चुनावको मुखमा दुवै प्रहरीको नेतृत्व फेरिँदै

बुधबार, २ चैत, २०७८
डिजिटल संस्करण

चुनावको मुखैमा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैको नेतृत्व फेरिँदा सुरक्षा प्रभावित हुने सम्भावना

स्थानीय निर्वाचनअघि दुवै प्रहरीको नेतृत्व परिवर्तन हुँदै छ । चुनावको मुखैमा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैको नेतृत्व फेरिँदा सुरक्षा प्रभावित हुने सम्भावना छ । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले चुनावको १२ दिनअघि अवकाश पाउँदै छन् । ३० वर्षे सेवाहदका कारण उनले १८ वैशाखमा अनिवार्य अवकाश पाउन लागेका हुन् । जसकारण चुनावको वेला नयाँ आइजिपीले सुरक्षा कमान्ड सम्हाल्नुपर्नेछ । 

सामान्यतः सुरक्षा निकायमा प्रमुखले एक महिनाअघि बिदा बसेर भावी प्रमुखलाई कायममुकायम दिएर नेतृत्वमा परिपक्व बनाउने प्रचलन हुन्छ । तर, प्रहरीको महानिरीक्षक बढुवामा हुने अत्यधिक चलखेलले सरकारले अघिल्लो दिन मात्र बढुवा गर्दै आएको छ । जसले बढुवामा अस्वस्थ प्रतिस्पर्धालाई प्रश्रय दिन्छ । चुनावको मुखमा यसरी उच्च प्रहरी अधिकारीहरू बढुवाको दौडधुपमा लाग्दा त्यसको नकारात्मक असर सुरक्षामा देखिन सक्ने पूर्वप्रहरी अधिकारी बताउँछन् । 

सशस्त्र प्रहरी बलमा त यसबीचमा दुई आइजिपी फेरिनेछन् । हालका आइजिपीका शैलेन्द्र खनालले २८ चैतमा अवकाश पाउँदै छन् । आइजिपीको चारवर्षे पदावधि पूरा गरी उनले अवकाश पाउन लागेका हुन् । खनालको अवकाशपछि उनकै ब्याचका एआइजीले २१ दिनका लागि संगठनको नेतृत्व सम्हाल्ने अवसर पाउनेछन् । जसको प्रतिस्पर्धामा एआइजीद्वय पुष्पराम केसी र रामशरण पौडेल छन् । उनीहरूले ३० वर्षे सेवाहदका कारण १८ वैशाखमा अवकाश पाएपछि अहिलेको डिआइजीमध्येबाट एक आइजिपी हुनेछन् । जसमा राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम दाबेदार छन् । २८ वैशाखपछि रिक्त हुने एआइजी पदमा बढुवा गरी लगत्तै एकलाई आइजिपी बनाउनुपर्ने हुन्छ । सशस्त्र प्रहरीको इतिहासमा अहिलेसम्म १ नम्बरमा रहेका एआइजी नै महानिरीक्षक हुँदै आएका छन् । 

थपिएको दरबन्दीमा तीन एआइजीको बढुवा 
नेपाल प्रहरीमा गत महिना थपिएको एआइजीको तीन पदमा बढुवा सिफारिस भएको छ । डिआइजीहरू वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकको नाम बढुवा समितिले सिफारिस गरेको हो । 

गृहसचिव टेकनारायण पाण्डेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले उनीहरूको नाम सिफारिस गरेको हो । थपिएको तीन पदमा १८ जना डिआइजीबीच प्रतिस्पर्धा थियो ।बढुवा सिफारिस भएकामध्ये पन्तले आगामी १८ वैशाखमा अवकाश पाउँदै छन् । एआइजीमा बढुवा भएसँगै सिंह र धानुक भने प्रहरीको भावी नेतृत्वको प्रतिस्पर्धामा उत्रिएका छन् । यसअघि उनीहरूकै ब्याचबाट विश्वराज पोखरेल र सहकुलबहादुर थापा एआइजी भइसकेका छन् । उनीहरूलाई पनि दरबन्दी थपेर नै यसअघि बढुवा गरिएको थियो । एआइजी बढुवामा फेरि पनि सिनियर डिआइजीहरू छुटेका छन् । हालका डिआइजीमध्ये घनश्याम अर्याल र प्रकाशजंग कार्की सबैभन्दा सिनियर थिए । दुवैजना बढुवामा छुटेका छन् । 

एक लाख म्यादीमा भर्ना खुल्यो 

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि एक लाख म्यादीमा भर्ना खुलेको छ । नेपाल प्रहरीले ११ चैतभित्र दरखास्त दिन आह्वान गरेको हो । साधारण लेखपढ गर्न सक्ने १८ वर्षदेखि ५४ वर्षका व्यक्तिले दरखास्त दिन सक्ने प्रहरीले जनाएको छ । तोकिएको ४० दिनमा म्यादीले ३० हजार दुई सय ४० रुपैयाँ तलब, सात हजार दुई सय रासन खर्च र ६ हजार पोसाकबापत खर्च पाउँछन् । हजार रुपैयाँ यातायात खर्च पनि दिइने नेपाल प्रहरीको सूचनामा उल्लेख छ । 

सुरक्षा निकायको भर्नामा दरखास्त दिई शारीरिक तन्दुरुस्ती तथा स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका तथा अवकाशप्राप्त सुरक्षाकर्मीलाई म्यादीका लागि प्राथमिकतामा राखिएको छ । त्यस्तै, विदेशी सुरक्षा निकायमा काम गरी अवकाश पाएका तथा अघिल्लो निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्तिलाई पनि प्राथमिकतामा राखिएको हो । कुनै राजनीतिक दलको सदस्यता लिएका तथा फौजदारी अपराधमा दोषी ठहर भएका अयोग्य हुने प्रहरीले जनाएको छ । २२ चैतसम्म नतिजा प्रकाशन तथा २८ चैतदेखि तालिम सुरु गरेर वैशाखको पहिलो सातादेखि ड्युटीमा खटाइने प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए । एकै चरणमा निर्वाचन हुँदा एक लाख १८ हजार म्यादी चाहिने विश्लेषण भए पनि अर्थले एक लाखका लागि मात्र बजेट दिएपछि प्रहरीले त्यसैअनुसार दरखास्त मागेको हो । 

See More On

सुझावित समाचार