नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैशाख ३० मा हुने निर्वाचनमा कुनै पार्टीसँग एकता नहुने बताएका छन्। अघिल्लो निर्वाचनमा एमालेको बैसाखी टेकेर चुनाव जितेका दल र व्यक्तिहरूले जनताले दिएको जनादेशलाई धोका दिएको महासचिव पोखरेलले बताए।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बाहिर राखेर चुनाव लड्ने चाहना रहेको उनले बताए।
प्रेस चौतारी धादिङले धादिङबेँसीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सम्बोधन गर्दै महासचिव पोखरेलले भने, ‘पहिला एउटै चुनावी घोषणापत्रमा चुनाव लडेका थियौँ, धोका दिएर कांग्रेसका पक्षमा जानेलाई फेरि जिताइदिनुपर्ने जिम्मेवारी बोकेका छैनौँ,’ पोखरेलले भने, ‘एकपटक कम्तीमा प्रचण्ड र माधव नेपाललाई बाहिर राखेर चुनाव लड्न चाहन्छौँ। औकाल छ जनताको बीचमा जाने, चुनाव जित्ने। तर अब नेकपा एमालेको बैसाखी टेकेर चुनाव जित्छु भन्ने सपना नदेख्दा हुन्छ।’
जनताले वामपन्थीलाई दिएको जनमत कांग्रेसको पोल्टामा लगेर बुझाउनेलाई त्यो अपराधको दण्डित गर्नुपर्ने उनले बताए। त्यसैले उनीहरूलाई साथमा लिने कुरै हुँदैन। ‘प्रचण्ड र माधव नेपाल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सहयोगी मात्रै बनेका छन्। समाजवादको बाटोतर्फ देशलाई डोर्याउन चाहनेहरू एमालेमा र पुँजीवादतर्फ हिँड्न चाहनेहरू देउवातिर देखिएको छ,’ उनले भने।
नेकपा एमालेले गठबन्धन गरेर होइन एकल रूपमा बहुमत ल्याउने गरी तीनै तहको चुनावमा जाने उनले बताए। प्रचण्ड र माधव नेपाल निर्वाचन सार्ने षड्यन्त्रमा रहेको पनि पोखरेलले आरोप लगाए।
‘माओवादी केन्द्र र माधव नेपाल पक्ष चुनावका लागि तयार छैनन्, उनीहरू निर्वाचन सार्ने अनेकन प्रकारका हतकण्डा प्रयोग गर्न खाेजिरहेका छन्। तर चुनाव सार्न सक्ने कुनै पनि कानुनी र संवैधानिक आधार छैन,’ उनले भने। लोकतन्त्रमा आवधिक निर्वाचन अनिवार्य रहेको उनले बताए।