नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ अनमोल जीवन’ नामक जीवन बिमा योजना सार्वजनिक गरेको छ । कम्पनीले समयसापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरूको सुझाबलाई मध्यनजर गर्दै नयाँ जीवन बिमा योजना ल्याउने क्रममा ‘नेपाल लाइफ अनमोल जीवन’ योजना ल्याएको हो ।
यो योजना मुनाफामा सरिक हुने सावधिक तथा आजीवन जीवन बिमा रहेको कम्पनीले जनाएको छ । मानिसको जीवन अनमोल रहेको र जीवनभर कुनै न कुनै जोखिम हुने हुनाले आइपर्ने क्षतिलाई बिमाको माध्यमबाट न्यूनीकरण गर्न कम्पनीले यो योजना ल्याएको जनाएको छ । बिमा अवधि समाप्तिपश्चात् पनि जोखिम वहन गर्नुका साथै कम्पनीले वहन गर्ने जोखिमअन्तर्गत बिमितले चाहेको समयमा उक्त जोखिम वहनबापतको समर्पण मूल्य भुक्तानी लिन सक्ने कम्पनीको भनाइ छ ।
विशेषता
यो योजना १८ वर्षदेखि ६५ वर्षसम्म उमेर समूहका व्यक्तिले न्यूनतम पाँच वर्षदेखि अधिकतम ५० वर्र्ष अवधिको लिन सक्ने जनाइएको छ । बिमा समाप्तिमा अधिकतम उमेर ७० वर्ष रहेको छ भने न्यूनतम २५ हजार रुपैयाँदेखि आयस्रोतका आधारमा जति पनि बिमांक रकमको बिमा गर्न सकिने जनाइएको छ । बिमा शुल्क भुक्तानी तरिकाअनुसार छुट वा थप शुल्क लाग्ने कम्पनीले जनाएको छ । यदि बिमालेख जारी गर्ने समयमा वार्षिक बिमा शुल्क भुक्तानी गर्ने तरिका छनोट गरेमा १ प्रतिशत छुट हुने तथा अर्धवार्षिक भुक्तानी गरेमा छुट नपाउने कम्पनीले जनाएको छ । त्यस्तै, त्रैमासिक भुक्तानी गर्दा ३ प्रतिशत र मासिक भुक्तानी गर्दा ६ प्रतिशत थप शुल्क लाग्ने जनाइएको छ ।
बिमा प्रारम्भ भएको मितिबाट तीन वर्ष पूरा भएपछि समर्पण मूल्य प्राप्त गर्न सकिने जनाइएको छ । त्यस्तै, समर्पण मूल्य प्राप्त भएको बिमालेखमा समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । बिमालेखको बिमा अवधि समाप्तिपश्चात् पनि जोखिम वहन गरिरहने, तर बिमितले चाहेमा, पूर्ण अवधि भुक्तानी भएको पाँच वर्ष पूरा भइसकेपछि जुनसुकै समयमा समर्पण गर्न सकिने उल्लेख छ ।
यसका साथै यो योजनामा १८ वर्षदेखिका बिमितले अतिरिक्त बिमाशुल्क तिरेर बिमांक रकमबराबर वा अधिकतम एक करोड रुपैयाँसम्मको दुर्घटना मृत्यु लाभ सुविधा लिन सकिने जनाइएको छ । त्यस्तै, अतिरिक्त बिमाशुल्क तिरेर बिमांक रकमबराबर वा अधिकतम एक करोड रुपैयाँसम्मको बिमाशुल्क छुट तथा पूर्ण अशक्तता लाभ सुविधा लिन सक्ने कम्पनीले जनाएको छ । त्यस्तै, अतिरिक्त शुल्क तिरेर बिमांक रकमबराबर वा अधिकतम ५० लाख रुपैयाँसम्मको घातक रोग सुविधा लिन सक्ने जनाइएको छ ।
बिमालेख चालू रही बिमा अवधि समाप्ति मितिसम्म बिमित जीवित रहेमा बिमा अवधि समाप्तिको अन्त्यमा बिमांक रकम र आर्जित बोनस एकमुष्ट भुक्तानी दिइने कम्पनीले जनाएको छ । त्यस्तै, सबै किस्ता बिमाशुल्क भुक्तानी गरेको बिमालेखमा बिमा अवधि समाप्तिपश्चात् बिमित जीवित रहिरहेमा बिमितले छनोट गरेबमोजिमको बिमांक रकम पुनः प्रदान गरिने उल्लेख छ ।
जसअनुसार ७५ प्रतिशत पुगेपछि बिमांक रकमको ६० प्रतिशत, ८० वर्ष पुगेपछि बिमांक रकमको ८० प्रतिशत र ८५ वर्ष पुगेपछि बिमांक रकमको शतप्रतिशत भुक्तानी दिई बिमालेख अन्त्य गरिने कम्पनीले जनाएको छ । बिमाशुल्क भुक्तानी अवधि समाप्तिपश्चात् बिमितले आफूले उल्लेख गरेको आंशिक अवधि भुक्तानी उपभोग गर्नुअगावै बिमितको मृत्यु भएमा पुनः पूरा बिमांक रकम प्रदान गरिने कम्पनीले जनाएको छ ।