माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनविनै जित्ने मानसिकता लिएर चुनावी तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय राजनीतिक, वैचारिक प्रशिक्षणमा उनले पार्टीलाई जिताउन अबका दुई महिना नथाकेर काम गर्ने संकल्पसहित फिल्डमा खटिन आग्रह गरे ।
प्रचण्डले माओवादी आफ्नै बलबुतामा चुनाव जित्न सक्षम रहेकोसमेत दाबी गरे । ‘गठबन्धनलाई दिमागबाट हटाएर आफ्ना कार्यक्रमसहित जनतामा जाऔँ । जनताका बीचमा गएर आत्मसमीक्षा गरौँ । नेतृत्व पनि अहिले त्यही खटाइमा छ,’ उनले भने, ‘पार्टीले जिते तपाईं–हामी सबैले जित्ने हो, हारे सबै हार्ने हो ।’ ‘गठबन्धन छ जितिहालिन्छ’ भन्ने सोचाइ त्यागेर निर्वाचनमा खटिन उनले कार्यकर्तालाई आग्रह गरे । ‘सहायक रूपमा गठबन्धनलाई पनि सोच्ने हो, तर अहिले दिमागमा गठबन्धन नराख्नोस्,’ प्रचण्डले भने, ‘गठबन्धन हुँदैन, हामी आफैँ एक्लै चुनाव जित्ने मानसिकता नबनाउने हो भने जितिँदैन । हामी एक्लै चुनाव जित्न सक्षम छौँ ।’ उनले सबै ठाउँमा गठबन्धन नहुन सक्ने बताए । गठबन्धन गरेर मात्र जितिने ठाउँमा मात्रै तालमेल हुने उनको भनाइ थियो । त्यस्तो ठाउँमा वर्तमान गठबन्धनलाई प्राथमिकता दिने, तर गठबन्धन दल तयार नभए एमालेलगायत दलहरूसँग पनि मिल्नुपर्ने अवस्था हुन सक्ने प्रचण्डले बताए ।
‘आफ्नै बलबुतामा चुनाव जित्न चाहन्छौँ, तर गठबन्धन गरेर मात्र जितिने ठाउँमा हाम्रो जोड अहिलेकै गठबन्धनमा तालमेल होस् भन्ने नै हुन्छ,’ प्रचण्डले भने, ‘त्यो हुन नसकेको अवस्थामा हामी जता मिल्दा फाइदा हुन्छ, त्यतै गठबन्धन गर्नुपर्ने हुन सक्छ ।’ माओवादी कमजोर भए मुलुकमा प्राप्त उपलब्धि गुम्ने भएकाले माओवादीका लागि यो सामान्य निर्वाचन नभएको उनले बताए ।