आफन्त र पितृहरूको सम्झनामा बनाइने चौतारोहरू लोप हुन थालेका छन् । संखुवासभाको खाँदबारी नगरपालिका–९ स्थित सभाखोलादेखि सदरमुकाम खाँदबारी आइपुग्ने १८ किमि सडकखण्डमा केही वर्षअघिसम्म एक दर्जनभन्दा बढी चौतारो भेटिन्थे । सडक सुविधा बढेसँगै चौतारो मासिन थालेका हुन् ।
.jpg'_'.2022-03-23.jpg)
संखुवासभाको खाँदबारीबाट चिचिला जाने अरुणथानमा रहेको चौतारो । मोटरबाटोका कारण चौतारो धरापमा रहेको छ । तस्बिर : नयाँ पत्रिका
सभाखोलाको कत्लेभञ्जाङमा वरपीपलको ठूलो घुमाउने चौतारो थियो । त्यसपछि मुग्लिन हुँदै ढुंगेधारामा खानेपानीको धारासहित ठूला चौतारा थिए । सिलिचोङ गाउँपालिकाको केन्द्र ताम्कु पुग्ने बाटामा रहेका चौतारोहरू पनि मासिइसकेका छन् । खाँदबारीबाट चिचिला गाउँपालिका हुँदै मकालु गाउँपालिकाको नुम बजार हुर्दै भोटखोला गाउँपालिकाको किमाथांका पुग्ने मुख्य बाटो र अन्य शाखा गोरेटा बाटाहरूमा दर्जनौँ चौतारो बेवारिसे बनेका छन् । चैनपुर नगरपालिकाको बजारनजिकै टुँडिखेलमा ठूला चौतारा छन् । तर, ती पनि पुनर्निर्माणको प्रतीक्षामा छन् ।
पूर्वी पहाडी जिल्ला संखुवासभाका ग्रामीण क्षेत्रमा भेटिने चौतारोहरू पछिल्लो समय लोप हुन थालेपछि आदिवासी जनजाति अगुवाहरूले चिन्ता व्यक्त गरेका छन् । संखुवासभा र भोजपुरमा यातायात सुविधा नपुग्दा सयौँ मानिस दैनिक खाद्यसामग्री बोक्ने भरिया र बटुवा कत्लेभञ्जाङको चौतारोमा बिसाउने र खाना पकाएर खाने गर्थे । धरानबाट फर्किंदा कत्लेभञ्जाङ आइपुगेपछि घर आए जस्तै लाग्ने हुँदा धित मरुन्जेल बिसाएर मात्रै घर फर्किने गरेको खाँदबारी–४ सेकाहाका ८३ वर्षीय बलबहादुर गुरुङले सम्झिए ।
‘त्यतिवेला आफ्नो आफन्तको नाउँमा चौतारो बनाउँथे, कसै–कसैले वरपीपलको पञ्चेबाजा बजाएर विवाह गरिदिन्थे । मेरो घरनजिकै सेकाहाको डाँडाबारीमा माइला बाजेबज्यै निःसन्तान थिए । उनीहरूले वरपीपलको विवाह गरिदिए र आफ्नो क्रियाकाजसमेत गरी सबै गाउँलेलाई भोज खुवाए । त्यतिवेला चौतारोहरू आफन्तको नाउँमा बनाउने र असाध्यै श्रद्धा गर्थे,’ गुरुङले भने, ‘अहिलेका पुस्ता चौतारोहरू भत्काएर मोटरबाटो र घरघडेरी बिक्री गर्न थालेका छन् । चौतारोप्रति मोह नै छैन ।’
आदिवासी जनजाति राई, किराँत, गुरुङ, मगर र लिम्बुलगायतका समुदायले पितृको सम्झनास्वरूप चौतारो बनाउने परम्परागत प्रचलन हराउँदै गएको छ । दोबाटो तथा उकालोओरालो बाटोमा कसैले ढुंगाको गारो लगाएर चौतारो बनाउँथे भने कसैले काठद्वारा निर्माण गरी शिलालेख र ढुंगामा नाम कुँद्ने चलन थियो । चौतारो बटुवा र भरियाहरूका लागि विश्राम गर्ने थलो हो । त्यति मात्रै पनि होइन, पहिले–पहिले पञ्चायत र गाउँभेलासमेत चौतारोमा नै हुन्थे । अहिले ती सबै लोप हुन थालेको जनजाति अगुवाहरू बताउँछन् ।