आगामी निर्वाचनमा कांग्रेसलाई १३ सिटमा झारिदिने अध्यक्ष ओलीको चेतावनी

शनिबार, ५ चैत, २०७८
डिजिटल संस्करण

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा झारिदिने चेतावनी दिएका छन्। पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले देशलाई बर्बाद पार्ने गठबन्धन सरकारको नेतृत्व कांग्रेसले गरेको भन्दै आगामी निर्वाचनमा कांग्रेसलाई १३ सिटमा सीमित हुने गरी अभियानमा लाग्न नेता, कार्यकर्तालाई निर्देशन दिए।

‘एमालेलाई चौथो पार्टी बनाउँछु भन्छ कोही। अहिले चौथो पार्टी हो एमाले संसद्मा ? संसद्मामा एमालेसँग ९८ सिट छ। अरूको धेरै भएकाको पनि ६१ सिट छ। कोही हामीले बनाइदिएको ४८ सिट लिएर हामीले टाँसिदिएको जुँगामा ताउ लाउँछ। त्यसकारण म साथीहरूलाई भन्न चाहन्छु, यो गठबन्धन केही होइन। बुढो कांग्रेस पाँच वर्षअघि २३ सिटमा झरेको होइन ? कांग्रेसलाई १३ सिटमा झारिदिनुपर्छ अहिले, लाग्नुस् तपाईंहरू,’ ओलीले भने।

६० वर्ष नाघेका कुनै पनि ज्येष्ठ नागरिकहरूले कांग्रेसलाई भोट नहाल्ने दाबी गर्दै उनले माओवादी केन्द्रलगायतका दलहरूले चेताइसकेकाले युवाहरूले पनि ती पार्टीहरूलाई मत नदिने तर्क गरे। अध्यक्ष ओलीले माओवादी केन्द्रलाई गत संसदीय निर्वाचनमा आफूहरूले जोगाइदिएको भन्दै माधव नेपालहरू अवको निर्वाचनपछि समाप्त हुने दाबी गरे।

सुझावित समाचार