शेखरलाई रिझाउँदै देउवा

बिहिबार, १० चैत, २०७८
डिजिटल संस्करण

शनिबार बस्ने केन्द्रीय समिति बैठकमा चुनावी अभियानको समीक्षा, चुनावी तालमेल, उम्मेदवार छनोटका लागि संसदीय समिति गठनलगायतका विषय एजेन्डामा छलफल गर्दै छ । यसको पूर्वसन्ध्यामा दुई नेताको संवादलाई कांग्रेसभित्र महत्वपूर्ण घटनाक्रमका रूपमा हेरिएको छ । 

इतर समूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइरालाको महत्वपूर्ण राजनीतिक मुभपछि सभापति शेरबहादुर देउवाले समेटेर लैजाने नीति लिएका छन् । कांग्रेसको १४औँ महाधिवेशनपछि इतरलाई बेवास्ता गर्दै आएका प्रधानमन्त्रीसमेत रहेका देउवाले पछिल्लो समय इतरसँगको संवाद र सहकार्य अगाडि बढाएका छन् ।

बुधबार कोइरालाले सभापति देउवालाई टेलिफोन सम्पर्क गरेका थिए । ‘म तपाईंलाई सहयोग गर्न चाहन्छु । तपाईंको हात बलियो बनाउन चाहन्छु । तपाईं सफल भएको हेर्न चाहन्छु, तर तपाईंले सबैलाई समेटेर अगाडि बढ्नुपर्छ । पार्टीमा सिनियर–जुनियर सबैलाई समेटेर जानुपर्छ,’ टेलिफोनमा सम्पर्कबारे कोइरालाको सचिवालयले नयाँ पत्रिकासँग भन्यो । जवाफमा देउवाले पार्टी सञ्चालनमा सबैलाई समेटेर र सरसल्लाह गरेरै अगाडि बढ्ने बताएका थिए ।

शुक्रबार बस्ने केन्द्रीय समिति बैठकमा चुनावी अभियानको समीक्षा, चुनावी तालमेल, उम्मेदवार छनोटका लागि संसदीय समिति गठनलगायतका विषय एजेन्डामा छलफल गर्दै छ । यसको पूर्वसन्ध्यामा दुई नेताको संवादलाई कांग्रेसभित्र महत्वपूर्ण घटनाक्रमका रूपमा हेरिएको छ । 

कोइरालानिकट नेता गुरुराज घिमिरे आवश्यकताका कारण पछिल्लो समय नेतृत्वले इतरको अस्तित्व स्वीकार गरेको बताउँछन् । महाधिवेशनको साढे दुई महिनासम्म इतरसँग कुनै सम्पर्क नगरेका देउवाले पछिल्लो समय पार्टीका महत्वपूर्ण विषयमा इतरसँग परामर्श गरिरहेका छन् । ९ फागुनमा देउवा र कोइरालाबीच संवाद भएपछि अहिले आवश्यकताका आधारमा छलफल भइरहेको कांग्रेस नेताहरूले बताएका छन् । 

नेता घिमिरेले पछिल्लो समय सभापति देउवाले कोइरालासँग महत्वपूर्ण विषयमा छलफल गरिरहेको बताए । ‘चुनावको सँघारमा छौँ, यो जीवनमरणको लडाइँ हो, यस्तो अवस्था पार्टीभित्रको आन्तरिक एकता सुदृढ बनाउने समय हो,’ उनले भने, ‘नेताहरूबीचमै वैमनस्यता रह्यो भने विपक्षीसँग कसरी सामना गर्ने ? पार्टीमा नेताहरूको एकता प्राथमिक सर्त हो । यस्तो अवस्थामा संवाद बढाउनु अहिलेको आवश्यकता नै हो । यसको जस सभापतिले नै पाउने हो, अहिलेको लक्षण राम्रो छ ।’ 

देउवानिकट केन्द्रीय सदस्य डिला संग्रौला पनि आवश्यकताका आधारमा दुई नेताबीच संवाद सुरु भएको र यसलाई सकारात्मक रहेको बताउँछिन् । ‘यसबाट सकारात्मक सुुुुुुुुुुुुुुुुुुरुवात भएको छ, महाधिवेशनको हार र जितलाई बिर्सेर पार्टीलाई एकताबद्ध बनाउनु अहिलेको आवश्यकता हो,’ उनले भनिन् । 

महाधिवेशनको लामोे समयसम्म पनि सभापतिमा दोस्रो मत पाएका कोइरालालाई देउवाले भेटेका थिएनन् । पार्टी सञ्चालका सम्बन्धमा देउवाले इतर समूहलाई बेवास्ता गर्दै आफूखुसी अघि बढेपछि इतर समूह रुष्ट बन्दै आएको थियो । तर, एमसिसी, निर्वाचनलागायतका महत्वपूर्ण विषयमा प्रभाव पर्ने देखेपछि सभापति देउवाले कोइरालालाई बालुवाटार बोलाएर छलफल गरेका थिए ।

