नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी केन्द्रीय समिति बैठकमा महासचिव नेत्रविक्रम चन्द विप्लवको राजनीतिक प्रस्तावमाथि धारणा राख्ने क्रम जारी छ। शुक्रबारदेखि कपिलवस्तुमा सुरु भएको बैठकमा हालसम्म ३४ जनाले बोलेका छन्।
विप्लवले निर्वाचनमा सहभागी हुनुपर्ने राजनीतिक प्रस्ताव बैठकमा राखेका थिए। जसमा सचिवालयका हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोला प्रस्तावको विपक्षमा छन् भने खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढा निर्वाचनमा सहभागी हुनुपर्ने पक्षमा छन्।
सोमबारसम्म धारणा राखेका ३४ जनामध्ये २० जना महासचिवको प्रस्तावको विपक्षमा र १४ जना प्रस्तावको पक्षमा बोलेको एक केन्द्रीय सदस्यले बताए।
निर्वाचनमा सहभागी हुनुपर्ने विप्लवको प्रस्तावको पक्षमा अनील शर्मा, उमा भुजेल, भरत बम, चिरन पुन, असल क्षेत्री, माइला लामा, ओमप्रकाश पुन, सन्तोष बुढा, खड्गबहादुर विश्वकर्मालगायतका नेताहरू बोलेका छन्।
यस्तै दीपक चलाउने, चूड़ामणि ओली, कृष्ण वाग्ले, वसन्त श्रेष्ठ, मोहनलाल चन्द, दीपेश राई, भेषराज भुसाल, बाला थापा, धर्मेन्द्र बाँस्तोला, हेमन्तप्रकाश वली सुदर्शन, सन्देश पौडेललगायतका नेताहरूले निर्वाचनमा सहभागी हुन नहुने मत राखेका छन्।