त्रिकोणात्मक टी–२० क्रिकेटमा मलेसियाको जित

बुधबार, १६ चैत, २०७८
डिजिटल संस्करण

त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगितामा मंगलबार मलेसियाले पपुवा न्युगिनीलाई आठ रनले पराजित गरेको छ । आयोजक नेपालसमेत सम्मलित सिरिजमा पपुवा न्युगिनीको यो लगातार दोस्रो हार हो ।नेपाल र मलेसियाले समान एक खेलबाट दुई अंक जोडेका छन् । बुधबार मलेसिया र नेपालबीच खेल हुनेछ । यसअघि सोमबार पपुवा न्युगिनी नेपालसँग १५ रनले पराजित भएको थियो ।

कीर्तिपुरको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको मलेसियाले २० ओभरमा तीन विकेट गुमाएर एक सय ८० रन जोडेको थियो । प्रत्युत्तरमा पपुवा न्युगिनीले १९.३ ओभरमा एक सय ७२ रन मात्रै बनायो । पपुवा न्युगिनीलाई अन्तिम ओभरमा १५ रन आवश्यक थियो । पहिलो ब्याटिङ गरेको मलेसियाको सुरुवात खराब रह्यो । इनिङ्सको ३.१ ओभरमा ओपनर जुवैदी जुल्किफ चार रनमा आउट भएका थिए ।

उनी आउट हुँदा मलेसियाले स्कोर बोर्डमा केवल १२ रन मात्र जोडेको थियो । त्यसपछि ओपनर विरन्दिप सिंह र कप्तान अहमद फैजले दोस्रो विकेटका लागि ६१ बलमा ९१ रनको विस्फोटक साझेदारी गरे । दुवैले मलेसियालाई १३.२ ओभरमा १०७–२ को बलियो स्थितिमा पुर्याए । कप्तान फेज भानुआको ओभरमा उराबाट क्याच आउट भए । कप्तान फेजले ३७ बलमा तीन छक्का र पाँच चौका प्रहार गरी ५६ रनको योगदान दिए । त्यसपछि विरन्दिप र सेद अजिजबीच तेस्रो विकेटका लागि ४० बलमा ७३ रनको अर्को बलियो साझेदारी भयो । जसका कारण मलेसिया १९.६ ओभरमा १८०–३ को बलियो अवस्थामा पुग्यो ।

भानुआले अजिजलाई ४७ रनमा आउट पारे । अजिजले २६ बलमा दुई छक्का र पाँच चौका प्रहार गरी ४७ रन जोडे । मलेसियाको ब्याटिङ इनिङ्समा ओपनर विरन्दिपले ५२ बल सामना गरी समान दुई चौका र छक्का प्रहार गरी ५९ रन जोडे । प्रत्युत्तरमा ब्याटिङ गरेको पपुवा न्युगिनीका लागि टोनी उरा र नोर्मान भानुआबीच मात्र गतिलो साझेदारी भएको थियो । यी दुवै ब्याट्सम्यानले पाँचौँ विकेटका लागि ४१ बलमा ७१ रनको साझेदारी गर्दै मलेसियामाथि दबाब राखेका थिए । 

दुवैले मलेसियालाई १११–५ को स्थितिमा राखेका थिए । टोनी मुनिआन्डीको ओभरमा आउट भए । टोनी आउट भएसँगै पपुवा न्युगिनीको जितको सम्भावना पातलिँदै गयो । टोनीले ३५ बलमा सात चौका र दुई छक्का प्रहार गरी सर्वाधिक ४५ रन जोडे । यसैगरी, भानुआले २५ बलमा दुई चौका र चार छक्काको सहयोगमा ४५ रन बनाए । सो इनिङमा सात ब्याट्सम्यानले दोहोरो रन नै बनाएनन् । 

सुझावित समाचार