कुशल भुर्तेल यस सिजन उत्कृष्ट फर्ममा छन् । आइसिसी टी–२० विश्वकप ग्लोबल छनोटमा एक शतकीय इनिङ्सका साथ कुशल नेपालबाट सर्वाधिक रन बटुल्ने खेलाडी बनेका थिए । उनले आफ्नो यस फर्मलाई विश्वकप क्रिकेट लिग २ का लागि श्रीलंकामा भएको चारवटा अभ्यास खेलमा समेत जारी राखेका थिए । अब कुशलको लक्ष्य विश्वकप लिग २ मा पनि उत्कृष्ट ब्याटिङ गर्नु हो । कुशलका समर्थक उनलाई १८औँ पल्सर स्पोर्टस् अवार्डअन्तर्गतको पिपल्स च्वाइस विधामा भोट हाल्न लागिपरेका छन् ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डका लागि पिपल्स च्वाइस अवार्डमा कुशल पाँचमध्येका एक मनोनयनमा परेका खेलाडी हुन् । कुशल राष्ट्रिय टोलीमा परेको लगभग एक वर्ष मात्र भएको छ । निकै छोटो अवधिमा कुशलले लोकप्रिय खेलाडीको स्थान बनाए । सन् २०१९ को नोभेम्बरमा भारत इमर्जिङ टोलीविरुद्ध लिस्ट एमा डेब्यु गरेका कुशल काठमाडौंमा भएको १३औँ दक्षिण एसियाली खेलकुद नेपाली राष्ट्रिय टोलीमा परेका थिए ।
यद्यपि, सागमा उनले खेल्ने अवसर नै पाएनन् । गत वैशाखमा काठमाडौंमा भएको त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलामा कुशलले नेपालको ओपनिङ ब्याटिङ मजबुत बनाए । नेदरल्यान्ड्स र मलेसिया सम्मिलित सो सिरिजमा आधिकारिक रूपमा नेपाली टोलीबाट डेब्यु गरेका कुशल लगातारजसो खेलमा अर्धशतकीय इनिङ खेल्दै रेकर्ड नै स्थापित गरे । अहिले आइसिसी टी–२० को ब्याटिङ वरीयतामा उनी २९औँ स्थानमा छन् । आइसिसीको वरीयतामा नेपाली खेलाडीले प्राप्त गरेको सबैभन्दा ठूलो सफलता नै कुशलकै हो ।
नेदरल्यान्ड्सविरुद्ध उनले टी–२० अन्तर्राष्ट्रिय खेलमा डेब्यु गर्दै ६३ रन बनाएका थिए । उनले मलेसियाविरुद्ध अविजित ६२ र नेदरल्यान्ड्सविरुद्ध ६२ रन बनाएका थिए । आफ्नो पहिलो टी–२० अन्तर्राष्ट्रिय डेब्युमै तीन अर्धशतकीय खेल्ने कुशल पहिलो र एक मात्र खेलाडी हुन् । त्रिकोणात्मक शृंखलाको पाँच खेलमा चारमा अर्धशतक बनाउँदै उनी प्लेयर अफ द सिरिजमा चुनिएका थिए । त्रिकोणात्मक टी–२० शृंखलाको प्रदर्शनका आधारमा उनलाई आइसिसीले गर्ने महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा पर्ने कुशल पहिलो नेपाली खेलाडी हुन् । यसै सफलताका कारण उनी चर्चित खेलाडीको मनोनयनमा परेका हुन् ।