बदलिन नसकेको मानसिकता

नाबालिका गायिका बलात्कारसम्बन्धी मुद्दामा अभियुक्तको पक्षमा नाराबाजी र पीडितमाथि गालीगलौज गरेको देख्दा हाम्रो समाजको पितृसत्तात्मक सोच बदलिन नसकेको प्रस्ट हुन्छ ।

बुधबार, १६ चैत, २०७८
डिजिटल संस्करण

मोरङको सुन्दर हरैँचा– ७, गणेशपुरकी १८ महिनाकी बालिकामाथि केही दिनअघि दुईजना पुरुषले घरबाट नजिकैको झाडीमा लगेर बलात्कारपछि हत्या गरे । नाबालिका छोरीलाई नदेखेपछि आमाले ठूली छोरीलाई खोज्न पठाइन् । खोज्दै जाने क्रममा गछिया खोला किनारमा रहेको झाडीमा उनले १८ महिनाकी बहिनीलाई बलात्कृत अवस्थामा भेटिन् ।

हिंस्रक स्वभावका पुरुषले गर्दा आज समाजमा कलिला छोरीहरू असुरक्षित भइरहेका छन् । आज प्रत्येक महिला सधैँको त्रास बोकेर बाँच्न बाध्य हुनुपरिरहेको छ । हामी पटक–पटक यौटै कुरा भन्छौँ– मान्छे शिक्षित भए भने यस्ता हिंस्रक घटना आफैँ कम हुन्छन् । शिक्षाले जीवनयापनमा सघाउला, धनआर्जनमा पनि सहयोग गर्ला, तर शिक्षाले मान्छेलाई चेतनशील भने बनाउँदो रहेनछ । निर्मला पन्तको बलत्कारपछि हत्या भयो । पीडितको न्यायका लागि सडकदेखि सदनसम तात्यो । तर, दोषीलाई पक्राउ गर्न राज्य अझै सफल भएको छैन । घटना अझै रहस्यमय छ । पछिल्लो समयमा बालिका, युवती, महिला र वृद्धाहरू आफ्नै बाबु, दाजुभाइ र आफन्तैबाट पनि जबर्जस्ती करणीमा परेका छन् ।

अझै पनि धेरै ठाउँमा घटनालाई दबाउने तथा उल्टै पीडितले सामाजिक अपहेलना व्यहोर्नुपर्ने अवस्था रहेकाले कैयौँ घटना बाहिर आउन सकेका छैनन् । देशैभरि महिला हिंसाका घटनाले निरन्तरता पाइरहेका समाचार सार्वजनिक भइरहँदा कमै पीडक मात्र कानुनी दायरामा आएका देखिन्छन् । आफ्नो पक्षमा फैसला भएर पनि कार्यान्वयनमा हुने अनावश्यक ढिलाइले यौनहिंसा पीडितहरूले न्यायको अनुभूति गर्न नसकेका घटना पनि धेरै नै छन् । 

अहिले नाबालिका बलात्कार अभियुक्त पल शाहलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । उनी पक्राउ परेदेखि नै उनको पक्षमा तथाकथित सेलिब्रिटीसहितको भिडले प्रस्ट पारेको छ, शिक्षाले मात्र मान्छेमा चेतना आउँदो रहेनछ । शाह कसुरदार हुन् कि होइनन् भन्ने त अदालतले निर्यण गर्ने विषय हो, तर खासगरी सामाजिक सञ्जाल फेसबुक, युट्युब र टिकटकमा पल शाह तथा ती नाबालिका गायिकाका पक्ष–विपक्षमा बहस, समर्थन, गालीगलौज भइरहेको देख्दा भने हाम्रो समाजको पितृसत्तात्मक सोचमा अझै सुधार हुन सकेकेको देखिन्न । यस घटनामा अभियुक्त शाहलाई भन्दा पीडित नाबालिकालाई गालीगलौज गर्नेहरू बलशाली देखिनु चिन्ताको विषय हो । 

मुलुकी अपराधसंहिताको दफा २१९ को (२)मा स्पष्टसँग व्याख्या गरिएको छ । १८ वर्षमुनिको व्यक्तिलाई नाबालिग भन्छ । नाबालिगसित मञ्जुरी लिएरै शारीरिक सम्बन्ध राखिए पनि त्यस्तो सम्बन्धलाई कानुनले जबर्जस्ती करणी नै मान्छ । 