गत ९ फागुनमा देउवाले बालुवाटारमा बोलाएर कोइरालासँग ३० मिनेट भेट गरेका थिए । भेटमा कोइराला र देउवाबीच पार्टी सञ्चालन, एमसिसी, स्थानीय तह निर्वाचनलगायतका विषयमा महत्वपूर्ण छलफल भएको थियो । भेटमा पार्टी सञ्चालन र महत्वपूर्ण विषयमा छलफल गरेर अगाडि बढ्ने सहमति बनेको थियो । 

कोइरालाले महाधिवेशनपछि अर्थपूर्ण भेटघाट र शक्ति अभ्यासलाई निरन्तरता दिएका थिए । यसैको पहिलो सुरुवात २१ पुसमा महाधिवेशनपछि पहिलोपटक काठमाडौंमा गुटभेलामार्फत उनले आफूलाई इतरको नेतृत्वमा उभ्याएका थिए । त्यसपछि २६ माघमा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरी एमसिसीलगाायत समसामयिक विषयमा छलफल गरेका थिए । २७ माघमा प्रचण्डलाई भेटेर कांग्रेस गठबन्धनको पक्षमा नरहेको अभिव्यक्ति दिएका थिए । त्यस्तै, फागुन १ मा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरी एमसिसीबारे छलफल गरेका थिए । 

टेलिफोनमार्फत देउवालाई शेखरको प्रश्न– भ्रातृ संस्थाबारे कार्यसम्पादन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ किन ?
बुधबार डा. कोइरालाले सभापति देउवालाई टेलिफोन गरी कार्यसम्पादन समितिको निर्णयअनुसार १० भ्रातृ संस्थाको तदर्थ समिति गठनमा भएको ढिलाइबारे प्रश्न गरेका थिए । त्यस्तै, दुई नेताबीच चुनावी गठबन्धन र निर्वाचनमा उम्मेदवार चयनका लागि संसदीय समिति गठनलगाायतका विषयमा छलफल भएको थियो । कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुुसार कोइरालाले सभापति देउवालाई टेलिफोन सम्पर्क गरी भ्रातृ संस्थाको तदर्थ समिति गठनमा भएको ढिलाइ र समसामयिक विषयमा छलफल भएको नयाँ पत्रिकालाई जानकारी दिए । 

नेविसंघ सभापतिमा शेर्पा, तरुण दलमा गुरुङ
नेपाल विद्यार्थी संघको अध्यक्षमा दुजाङ शेर्पा र नेपाल तरुण दलको अध्यक्षमा विद्वान गुरुङ नियुक्त भएका छन् । कांग्रेस सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समितिको ३ फागुनको निर्णयअनुसार उनीहरूलाई नियुक्त गरेका हुन् । केन्द्रीय कार्यसम्पादन समिति बैठकले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल महिला संघ र नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय समितिहरू भंग गर्ने निर्णय गरेको थियो । बैठकले केन्द्रीय समिति भंग भएका भातृ संस्थाको फागुन मसान्तभित्र तदर्थ समिति बनाउने निर्णय गर्दैै यसको जिम्मेवारी बैठकले सभापति देउवालाई दिएकोे थियो । तदर्थ समितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्ने जिम्मेवारी तोकेको छ । 

नेता पौडेल भन्छन्– निर्वाचनमुखी गठबन्धनले देशलाई उपलब्धि दिँदैन 
कांग्रेसका युवा नेता प्रदीप पौडेलले निर्वाचनमुखी गठबन्धनले मात्रै देशलाई उपलब्धि दिन नसक्ने बताएका छन् । राजनीतिशास्त्री समाजद्वारा बागबजारस्थित पद्मकन्या क्याम्पसमा बुधबार आयोजित ‘नेपालको वर्तमान राजनीतिक परिस्थितिमा दलीय गठबन्धनको औचित्य’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले भने, ‘चुनावमुखी गठबन्धनले चुनावमा जिताउन मात्रै काम गर्छ । निर्वाचनमुखी गठबन्धनले देशलाई उपलब्धि दिन सक्दैन । विचार, विषयसँग सामीप्यता भएको समाजवाद प्राप्ति र जनताका साझा एजेन्डा निर्माण गर्ने गठबन्धन आवश्यक छ ।’ 

रणनीति बनाउन इतर समूहको छुट्टै भेला
कांग्रेसको इतर समूहले संस्थापन पक्षको भूमिका हेरेर केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत हुने रणनीति तय गरेको छ । नेता शेखर कोइरालाले बुधबार कमलपोखरीमा राजधानीमा उपलब्ध पदाधिकारी र नेताहरूको भेला राखेका थिए । भेलामा निर्वाचन, केन्द्रीय समितिमा प्रस्तुत हुने रणनीतिलगाायतका विषयमा छलफल भएको नेता अर्जुननरसिंह केसीले बताए । स्थानीय निर्वाचनमा पार्टीमा भूमिका, केन्द्रीय समितिमा प्रस्तुत हुने विषयलगाायतका विषयमा छलफल भएको उनले बताए । ‘केन्द्रीय कार्यसमिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल भयो,’ उनले भने । भेलामा नेता शेखर, महामन्त्री गगन थापा, उपसभापति धनराज गुरुङ, नेता बलबहादुर केसी, डा. रामशरण महतलगायतका नेताहरू सहभागी बनेका थिए । 

सुझावित समाचार