अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र विश्वसनीयतामा वृद्धि भएको छ : प्रधानमन्त्री

शुक्रबार, ४ चैत, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार सत्तामा आएपछि अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र विश्वसनीयतामा उल्लेख्य वृद्धि भएको बताएका छन् । 

  नेपाल विश्व सम्बन्ध परिषद्को ७४औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित समारोहमा उनले  नेपाल र नेपाली जनताको हित प्रवर्धनमा केन्द्रित भएर अन्तर्राष्ट्रिय समुदायमा देशको छवि उकास्ने, सबै देशबाट अधिकतम सद्भाव, समर्थन र सहयोग प्राप्त गर्न सक्रियताका साथ अनुकूल अन्तर्राष्ट्रिय वातावरण सिर्जना गर्ने लक्ष्य राखेको धारणा व्यक्त गरे । 

    प्रधानमन्त्री देउवाले कोभिड–१९ ले निम्त्याएको सीमितताका बाबजुद सरकारले अन्तर्राष्ट्रिय संलग्नतालाई तीव्रता दिइरहेको उल्लेख गर्दै त्यस्ता फोरमहरूमा नेपालको सक्रिय र अर्थपूर्ण सहभागिताले हाम्रो अन्तर्राष्ट्रिय दृश्यता बढाउन मद्दत गरेको धारणा व्यक्त गरे । यसबाट जलवायु परिवर्तन, खाद्य सुरक्षा, भ्याक्सिन समानता, लोकतन्त्र र सुशासन जस्ता विश्वव्यापी महत्वका मुद्दाहरूमा हाम्रा सिद्धान्तहरू, प्राथमिकताहरू र चासोहरूलाई आवाज उठाउने अवसर प्रदान गरेको उनको भनाइ थियो ।

    सरकारले घोषणा गरेको साझा न्यूनतम कार्यक्रमले कार्यान्वयन गर्नुपर्ने प्रमुख प्राथमिकताहरू उल्लेख गरेको जानकारी गराउँदै उनले भने, ‘राष्ट्रिय र जनताको हितको संरक्षण तथा  प्रवर्धन सरकारको प्रमुख प्राथमिकतामा रहेको छ । साथै उच्च र समतामूलक आर्थिक विकास, सामाजिक–आर्थिक रूपान्तरणको आधारशीला निर्माण, संघीयताको कार्यान्वयन र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नेलगायतका विषय पनि हाम्रा प्राथमिकतामा रहेका छन् ।’
    
उनले  पञ्चशीलका सिद्धान्त, असंलग्नता, संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मापदण्डहरूले अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो परराष्ट्र नीतिले मार्गदर्शन गरिरहने बताए । 

सुझावित समाचार