बलात्कारका सम्बन्धमा सर्वोच्च अदालतबाट विभिन्न फैसला भएका छन् । पुनरावेदक–प्रतिवादी लोकबहादुर कार्कीसमेत विरुद्ध ‘ख’ कुमारी (नाम परिवर्तन)को जाहेरीले नेपाल सरकार प्रत्यर्थी–वादी रहेको मानव बेचबिखन, बालविवाह, जबर्जस्ती करणी मुद्दामा (नि.नं.९३४६) पीडितको उमेर बारदातको बखत १६ वर्षभन्दा कम रहेको अवस्थामा पीडितसँग प्रतिवादीले विवाद गरेको वा करणीका लागि सहमति जनाएको भन्नेजस्ता तर्कले कानुनी मान्यताप्राप्त गर्न नसकेको भनी व्याख्या भएको छ ।

नेपाल प्रहरीको तथ्यांक हेर्दा यस वर्ष ११ प्रतिशत (१८७ जना) महिलामाथि बलात्कार र दुई प्रतिशत (३६ जना) महिलामाथि बलात्कारको प्रयास भएको छ । ५६ प्रतिशत (१०४ जना) महिला छिमेकीबाट १५ प्रतिशत (२८ जना) परिवारका सदस्यबाट, १७ प्रतिशत (३१ जना) महिला आफूले आत्मीय ठानेका साथीबाट बलात्कृत भएका छन् । यसैगरी पाँच प्रतिशत (नौजना) साथीबाट, तीन प्रतिशत (पाँचजना) सेवा प्रदायक संस्थाका अधिकारीबाट, दुई प्रतिशत (चारजना) अविवाहित तर सँगै बसेका साथीबाट तीन प्रतिशत (६ जना) महिलामाथि अपरिचित व्यक्तिबाट बलात्कार भएको तथ्यांकले देखाएको छ । प्रभावित महिलामध्ये सबैभन्दा बढी ४५ प्रतिशत (८४ जना) बलात्कारका घटना १६ वर्षमुनिका बालिकामाथि भएको तथ्यांकमा उल्लेख छ ।

मुलुकी ऐनको महल १४ (जबर्जस्ती करणीको महल)अनुसार कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा २० वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मञ्जुरी लिई वा नलिई करणी गरेमा जबर्जस्ती करणी गरेको ठहरिनेछ । यसमा थप स्पष्ट पार्दै मुलुकी ऐन भन्छ, ‘डर, त्रास देखाई वा करकाप, अनुचित प्रभाव, झुक्यानमा पारी वा जोरजुलुम गरी वा अपहरण गरी, शरीर बन्धक राखी लिएको मञ्जुरीलाई मञ्जुरी मानिनेछैन ।’ यस्तै, ‘होस ठेगानमा नरहेको अवस्थामा लिइएको मञ्जुरीलाई पनि मञ्जुरी मानिनेछैन ।’

यसैगरी, दस वर्षभन्दा मुनिकी बालिकालाई जबर्जस्ती करणी गरेको ठहरिए १० देखि १५ वर्षसम्म, १० वर्ष वा सोभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिकालाई करणी गरिएमा आठदेखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधान छ । यस्तै, १४ देखि १६ वर्षभन्दा कम उमेरकी बालिका भए ६ वर्षदेखि १० वर्षसम्म, १६ वर्षदेखि २० वर्षसम्म उमेर समूहकी महिला भए पीडकलाई पाँच वर्षदेखि आठ वर्षसम्म, २० भन्दा बढी उमेरकी महिलालाई जबर्जस्ती करणी गरेको ठहरिए पाँचदेखि सात वर्षसम्म कैद सजाय हुने प्रावधान छ । यसका अतिरिक्त हाडनाता करणी र कसैले गर्भवती, अशक्त, अपांगता भएका वा होस ठेगानमा नरहेका वा आफ्नो संरक्षणमा रहेकी महिलालाई जबर्जस्ती करणी गरेको ठहरिए थप सजायको व्यवस्थासमेत गरिएको छ ।

हिंसामा परेका बालिका तथा महिलालाई लाञ्छना नलगाऔँ । आलोचना नगरौँ । जीवित पीडित र पीडितका परिवारलाई सहयोग गरौँ । नबिर्सौँ, जबसम्म पुरुष बलात्कारविरुद्धको अभियानमा उभिँदैन तबसम्म बलात्कार नियन्त्रण हुन सक्दैन । (गुप्ता कानुन अध्ययनरत छन्)

सुझावित समाचार