यमन संकटबारे पनि सोचौँ

यमनी जनताका लागि एक मात्र दिगो राहत भनेको वार्ताबाट गरिने राजनीतिक समाधान नै हो, जसले द्वन्द्वको अन्त्य गर्नेछ र यमनका जनताले चाहेको समाजको जग बस्नेछ

मंगलबार, ८ चैत, २०७८
डिजिटल संस्करण

युक्रेन युद्ध अहिले विश्वको शीर्ष एजेन्डा हो र हुनु पनि पर्छ । यो युद्ध राष्ट्र संघको बडापत्रविरुद्ध छ र युद्ध युक्रेनी जनताका लागि असाधारण ढंगले क्रूर छ । तर, हामीले संसारका अन्य भागलाई बिर्सिनुहुँदैन, जहाँ मानिसहरू अथक हिंसा एवं पीडाको सामना गरिरहेका छन् र अविलम्ब अन्तर्राष्ट्रिय समर्थन खोजिरहेका छन् । यमन पनि विश्वकै खराबमध्येकै एक मानवीय संकटग्रस्त मुलुक हो । यमनमा सात वर्षभन्दा बढी समयदेखि युद्ध जारी छ र यही जनवरीमा नागरिक हताहती सबैभन्दा माथिल्लो बिन्दुमा पुगेको थियो । 

यमनको अर्थतन्त्र भग्नावशेष बनेको छ र आधारभूत सेवा तहसनहस भइरहेका छन् । अहिलेको सन्दर्भमा अन्तर्राष्ट्रिय दातालाई दुई अर्ब ३० करोड अमेरिकी डलर रकम सहयोगका लागि धन्यवाद दिनुपर्छ, किनभने यसले तत्कालका लागि सबैभन्दा खराब अवस्थालाई टालिदिएको छ । भोकमरी एकपटकका लागि टाल्नु संकटको कारण निवारणका लागि पर्याप्त होइन । यमनको संकट मानव निर्मित हो र सबैभन्दा प्रभावकारी मानवीय उपाय भनेको लडाइँ रोक्नु नै हो । यमनी जनताका लागि एक मात्र दिगो राहत भनेको वार्ताबाट गरिने राजनीतिक समाधान नै हो, जसले द्वन्द्वको अन्त्य गर्नेछ र यमनका जनताले चाहेको समाजको जग बस्नेछ । हामी यस मामिलामा राष्ट्र संघका विशेष दूत हान्स ग्रान्डबर्गको प्रयासलाई पूर्ण समर्थन गर्छौं । यमनको संकट निवारणका लागि काम भइरहँदा थप मानवीय राहत, अर्थतन्त्रको पुनर्निर्माण र आधारभूत सेवामा ठूलो सहयोग संसारले गर्न सक्छ र गर्नैपर्छ ।

मार्चको मध्यमा राष्ट्र संघ, स्विट्जरल्यान्ड र स्विडेनले एक कार्यक्रम आयोजना गर्दै छन्, जहाँ विभिन्न मुलुकले यमनका जनतालाई आफ्नो समर्थनको वाचा गर्न सक्नेछन् । राष्ट्र संघ र गैर–सरकारी संस्थालाई सन् २०२२ मा एक करोड ७२ लाख मानिसका लागि चार अर्ब ३० लाख डलर मानवीय सहयोगको आवश्यकता छ । हाल उपलब्ध सहयोग कोषमा रकम घट्दै गएको अवस्थामा मानवतावादी एजेन्सीसँग सहायता कटौती गर्नुबाहेक अर्को विकल्प छैन । राष्ट्र संघका प्रमुख दुईतिहाइ सहायता कार्यक्रम पहिले नै कम वा बन्द भइसकेका छन् ।

आउँदा सातामा ८० लाख मानिसका लागि सञ्चित खाद्यान्न बन्द हुन सक्छ भने ५० लाख मानिसको खाद्यान्न सञ्चिति घट्न सक्छ । यी नतिजामा युक्रेन संकटले निम्त्याउने खाद्यान्न मूल्यवृद्धिले थप प्रभाव पार्नेछ । स्मरण रहोस्, यमन पश्चिम एसियाली जगत्मा खाद्यान्न आयातमा सबैभन्दा बढी निर्भर मुलुकमध्ये एक हो ।

