका दलहरूको अलग–अलग सबै स्थानीय तहमा रहेको वर्तमान सांगठनिक अवस्था र मतभारको प्रतिशत
  •  गठबन्धनमा रहेका दलहरूको संयुक्त वर्तमान सांगठनिक अवस्था र मतमारको प्रतिशत
  •  एमाले तथा प्रतिस्पर्धी पार्टीको सांगठनिक अवस्था र मतभारको प्रतिशत

सुझावित समाचार