नेपालको अजमेर सरिफ भनेर प्रसिद्ध महोत्तरीको रौजा मजार सरिफमा प्रत्येक वर्षझैँ यस वर्ष पनि उर्स(धार्मिक मेला) लागेको छ । प्रत्येक चैत महिनामा रौजा मजार विकास समितिले प्रसिद्ध बाबा गदाअली शाह, बाहार अली शाह र रहम अली शाहको उर्स धुमधामको साथ मनाउँदै आएको छ ।
चैत ८ गतेदेखि सुरु भएको उर्समा नेपालसहित छिमेकी मुलुक भारतका लाखौँ धार्मिक श्रद्धालु भक्तजन(जाइरिन)हरू सहभागी भएका छन् । त्यसैगरी, उर्सको अवसरमा रातिको समयमा जलसा(धार्मिक प्रवचन) हुँदै आएको छ भने भाकल गरेकाहरूले दैनिक रूपमा बाबाको मजारमा फतिहा, नियाज, तथा धार्मिक क्रियाकलाप गर्ने गरेका छन् ।
मधेस प्रदेशको राजधानी जनकपुरधामबाट करिब १२ किलोमिटर पश्चिममा अवस्थित रौजा मजार सरिफमा लागेको उर्से पाक औलया–ऐ केरामको दोस्रो दिन बुधबार प्रदेश मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दी, लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारी, प्रदेश सांसद जयनुल राइन, सुरिता साह, बलवा नगरपालिकाका मेयर विनोद यादवसहितका नेताहरू सहभागी भएका छन् ।
मुख्यमन्त्री राउत, नेता भण्डारीले बाबाहरूको मजारमा चादर चढएका थिए । बाबाहरूको मजारमा चादर चढाउँदै मुख्यमन्त्री राउतले रौजा माजार सरिफलाई धार्मिक स्थलको रूपमा विकास गर्नुपर्ने बताए । रौजा मजारलाई व्यवस्थित बनाएको खण्डमा मधेस प्रदेशको पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताउँदै मुख्यमन्त्री राउतले मजार सरिफमा खानेपानी, शौचालय तथा धर्मशलाको काम प्रदेश सरकारबाट भइरहेको बताए।
भण्डारीले भारतको अजमेर सरिफजस्तै महिमा बोकेको रौजा मजार सरिफलाई नेपालकै धार्मिक पर्यटकीय क्षेत्रमध्येकाे एक रहेको बताए ।
उर्सलाई भव्य बनाउन नेपाल तथा भारतका प्रसिद्ध धार्मिक गुरुहरूलाई प्रवचनका लागि बोलाइएको मजार विकास समितिका अध्यक्ष सलिम राइनले बताए । उर्समा सहभागी भएका श्रद्धालु भक्तजनहरूको खानेपानी, आवास तथा स्वास्थ्य उपचारको लागि विभिन्न शिविरहरू सञ्चालन गरिएको समितिका सहसचिव अली हुसेन नदाफले बताए ।
सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र करिब एक हजार स्वयंसेवक परिचालन गरिएको उनले बताए । १० चैतसम्म चल्ने उर्सको तेस्रो दिन बिहीबार दिउँसो २ बजे वरिष्ठ धार्मिक गुरुको हातबाट चारपोसीको कार्यक्रम रहेको सहसचिव नदाफले बताए ।