सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–४ टेंग्रीमा आगलागी हुँदा २७ वटा घर जलेर नष्ट भएका छन् । शनिबार राति स्थानीय डम्बर यादवको घरबाट सल्केको आगोले १० परिवारको घर पूर्ण रूपमा जलेर नष्ट भएको हो ।
स्थानीय डम्बर यादवको चार, दिनेश यादवको तीनवटा घर र एउटा गोठ, फुलदेव यादवको दुईवटा घर र एउटा गोठ, भोला यादवको तीन घर र एउटा गोठ, मनोज यादवको दुईवटा घर र एउटा गोठ, श्याम यादवको एउटा घर जलेर नष्ट भएको छ । महेश यादव, वृजनारायण यादव र सत्यनारायण यादवको एक–एक घर र एक–एक गोठ जलेर क्षति भएको वडा नम्वर ४ का अध्यक्ष तेजनारायण यादवले जानकारी दिए ।
करिब चार घन्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । हनुमाननगर कंकालिनी, कञ्चनरूप र शम्भुनाथ नगरपालिकाबाट पुगेका वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
घर र गोठसहित नगद, गरगहना लत्ताकपडा, फर्निचर, अन्नपात, विद्युतीय सामग्री जलेर करिब दुई करोड रुपैयाँबराबरको क्षति भएको यादवले बताए । उनका अनुसार छोरीको विवाहका लागि डम्बर यादवले घरमा राखेको दुई लाख ५० हजार रुपैयाँ नगद, एक तोला सुन, १० तोला चाँदीसमेत जलेको छ ।