यमनको संकटबाट महिला र बालिका सबैभन्दा बढी प्रभावित भएका छन् र मानवतावादी संगठन आफ्नो सहयोग घटाउन बाध्य हुँदा यही तप्का सबैभन्दा बढी प्रभावित हुनेछ । लैंगिक हिंसाविरुद्धको संरक्षण घट्नेछ र झन्डै १० लाख महिलाले प्रजनन स्वास्थ्य सेवामा पहुँच गुमाउनेछन् । यसअघि नै यमनमा गर्भावस्था र सुत्केरी हुँदाको जटिलताबाट प्रत्येक दुई घन्टामा एक महिलाको मृत्यु हुँदै आएको छ । सहयोग कार्यक्रम दिनानुदिन खस्किँदै गइरहेको छ, जबकि मानवतावादी सहयोगको आवश्यकता बढिरहेको छ । तर, यी कार्यक्रमलाई सहयोग गरेर उकास्न सकिन्छ ।   

गत वर्ष, लगभग दुई सय मानवतावादी संस्था, जसमा धेरैजसो यमनी गैरसरकारी संस्था छन्, उनीहरू प्रत्येक महिना खाना, सफा पानी, स्वास्थ्य सेवा, सुरक्षा, आश्रय र शिक्षासहित देशभरका एक करोड १० लाखभन्दा बढी मानिसमाझ पुगेका छन् । यी मानवीय कार्यक्रम यसकारण सम्भव भएका थिए, किनभने दाताले आफैँभित्र वित्तीय समस्या सामना गर्दा पनि उदारतापूर्वक कदम चालेका थिए । हामीले यी कार्यक्रम सक्रिय बनाउन थप पहलकदमी लिनुपर्छ । 

पक्कै पनि पैसाले सबै समस्याको हल गर्दैन । यमनमा सहायता पु¥याउनै निकै कठिन छ । प्रशासनिक एवं नोकरशाही अवरोध, आवतजावतमा रुकावट र सहायता वितरणमा हस्तक्षेपका कारण सहायताकर्मीलाई आममानिसमाझ सहयोग पु¥याउन अप्ठ्यारा रहेका छन् । तर, राष्ट्र संघ, दाता र अन्य सरोकारवालाले मिलेर काम गरेर महŒवपूर्ण प्रगति हासिल गरेका छन् । हामीले सहायता एजेन्सीका लागि उपयुक्त वातावरण निर्माण गर्न जोड दिनैपर्छ, ताकि राष्ट्र संघ र साझेदारले सहयोग जारी राख्न सकून् ।

सहायता कार्यक्रम जारी भए पनि यमनको बिग्रिँदै गएको अर्थतन्त्र र ध्वस्त आधारभूत सेवाले थप मानिसलाई दुःखमा धकेल्न जारी नै राखेको छ । आपत्कालीन राहतबाहेक आर्थिक संकटमा पनि विशेष ध्यान दिनु आवश्यक छ । यी प्रवृत्तिका प्रभावलाई कम गर्न अन्तर्राष्ट्रिय समुदायले तत्कालै अवलम्बन गर्न सक्ने उपाय छन् । यसमा आयात प्रतिबन्ध हटाउने र प्रारम्भिक पुनः प्राप्ति लगानी समावेश छन् । जनतालाई हाल गरिबीको गर्तमा फस्नबाट जोगाउन र भविष्यमा मुलुकको निजामती सेवालाई बचाउन सार्वजनिक क्षेत्रको पारिश्रमिक र प्रोत्साहनको नियमित भुक्तानी सुनिश्चित गर्नु पनि महŒवपूर्ण छ । यदि यसो गरिन्न भने कुनै किसिमको विकास वा पुनः प्राप्ति हुन गाहै्र देखिन्छ । 

यमनमा दिगो शान्तिका लागि मार्गप्रशस्त गर्न कूटनीतिक, मानवीय र विकास समर्थन आवश्यक छ । विश्वका अन्य संकटले तीव्र गति लिँदै गर्दा र अन्तर्राष्ट्रिय एजेन्डामा पनि बढोत्तरी हुँदै गर्दा हामीले यमनका जनतालाई दिने सन्देश यो हो– हामी तपाईंहरूका साथमा उभिने क्रमलाई निरन्तर जारी राख्नेछौँ । अल जजिराबाट

सुझावित समाचार