प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस गठबन्धन गरेरै अघि बढ्ने पक्षमा रहेको बताएका छन्। बिहीबार रिपोर्टर्स क्लबको २४औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।
आफ्नो पार्टी कुनै पनि अवस्थामा गठबन्धनको विपक्षमा नरहेको बताउँदै उनले गठबन्धनबाट अझै सरकारलाई सशक्त र एकताबद्ध बनाएर अघि बढ्ने आश्वस्त पारे।
प्रधानमन्त्री देउवाले भने, ‘अहिले गठबन्धनको कुरा उठेको छ। हाम्रो पार्टीले गठबन्धनलाई सँगै लाने निर्णय गरेको छ। यसमा दुईमत छैन। हाम्रो पार्टी कुनै पनि हालतमा गठबन्धनको विपक्षमा छैन। वास्तवमा भन्ने हो भने सबै अरू पार्टीका नेताहरूले सहयोग गर्नुभएको छ। उहाँहरूले गर्नुभएको सहयोगलाई अझ बढी हामी एकताबद्ध रूपमा अघि बढाउनेछौँ। गठबन्धन अगाडि बढ्नेछ भन्ने विश्वास दिलाउन चाहन्छु। अफ्ठ्यारोलाई फुकाउने र मिलाउने काम राजनीतिक दलहरूको हो, भाग्ने काम होइन नि। हामी अफ्ठ्यारोलाई समाधान गरेर अघि बढ्छौँ।’
प्रधानमन्त्री देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा प्रतिबद्ध रहेको बताए। प्रविधिको विकाससँगै पछिल्लो समय मिथ्या र भ्रामक समाचार र सूचना बढ्न थालेकोप्रति दुःख व्यक्त गर्दै उनले मिथ्या र भ्रामक समाचारले सबै ठाउँमा शंका उत्पन्न गराउने उल्लेख गरे। मिथ्या र भ्रामक समाचार निराकरण गर्न सरकार, राजनीतिक दल र सञ्चारकर्मीहरूको पहल हुनु आवश्यक रहेको उनले बताए।