नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस गठबन्धनका दलहरूलाई आरोपित गरेर एक–आपसमा असर गर्ने गरी अगाडि नबढ्ने बताएका छन् । कांग्रेसको स्थानीय चुनावलक्षित एकमहिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु भएको जानकारी गराउँदै उनले यस्तो बताएका हुन् । पार्टी केन्द्रबाट प्रत्येक जिल्ला तथा पालिकामा खटिने केन्द्रीय प्रतिनिधिहरूले गठबन्धनका दललाई असर पर्ने गरी र एक आपसमा आरोपित गर्ने ढंगले अगाडि नबढ्ने उनको भनाइ छ ।
‘हाम्रा ७७ जना नै केन्द्रीय प्रतिनिधिहरूले वा तलसम्मको साथीहरूले यो अभियानको अवधिभरमा हामी एक्लै लड्छौँ, हामी गठबन्धन गरेर लड्छौँ, वा हामी कसरी लड्छौँ भन्ने कुरा भन्नुहुन्न । यसबारेमा विभिन्न मोडलहरू छन्,’ शर्माले भने, ‘अहिले साथीहरूले गठबन्धनका कुनै पनि दललाई एक–आपसमा आरोपित गर्ने ढंगले जानुहुन्न ।’ उनले यस अभियानले पार्टी पंक्तिलाई मर्यादित भएर चुनाव लड्न आग्रह गर्नुका साथै अन्य दललाई पनि मर्यादित हुन आग्रह गर्ने बताए ।
महामन्त्री शर्माले केन्द्रबाट खटिएका प्रतिनिधिहरू काठमाडौं आइसकेपछि केन्द्रीय कार्यसमितिको बैठक बस्ने र सोही प्रतिनिधिहरूको अध्ययनको आधारमा पार्टीले निर्वाचनमा कसरी जाने भन्ने टुंगो लगाउने पनि बताए । उनले भने, ‘सम्भवतः बढी सम्भावना के हो भने हामी केन्द्रले यसो गर भनेर थोपर्नेभन्दा पनि टिकट वितरण गर्ने तह र चुनावअघि बढाउने तहले नै यसबारे निर्णय गर्ने गरेर जान्छौँ । कांग्रेस गठबन्धनको दललाई आरोपित गर्ने गरी एक–आपसमा असर गर्ने गरी जाँदैन ।’
महामन्त्री शर्माले जनताले कम्युनिस्ट पार्टीलाई सत्ता सुम्पिने र कम्युनिष्टहरूले कांग्रेसलाई सत्ता सुम्पिने गरेको उल्लेख गर्दै सीधै जनताले नेपाली कांग्रेसलाई निर्वाचनबाट जिताउन आग्रहसमेत गरे । आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै आजबाट चैत २९ गतेसम्म कांग्रेसको सो अभियान चल्नेछ ।